संवैधानिक नियुक्तिविरुद्ध रिट लिएर अर्याल सर्वोच्चमा

संवैधानिक नियुक्तिविरुद्ध रिट लिएर अर्याल सर्वोच्चमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ४, २०७८

संसदीय सुनुवाइबिना विभिन्न संवैधानिक आयोगमा ५२ जना पदाधिकारीको नियुक्तिविरुद्ध रिट लिएर कानुन व्यवसायी अधिवक्ता ओमप्रकाश अर्याल सर्वोच्च अदालत पुग्नुभएको छ ।

संसदीय सुनुवाइबिना २ पटक भएको संवैधानिक आयोगका पदाधिकारीको नियुक्तिविरुद्ध रिट लिएर अर्याल सर्वोच्च पुग्नुभएको हो । तर, उहाँको रिट दर्ता भने भइनसकेको सर्वोच्च अदालतले जनाएको छ ।

संविधानले व्यवस्था गरेको प्रावधानविपरीत अध्यादेशका आधारमा बसेको संवैधानिक परिषद्ले गरेको नियुक्ति संविधानसम्मत नभएको अर्यालको रिटमा दाबी छ । संसदीय सुनुवाइबिना ती पदाधिकारीलाई नियुक्त गरी काम गर्न दिनु गैरसंवैधानिक भएको दाबी पनि रिटमा गरिएको छ ।

अधिवक्ता अर्यालले प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रिपरिषद् कार्यालय, संवैधानिक परिषद्का पदाधिकारीहरू र त्यसको सचिवालयलाई विपक्षी बनाउनुभएको छ ।