देउवाले पाए विश्वासको मत: पक्षमा १६५ विपक्षमा ८३

देउवाले पाए विश्वासको मत: पक्षमा १६५ विपक्षमा ८३

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ३, २०७८

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । आज सुरु भएको प्रतिनिधिसभा बैठकमा भएको मतदानमा देउवाको पक्षमा १६५ मत खसेको थियो । जम्मा उपस्थित २४९ सांसदमध्ये उहाँको विपक्षमा ८३ मत खसेको छ । मत दिन्नँ भन्नेमा १ मत परेको छ ।

पछिल्लो पटक दोस्रोचोटि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले पुनर्स्थापना गरिदिएपछि देउवा प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

संवैधानिक व्यवस्थाअनुसार प्रधानमन्त्री नियुक्त भएको १ महिनाभित्र विश्वासको मत लिनुपर्छ । गत २९ असारका प्रधानमन्त्री नियुक्त देउवाले आजै विश्वासको मत लिनुभएको हो ।

देउवालाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल खेमाका केही सांसदको समर्थन थियो ।