'माओवादी आन्दोलनलाई कमजोर नआँकियोस्': प्रचण्ड

'माओवादी आन्दोलनलाई कमजोर नआँकियोस्': प्रचण्ड

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले माओवादी आन्दोलनलाई कमजोर नआँक्न चेतावनी दिनुभएको छ ।

उहाँले माओवादी आन्दोलन विभाजित भएकाले यसलाई हेप्न खोजे त्यो गल्ती हुने धारणा राख्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मतको प्रस्तावमाथि आज संसदमा भएको छलफलमा भाग लिँदै प्रचण्डले आफूहरूलाई आगोसँग तुलना गर्दै आगोसँग खेल्ने कुरा राम्रो नभएको र राम्रोसँग यो आगोलाई ऊर्जामा रूपान्तरणतिर ल्याएको पनि बताउनुभयो । आफूलाई हेप्न थालेमा आगो फेरि सल्किन सक्ने चेतावनी पनि प्रचण्डले दिनुभयो ।

उहाँले निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै व्यक्तिगत अहंकार र दम्भले इतिहास निर्माण नहुने सुझाव दिनुभयो । बनेको इतिहासलाई व्यक्तिगत दम्भले निमिट्यान्न पार्छु भन्ने ठान्नु ठूलो गल्ती हुने र यसको फल भोग्नुपर्ने प्रचण्डको भनाइ थियो ।