अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते

अफगानिस्तानमा ९५० तालिबान मारिए, ५०० घाइते

रासस  |  विदेश  |  श्रावण ४, २०७८

अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ९५० जनाभन्दा बढी तालिबान लडाकुहरू मारिएका छन् । घटनाका कारण अरू ५०० जनाभन्दा बढी घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यो विवरण पछिल्लो ४ दिनको भएको बताइएको छ । 

सुरक्षाकर्मीहरू र तालिबान लडाकुहरूका बीचमा देशका २० व६ाभन्दा बढी प्रान्त र शहरमा भिडन्त तथा हिंसात्मक घटना भएको जनाइएको छ । लडाकु समूहले लगातार हिंसात्मक गतिविधिहरू गरिरहेकाले सुरक्षा कारबाही गर्नुपरेको सुरक्षा अधिकारीहरूले बताएका छन् । 

कतिपय शहर तथा क्षेत्रहरू तालिबान लडाकुहरूको नियन्त्रणमा रहेको दाबी गरिएको छ । तीमध्ये सोर्ख ए पर्सा जिल्लाको पर्वाना र माइलस्तान जिल्लाको घाज्नीलाई सुरक्षाकर्मीहरूले आफ्नो नियन्त्रणमा लिइएको जनाएका छन् तर चाखान्सुर जिल्लाको मिर्मोजलाई भने लडाकुहरूले फेरि कब्जा गरेको बताइएको छ ।

अफगानिस्तानको उत्तरपूर्वी प्रान्त ताखारमा पनि सुरक्षाकर्मी र तालिबान लडाकुहरूबीच ठूलो भिडन्त भएको थियो । तालिबान लडाकुहरूको नियन्त्रणमा रहेका ठाउँहरूलाई नियन्त्रणमुक्त गर्न सरकारी सुरक्षाकर्मीहरूले प्रयास गरिरहेको अधिकारीहरूले जनाएका छन् ।