भीम रावललाई राजीनामा फिर्ता लिन १४ सांसदले गरे अनुरोध

भीम रावललाई राजीनामा फिर्ता लिन १४ सांसदले गरे अनुरोध

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ६, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेशका माधव नेपाल खेमाका प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । काठमाडौं पुगेर प्रदेश सरकारका ४ जना मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।

रावलकै निवासमा पुगेर भेटेका उनीहरूले निर्णयमा पुनर्विचार नगरेमा आफूहरूले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।

रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटा समक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर, सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् । रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ भने अध्यक्ष केपी शर्मा ओलीले समेत रावललाई राजीनामा फिर्ता लिन सुझाव दिइसकेका छन् ।