एसईईको नतिजा अगावै भर्ना नलिन काठमाडौँ महानगरको आग्रह

एसईईको नतिजा अगावै भर्ना नलिन काठमाडौँ महानगरको आग्रह

लोकसंवाद संवाददाता  |  शिक्षा  |  श्रावण ४, २०७८

काठमाडौँ महानगरपालिकाले एसईईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।

महानगरपालिका शिक्षा विभागले सूचना जारी गर्दै विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ४८ (६)मा भएको व्यवस्थाविपरीत कतिपय माध्यमिक विद्यालय र कलेजले शैक्षिक सत्र २०७७ को एसईईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना नलिन सबै मावि कलेजलाई आग्रह गरेको हो ।   

महानगरका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जारी गर्नुभएको सूचनामा भनिएको छ, 'कक्षा ११ मा भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्ट्रेसन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोसाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनू ।' 

त्यसैगरी कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र उनीहरूबाट लिइने शुल्क के कति हो, यही १५ साउनभित्र विभागलाई बुझाउनुपर्ने र कलेजले तोकेबमोजिम छात्रावृत्ति अनिवार्य रूपमा प्रदान गराउने तथा उक्त सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिक सत्र सुरु भएको २ महिनाभित्र विभागमा बुझाउन भनिएको छ ।