शेयर बजारले पुन: राख्यो नयाँ रेकर्ड

शेयर बजारले पुन: राख्यो नयाँ रेकर्ड

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ४, २०७८

साताको दोस्रो दिन शेयर बजार परिसूचक नेप्सेमा नयाँ रेकर्ड कायम भएको छ । कारोबार खुल्नेबित्तिकै ५० अंकले बढेको बजारमा नेप्से परिसूचक ३ हजार ३२ अंकमा उक्लिएको थियो, जुन अहिलेसम्मकै सबैभन्दा उच्च बिन्दु हो ।

यसअघि ३१ जेठमा नेप्से परिसूचक ३ हजार २५ अंकमा पुगेको थियो । त्यसपछिका एक महिना १५२ अंकले घटेको बजारमा आइतबारदेखि तीब्र सुधार देखिएको छ । आइतबार नेप्से परिसूचक ९७.२१ अंकले बढेको थियो ।

आजको कारोबारमा नयाँ रेकर्ड कायम हुँदा बजारमा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । सोमबार कारोबारमा आएका १३ उपसूचकमध्ये ११ वटा सूचकमा हरियाली छाएको छ ।

नयाँ सरकार बनेसँगै चालू आर्थिक वर्षको सुरुकै दिनदेखि उछाल आएको शेयर बजारमा लगानीकर्ता पुन: उत्साहित बनेका छन् ।