राजबाबु श्रेष्ठ 'सागर' : 'यादका बस्तीहरू' गीति सङ्ग्रहको लोकार्पण

राजबाबु श्रेष्ठ 'सागर' : 'यादका बस्तीहरू' गीति सङ्ग्रहको लोकार्पण

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  श्रावण ४, २०७८

काठमाडौँ । प्रसिद्ध गीतकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्यमा भएको एक साहित्यिक कार्यक्रममा बिच साहित्यकार राजबाबु श्रेष्ठ 'सागर'को 'यादका बस्तीहरू' गीति सङ्ग्रह भर्चुअल जुमका माध्यमबाट साउन २ गते शनिवार लोकार्पण समापन्न भएका छ । 

एकासी जना बौद्धिक साहित्यिक व्यक्तित्वका उपस्थिति रहेकाे  लोकार्पण कार्यक्रमको सभाध्यक्ष पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा.  यज्ञेश्वर निरौलाले गर्नुभएको थियो ।  

कार्यक्रममा गीतकार राजबाबु श्रेष्ठ  'सागर'ले गीति कृति जन्मनुका विगतका पृष्ठभूमि र आफ्ना गीतका बारेमा मार्मिक तथा हृदयस्पर्शी भनाइ राख्दै गर्दा दर्शकवृन्द सबैलाई आँखा रसाउने गरी भावुक समेत  बनाएको थियो । 

वरिष्ठ बाँसुरी बाधक तथा यलमाया क्लासिकका संस्थापक जीवन आलेले बाँसुरीको धून बजाई लोकार्पण आरम्भ गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि प्रा. डा.  कृष्णहरि बरालले गीतकार सागरका गीतहरूमा काव्यिक, उपमा र अलङ्कारहरू प्रशस्तै प्रयोग गरिएको पाइयो भन्दै थप सङ्गीतले राजजीका गीतहरू निकै उचाइमा पुग्ने भन्ने बारेमा पनि प्रस्ट पार्नुभयो । 

साथै गीतकार राजजीका अरू गीतकारहरूले लेख्नेजस्तै उग्र राष्ट्रवाद र अन्ध राष्ट्रवादका यी दुई रेखाले घेरिएका राष्ट्रिय गीतहरूभन्दा माथि उठी असली राष्ट्रवादभित्रको घेराभित्र रहेको पाइयो भन्दै थप प्रशंसा पनि गर्नुभयो । 


एक दुई ठाउँमा थोरै मिटरको पनि ख्याल गरिएको भए अझ उत्तम हुन्थ्यो भन्दै गीतहरू सबै गेयलयका परिधि वरिपरि घुमेको छ भन्दै प्रस्ट्याउनुभयो ।  विशिष्ट अतिथि वरिष्ठ कवि डा। नवराज लम्सालले गायनका लागि उपयुक्त छन्द र लय मिलेको हुनुपर्ने र गीतकार सागरका गीतहरू स्फुरण हुँदा रातमा जागी आकाशका ताराहरू हेर्दै पानी पिउँदै कोरिएका भावनात्मक शब्दहरू हुन् भनी प्रस्ट्याउनुहुँदै थप आउँदा गीति कृतिहरू परिमार्जन गर्दै निकाल्दा राम्रो हुन्छ भन्दै दाइ भएको नाताले  सल्लाह दिनुभयो । 

कार्यक्रममा विश्व कीर्तिमानी तथा वरिष्ठ सङ्गीतकार सन्तोष श्रेष्ठले राजबाबु आफैँमा बहु आयामिक व्यक्तित्व रहेको र कृतिभित्र रहेका सबै गीतहरू राम्रा रहेका र त्यसमध्ये दस ओटा गीतहरू छानी यी गीतहरू मलाई साह्रै मन परेको र यी गीतहरूमा मैले पनि सङ्गीत गर्ने मौका पाए हुन्थ्यो भन्दै प्रस्ट पार्नुभएको थियो । र वरिष्ठ चित्रकार, गायक एवम् सङ्गीतकार ज्योतिप्रकाशले पनि सागरका गीति सङ्ग्रहभित्र रहेका सबै गीतहरू उत्कृष्ट रहेका भन्दै मन दुख्दा फूलले पनि बिझाउँदो रैुछू बोलको गीतमा  सङ्गीत भर्दै गाएर सुनाउनुभएको थियो ।

गीतकार सङ्घ नेपालका अध्यक्ष शुभ मुकारूङ्ले पनि गीतकार राजबाबु श्रेष्ठ गीति सङ्ग्रह निकालिनु पूर्व पनि राम्रा गीतकार र कविका रूपमा चिरपरिचित नाम थिए भनी प्रस्ट्याउनुभयो । 

थपमा राजबाबुले परम्परागत गीतका शैलीभन्दा फरक शैली अपनाई केही गीतहरूमा मुक्तकीय र गजलीय शैली अपनाई गीतका ढाँचा दिँदा मलाई यो शैली निकै राम्रो लाग्यो भनेर थप प्रशंसा पनि गर्नुभएको थियो । 

सभापतिको आसनबाट बोल्दै पुष्पपराग साहित्य प्रतिष्ठानका अध्यक्ष डा‍. यज्ञेश्वर निरौलाले लोकार्पणको भाव र अर्थमाथि प्रकाश पार्दै र हरेक दश महिनामा सागरका कृति जन्मने गरेको र दश महिनाअगि 'हराएका छोराहरू'कविता सङ्ग्रह र 'देशको चिना' मुक्तक सङ्ग्रह लोकार्पण गर्दाको प्रसङ्ग उठाउँदै उहाँमा सिर्जनाका प्रशस्तै सम्भावना भएकाले एकभन्दा बढी विधामा कलम चलाए तापनि कुनै एक विधामा विशिष्टता हासिल गर्नतर्फ दत्तचित्त भएर लाग्न सुझाव दिनुभएको थियो ।

यसै गरी पुष्पपराग साहित्य प्रतिष्ठानका सचिव डा. प्रदीपकुमार मैनालीले स्वागत मन्तव्य दिनुभएको थियो भने दाङ्बाट चर्चित गीतकार प्रकाश केसीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । 

कार्यक्रमका लागि ईडन ब्रिज स्कुलका संस्थापक तथा पुष्पपराग साहित्य प्रतिष्ठानका आजीवन सदस्यसमेत रहनुभएका प्रेम राई 'परीक्षित' को सौजन्यमा भर्चुअल जुम उपलब्ध भएको थियो ।