राष्ट्रपतिमाथि महाअभियोगको त्रास : एमालेबाट तत्काल २२ सांसद निकाल्ने हतारो !

राष्ट्रपतिमाथि महाअभियोगको त्रास : एमालेबाट तत्काल २२ सांसद निकाल्ने हतारो !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७८

काठमाडौँ । नेकपाकालीन अन्तर्संघर्षका कारण विवादमा फँसेको नेकपा एमाले अन्ततः विभाजनका डिलतिर पुगेको छ । तर पार्टीभित्रको लामो संघर्षमा केही अस्वभाविक परिदृश्यहरु देखिएका छन् । पार्टी अन्तर्संघर्षमा लामो समय माधवकुमार नेपालसँग रहेकाहरु पार्टी एकताका लागि भन्दै संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन डराएका छन् भने दुई पटक प्रतिनिधिसभा विघटन हुन्जेलसम्म पनि केपी शर्मा ओलीलाई साथ दिएकाहरु अप्रत्यासित रुपमा माधवकुमार नेपालको पक्षमा आउँदै कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने अवस्थामा पुगेका छन् । 

३ फागुन, २०७४ मा झण्डै दुई तिहाईको समर्थन पाएर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले २७ वैशाख, २०७८ मा पहिलो पटक विश्वासको मत लिन प्रतिनिधिसभामा आउँदा ९३ जनाको समर्थन पाएका थिए । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मतको पक्षमा १६५ मत पाउँदा ओलीको पक्ष अर्थात विश्वासको मत दिनुहुन्न भन्ने पक्षमा जम्मा ८३ मत मात्रै परेको छ । जबकि प्रतिनिधिसभामा ओलीको दल एमालेका १२१ जना सांसद छन् । केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले ७ जेठमा प्रतिनिधिसभा विघटन गनुअघि नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमाले उपाध्यक्ष भीम रावलले देउवाले विश्वासको मत लिनुअघि सांसद पदबाट राजीनामा कै घोषणा गरेका छन् ।  वरिष्ठ नेता झलनाथ खनाल उपचारका लागि भारतको नयाँ दिल्लीमा छन् भने २२ जना सांसदले देउवाको पक्षमा मतदान गरेका थिए । अन्य सांसद भने मतदानमा सहभागी भएनन् । यही विश्वासको मतलाई लिएर एमालेभित्र फेरि विवादको उत्कर्षमा पुगेकाे छ ।

सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ । यो स्पष्टीकरण केबल प्रक्रिया पुर्‍याउनका लागि भएको र कारबाही गर्ने मुडमा एमाले देखिन्छ । पार्टीबाट कारबाही गरे पनि ओलीले एमाले संसदीय दलबाट कारबाही गर्न सक्ने अवस्था छैन । किनकि सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधिसभा पुनर्स्थापना गर्दै संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा पार्टीको ह्विप लागू नहुने र यस अनुसार गरेको मतदानका आधारमा राजनीतिक दलसम्बन्धी ऐन र संविधानको धारा ८९ को खण्ड (ङ) पनि आकर्षित नहुने उल्लेख गरेको छ ।

नेता नेपाल विपक्षी गठबन्धनबाट बाहिरिएर पार्टी मिलाउने अभियानमा आउने संकेत गरिसकेका थिए । तर ओलीको सो अभिव्यक्तिले नेता नेपाललाई झनै चिढ्याएको छ । त्यसमाथि आफू पक्षका सांसद समेत माधव नेपाल समूहमा लागेर देउवालाई विश्वासको मत दिएपछि ओली माधव नेपाललाई पार्टीबाटै हटाउने अभियानमा लागेका छन् । 

त्यसैले ओली यतिबेला माधवकुमार नेपालसहितका नेताहरुमाथि अनुशासनको नाममा पुनः कारबाहीको डण्डा बर्साउने अभियानमा जुटेका छन् । यसअघि पनि ओलीले विधि र प्रक्रिया मिचेर पटक पटक नेता नेपाल र उनी पक्षका नेताहरुमाथि कारबाही गरेका थिए । तर अन्तिममा उनी सर्वोच्चको फैसलासँगै २ जेठ, २०७५ को अवस्थाको पार्टी संरचनामा फर्किन बाध्य भएका छन् । सोही कमिटीको बैठकले सोमबार फ्लोर क्रस गरेर प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदमाथि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

माधवकुमार नेपाल बिनाको एमालेको चर्चा

केपी शर्मा ओली पार्टीभित्रका बलिया प्रतिस्पर्धी र पार्टीलाई संकटको अवस्थामा १५ वर्ष नेतृत्व गरेर देशकै ठूलो पार्टीको रुपमा जग बसाल्ने माधवकुमार नेपाललाई पार्टीबाट हटाउन चाहन्छन् । त्यसका लागि उनले यसअघि पटक पटक नेपाल पक्षका नेताहरुलाई मन्त्री र पार्टीका अन्य जिम्मेवारीमा फर्काउँदै नेता नेपाललाई एक्ल्याउने प्रयास गरेका थिए । तर आइतबार देउवालाई विश्वासको मत दिएसँगै ओली फेरि पनि नेपाल र उनको पक्षलाई कमजोर पार्न नेता नेपालबिनाको एकताको कुरा गरेका छन् ।

एमालेको विवाद नै ओली र माधव नेपाल समूहबिचको विवाद भएका कारण माधव नेपाल बिना कसरी एकता हुन्छ भन्ने प्रष्ट छैन । तर नेपाल पक्षीय नेताहरु नै ओली पक्षमा जान लालयित देखिएका छन् । यसअघि देखि नै ओली नेपाल समूहमाथि फुटाउ र राज गरको नीति अनुसार काम गरिरहेका छन् । यतिबेला विश्वासको मत प्रकरणले ओलीलाई झनै सजिलो बनाइदिएको छ । यद्यपि माधवकुमार नेपालले आफ्नो चट्टानी अडानका कारण प्रतिनिधिसभाले पूर्ण कार्यकाल पाउने भएको छ भने देशले वैकल्पिक सरकार पाएको छ । 

पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसक्दा र हठ, दम्भ र अहंकारका कारण केपी ओली नेतृत्वको सरकार ढलेपछि ओली आफैं विक्षिप्त बनेका छन् । उनले सोमबारको बैठकलाई पनि करिब १ घन्टा सम्बोधन गरे र फ्लोर क्रस गर्ने सांसदलाई स्पष्टीकरण सोध्ने बताए । त्यसलगत्तै ओली पक्षीय नेताहरुमात्रै रहेको सो बैठकमा सहभागीमध्ये केही उठेर २२ सांसदलाई तत्कालै कारबाही गर्नुपर्ने बताएका थिए । ओलीले स्पष्टीकरण सोध्ने भनेलगत्तै सुरुमा राष्ट्रियसभा सदस्य समेत रहेका नेता खिमलाल भट्टराईले उठेर विरोध गरे। त्यसपछि अरु पनि उठेर ‘स्पष्टीकरण सोध्ने कुरा गरेपछि पार्टीबाटै निकाल्नुपर्ने’ भन्दै विरोध गरेका थिए । जवाफमा अध्यक्ष ओलीले कानुनी प्रक्रिया पुर्‍याउन पनि उनीहरुलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका थिए । यसबाट ओलीको स्पष्टीकरण केबल अस्त्र भएको र त्यसलगत्तै नेताहरुमाथि कारबाही हुनसक्ने देखिन्छ। 

बैठकमा नेता महेश बस्नेतले कानुनी प्रक्रिया पुर्‍याउने नाममा छुट दिइरहँदा राष्ट्रपतिमाथि पनि महाअभियोग लाग्नसक्ने भएकाले तत्काल कारबाही गर्नुपर्ने बताए । उनको चिन्ता पार्टी रक्षात्मक अवस्थामा आइसकेको तर्फ लक्षित थियो ।२०७४ को निर्वाचनमा ठूलो जनमत पाएको एमाले यतिबेला पार्टीभित्रको आन्तरिक संघर्षका कारण रक्षात्मक अवस्थामा पुगेको छ ।

बैठकमा अध्यक्ष केपी ओली माधवकुमार नेपालसँग कुनै हालतमा एकता नहुने अडानका साथ प्रस्तुत भएका थिए । उनले बैठकमा नेपाल नेपाली कम्युनिस्ट आन्दोलनकै गद्दार भएको आरोप लगाउँदै अरु नेताहरुले आत्मालोचना गरेर कमजोरी स्वीकार गर्दा हुने तर माधव नेपालका लागि एमालेमा ठाउँ नभएको बताए ।

उनले बैठकमा भनेका थिए, ‘आफ्नो पार्टीको सरकार ढाल्ने अपराध गर्ने, अनि उनैलाई बहुमत दिनुपर्ने ? अध्यक्ष बनाउनुपर्ने ?’ लामो समय ओलीविरुद्ध एकढिक्का भएर संघर्ष गरेको माधवकुमार नेपाल समूहमा पछिल्लो समयमा देखिएको विवादसँगै ओली माधव नेपाललाई यही मौकामा झनै कमजोर पारेर पार्टीबाट बाहिर निकाल्ने दाउमा जुटेको हुनसक्छ ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने निर्णयमा असन्तुष्टि जनाउँदै उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाटै राजीनामा दिएका थिए भने एमाले एकताका लागि भन्दै उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायतका १० जनाले विश्वासको मत नदिई संसद भवनबाट बाहिरिएका थिए । 

बैठकमा ओलीले माधव नेपाललाई छाडेर एमाले पार्टीलाई अघि बढाउन प्रयास गर्ने संकेत गरेका छन् । उनले यसअघि नै एकपक्षीय बैठकबाट पार्टी एकताका लागि कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गराएका थिए। यही आधारमा उनले नेपाल पक्षका नेताहरुलाई समेट्ने कोशिस गरिरहेका छन् । अब नेपाल पक्षमा रहेका रावलसहितका नेताहरुले खेल्ने भूमिकाले एमालेको भावी यात्रा कसरी अघि बढ्छ भन्ने तय गर्नेछ ।

यद्यपि ओली पक्षीय केही सांसदहरु यतिबेला माधव नेपाल पक्षमा उभिएका छन् । जसपाले सिंगो रुपमा देउवालाई साथ दिएपछि उनले विश्वासको मत पाउने निश्चित थियो । तर आफ्नै सांसदहरुका कारण पदच्युत हुनु परेको निष्कर्ष निकालेका ओली माधवकुमार नेपालप्रति सबैभन्दा आक्रोशित देखिन्छन् । त्यसैले उनले बालुवाटारबाट बालकोट पुग्नेवित्तिकै माधव नेपाललाई गद्दार घोषणा गरेर एमालेमा कुनै ठाउँ नरहेको बताएका थिए । त्यसअघि नेता नेपाल विपक्षी गठबन्धनबाट बाहिरिएर पार्टी मिलाउने अभियानमा आउने संकेत गरिसकेका थिए । तर ओलीको सो अभिव्यक्तिले नेता नेपाललाई झनै चिढ्याएको छ । त्यसमाथि आफू पक्षका सांसद समेत माधव नेपाल समूहमा लागेर देउवालाई विश्वासको मत दिएपछि ओली माधव नेपाललाई पार्टीबाटै हटाउने अभियानमा लागेका छन् ।