कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ५, २०७८

साउदी अरेबियाले कोभिड- १९ का विरुद्धको खोप लगाएका व्यक्तिलाई आफ्नो देशमा आउन पाउने अनुमति दिएको छ । कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ ।

यसअघि साउदी अरेबियाले विभिन्न देशहरूबाट यात्रा प्रतिबन्ध लगाएको थियो । साउदी अरेबियामा पनि पछिल्लो समयमा कोभिडको नयाँ भेरिएन्ट भेटिएकाले धेरै मानिसहरू सङ्क्रमित हुन पुगेका छन् । त्यसैले कैयौँ देशबाट यात्रामा प्रतिबन्ध लगाएको साउदी अरेबियाले अहिले भने कोभिडको दुवै खोप लगाएका व्यक्तिलाई साउदी अरेबिया जान पाउने गरी खुला गरेको हो ।

यहाँको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सोमबार सो निर्णय गरेको हो । सो मन्त्रालयले कोभिडका विरुद्धको सतर्कताको एक अभियानका रूपमा यो नियम बनाएको हो । साउदी प्रेस एजेन्सीले सोमबार सो समाचार दिएको छ । उक्त एजेन्सीका अनुसार साउदी अरेबियाले यही ९ अगस्टदेखिट यो यात्रा प्रतिबन्ध फुकुवा गरिने बताएको छ ।

यसअघि यहाँ कडा नयाँ भेरिएन्टका कारण धेरै ठूलो संख्यामा सङ्क्रमितहरू देखिएकामा पछिल्ला केही दिनमा त्यो सङ्क्रमणको संख्या घटेपछि यो निर्णय गरिएको हो । साउदी अरेबियाले गत १७ मेदेखि यो यात्रा प्रतिबन्ध लगाएको थियो । त्यसयता यहाँ कैयौँ विदेशी उडानहरू पनि रोकिएका थिए ।