'सेफ्टी राइडिङ इनिसिएटिभ'को शुभारम्भ: मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी तीन महिने अभियान सञ्चालनमा

'सेफ्टी राइडिङ इनिसिएटिभ'को शुभारम्भ: मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी तीन महिने अभियान सञ्चालनमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ४, २०७८

काठमाडौँ । फेडरेसन इन्टरनेसनल डेल मोटोसाइक्लिजम– एफआईएमको सहयोगमा नेपाल अटोमाेबाइल्स एसोसिएसन (नासा नेपाल) को समन्वय र बिमा नेपालको व्यवस्थापनमा 'सेफ्टी राइडिङ इनिसिएटिभ'को यही साउन २ गते काठमाडौँमा शुभारम्भ गरिएको छ । 

नेपाल अटोमाेबाइल्स एसोसिएसनका अनुसार  ललितपुरको सातदोवाटोस्थित नासा नेपालको कार्यालयमा एक विशेष कार्यक्रमका बिच राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडरेसन नेपालका अध्यक्ष गोविन्द भट्टराई र नासा नेपालका अध्यक्ष दशरथ रिसालले सो अभियानको सुरुवात गरिएको हो ।

कार्यक्रममा बिमा नेपालकी संयोजक सुनिता देशारले मोटरसाइकल राइडिङको टर्मिनोलोजी र टुल्स, सेफ्टी राइडिङको महत्त्व तथा नासा नेपाल तथा एफआईएमको अभियान  र नासा नेपालका उपाध्यक्ष अनिल बरालले नासा नेपाल तथा बिमा नेपालको सहकार्य बारेमा प्रस्तुतीकरण दिनु भएको थियो । त्यस्तै उक्त अभियानका सदस्य प्रमोद श्रेष्ठ ‘गुफी’ र बिमा नेपालकी कोषाध्यक्ष सोनी तुण्डकारले कार्यक्रमका बारेमा राइडरहरुलाई जानकारी गराउनु भएको थियो । 

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यद्वय सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ, सगरमाथा आरोही तथा राइडर कल्पना महर्जन, नासा नेपालका कार्यसमिति सदस्य दिप्रश शाक्यलगायतको उपस्थिति रहेको समेत नेपाल अटोमाेबाइल्स एसोसिएसनले जानकारी दिएको छ । उक्त अवसरमा सहभागी राइडर तथा अफिसियलहरुलाई सेफ्टी राइडिङको प्रयोगात्मक अभ्यास समेत  गराइएको थियो । 

यस अभियान अन्तर्गत देशभरका १ हजार महिला मोटरसाइकल/ स्कुटर राइडरहरुलाई अनुशिक्षण प्रदान गरिने छ । राइडरहरुले ट्राफिक रुल्स एन्ड रेगुलेसन, मेकानिकल एन्ड टेक्निकल तथा मोटरसाइकल सेफ्टी एन्ड सस्टेनेबिलिटीको बारेमा आवश्यक जानकारी प्राप्त गर्नेछन् । नेपालभर झापा, धरान, निजगढ, हेटौँडा, तुलसीपुर, कावासोती, नारायणगढ, पोखरा, सुर्खेत, धनगढी र काठमाडौँ लगायतका विभिन्न सहरमा उक्त कार्यक्रम सञ्चालन गरिने लक्ष्य रहेको छ  । 

एफआईएमको टु टायर सिस्टम अन्तर्गत स्पोर्ट्स र वियोन्ड स्पोर्ट्स रहेकोमा सो अभियान वियोन्ड स्पोर्ट्स अन्तर्गत नासा नेपालको विशेष टिमले सञ्चालन गर्नेछ । उक्त विशेष टिममा गोविन्द भट्टराई, सन्तोष न्यौपाने, प्रकाश कपुरी, विनोद तुण्डकार, प्रमोद श्रेष्ठ ‘गुफी’, सुनिता देशार, रवि थापा र विपिन गौतमलगायतका व्यक्तित्वहरू संलग्न रहेको नेपाल अटोमाेबाइल्स एसोसिएसनले उल्लेख गरेको छ । 

नेपालमा हाल ४० लाख भन्दा बढी सवारी साधन दर्ता भएको यातायात व्यवस्था विभागको तथ्याङ्क रहेकोमा ती मध्ये ८० प्रतिशत हाराहारी मोटरसाइकल रहेका छन् । प्रत्येक दिन हुने सवारी दुर्घटनामा मोटरसाइकल र स्कुटर जस्ता टु ह्विलरको सङ्ख्या अत्यधिक रहेको आँकडा रहेको छ ।  पछिल्लो दिनमा महिला राइडरहरु बढ्दै गएको परिप्रेक्ष्यमा उनीहरू समेत दुर्घटनामा पर्ने सम्भावना अत्यधिक देखिन्छ । यस कारण पनि महिला राइडरहरुका लागि यस किसिमका जागरण अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता छ । 

