देउवालाई पुग्ने भयो प्रस्ट बहुमत

देउवालाई पुग्ने भयो प्रस्ट बहुमत

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर खेमाले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाउने पक्का भएको छ । 

मतदानको अन्तिम समयमा आएर महन्थ खेमाले देउवालाई विश्वासको मत दिने भएको हो । अब एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबिना नै देउवाले विश्वासको मत प्राप्त गर्ने हुनुभएको छ । 

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री बनेका देउवाले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार आजै केहीबेरमा विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले विश्वासको मत पाउन प्रस्तावका पक्षमा १३६ मत आवश्यक पर्छ । 

त्यसका लागि कांग्रेसका ६३ मध्ये ६१ जना सांसदले मत दिन पाउँछन् । कांग्रेसका २ जना सांसद विजयकुमार गच्छदार र मोहम्मद अफ्ताब आलम निलम्बित अवस्थामा भएकाले मत दिन पाउनेछैनन् तर कायम सांसद संख्यामा भने उनीहरूको गणना हुनेछ ।

त्यसैगरी, नेकपा माओवादी केन्द्रका ५३ सांसदमध्ये चार जना बर्खास्त भएका छन् । नेकपा (एमाले)मै रहेकाले माओवादी केन्द्रका ४ जना सांसद टोपबहादुर रायमाझी, प्रभु साह, लेखराज भट्ट र गौरीशंकर चौधरीलाई माओवादीले बर्खास्त गरेको थियो ।

स्वतन्त्र रूपमा जितेका १ जना सांसद छक्कबहादुर लामा पनि अहिले माओवादी केन्द्रमै रहेकाले माओवादीका ४९ जना सांसदले मत दिन पाउनेछन् ।

जनता समाजवादी पार्टीमा जम्मा ३२ जना सांसद छन् । ३४ जनामध्ये २ जना रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित भएकाले मतदान गर्न पाउनेछैनन् । जसपाका ३२ जनाले नै देउवालाई विश्वासको मत दिने भएका छन् ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमामा रहेका २३ जना सांसदमध्ये अधिकांशले संसद् जोगाउन देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । त्यसमध्ये केहीबाहेकले देउवालाई विश्वासको मत दिने बताएका छन् ।  

प्रतिनिधिसभामा एमालेका तर्फबाट १२१ जना सांसद छन् । ओली खेमाबाहेक अरू सबै एक ठाउँमा उभिएका छन् ।

संसदमा तत्काल कायम संख्या २७१ जनाको बहुमत अर्थात् १३६ मत देउवाले ल्याउनैपर्ने हुन्छ। त्यसका लागि अहिलेसम्म कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपाका २०, राष्ट्रिय जनमोर्चाका १ जना सांसद रहेका छन् ।