संसारमा ६० करोड भन्दा बढी मोटरसाइकल कुदिरहेको देखिन्छ । यसको ठुलो सङ्ख्या विकासशील राष्ट्रहरुमा पाइन्छ । सवारी दुर्घटनाको ठुलो सङ्ख्या पनि यिनै देशहरूमा छ । यसले गर्दा मोटरसाइकल राइडर तथा पैदल यात्रीहरू सवारी दुर्घटनाको ‘रिस्क जोन’ मा रहँदै आएका छन् ।  यो समस्या विश्वकै अटो मोबाइल उद्योगको लागि एउटा ठुलो चुनौती बनेको छ भने नेपाल जस्तो गरिब देशको लागि राष्ट्रिय अर्थतन्त्रमै ठुलो प्रहार । 

विश्वव्यापी रुपमा संयुक्त राष्ट्र सङ्घले नै रोड सेफ्टी दशक (२०२०–२०३०) सञ्चालन गरिरहेको छ । यस अन्तर्गत हाल सडक दुर्घटनाबाट हुने १३ लाख मृत्यु दरको सङ्ख्यालाई १० वर्षमा आधा घटाउने घोषणा सहितको कार्य योजना सार्वजनिक गरेको छ । विभिन्न सदस्य राष्ट्रहरूले यसै अनुसारको रणनीति तयार गरेका छन् । नेपाल सरकारले पनि रोड सेफ्टी एक्सन प्लान २०२०–३० को प्रस्ताव सार्वजनिक बहसमा ल्याएको छ । तर  यसलाई नेपाल सरकारले  अनुमोदन गरी कार्यान्वयन ल्याउन सकेको छैन । 

मोटरसाइकलबाट हुने दुर्घटनाका कारण अत्यधिक मात्रामा टाउकोमा चोट लाग्ने गरेको पाइन्छ र यसको मुख्य कारण गुणस्तरीय हेलमेटको अभाव देखिन्छ । साथै ठिक ढङ्गले हेलमेट तथा राइडिङ गियर नहुनु पनि यसको अर्को कारण मान्न सकिन्छ । अझ अधिकांश दुर्घटनामा पिलिएन राइडर अर्थात् पछिल्लो भागमा बस्ने राइडरलाई बढी क्षति पुगेको पाइन्छ । यसले गर्दा पिलिएन राइडरलाई पनि गुणस्तरीय हेलमेट अनिवार्य गर्न ढिलाइ भइसकेको छ । 

नेपाल गुणस्तर तथा नापतौल विभागले नासा नेपालको लामो लबिङ पश्चात् हेलमेटको राष्ट्रिय गुणस्तर मापदण्ड निर्धारण गरिसकेको छ, जसलाई ऐनमार्फत बाध्यकारी बनाएर कार्यान्वयन गर्नका लागि दबाब दिनु यस क्षेत्रमा संलग्न सबैको दायित्व हो । 
विश्वव्यापी रुपमा डब्ल्युएचओ, एफआईए र एफआईएम  ग्लोबल एलायन्स लगायतका सङ्घ संस्थाहरूले मोटरसाइक्लिङ सेफ्टी सम्बन्धी अभियानहरू सञ्चालन गरिरहेका छन् । नेपालमा पनि विगत लामो समय देखि दर्जनौँ सङ्घ संस्थाहरू नेसनल एलायन्स फर सेफ एन्ड सस्टेनेबल मोबिलिटी– नेपाल नामक नेटवर्कमार्फत विभिन्न अभियान मार्फत विभिन्न गतिविधि सञ्चालनमा  छन् । यसै अन्तर्गतको एउटा महत्त्वपूर्ण अभियानका रुपमा  'सेफ्टी राइडिङ इनिसिएटिभ'  शुभारम्भ भएको हो,  जसको समापन आगामी सेप्टेम्बर अन्तिम साता काठमाडौँमा हुने अन्तर्राष्ट्रिय मोटरसाइक्लिङ कन्फ्रेन्समार्फत गरिने कार्यक्रम रहेको  छ । 

देशव्यापी रुपमा सञ्चालन गरिने सेफ्टी राइडिङ इनिसिएटिभ अभियान अन्तर्गत मोटरसाइकलको महत्त्व र फाइदा, मोटरसाइकलमार्फत महिला सशक्तीकरण, मोटरसाइक्लिङ स्पोर्ट्स, टु ह्विल टुरिङ र ई–बाइकको बारेमा समेत आधारभूत जानकारी प्रदान गरिने नेपाल अटोमाेबाइल्स एसोसिएसनले जनाएको छ  ।