टी-२० खेल्न इङ्ग्ल्याण्ड पुगेका सन्दीप नखेली फर्किए

टी-२० खेल्न इङ्ग्ल्याण्ड पुगेका सन्दीप नखेली फर्किए

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ६, २०७८

इङ्ग्ल्याण्डमा टी-२० क्रिकेट लिग खेल्न हुन गएका नेपाली स्पिनर सन्दीप लामिछाने एउटा पनि खेल नखेली नेपाल फर्किएका छन् । इङ्ग्ल्याण्ड क्रिकेट बोर्डले उनको भिसा अवैध भएको भन्दै तत्काल नेपाल फर्किन आदेश दिएको थियो ।

बोर्डको चेतावनीपछि मंगलबार बेलुकी नै सन्दीप नेपालका लागि उडेका छन् । उनी भोलि बिहीबार नेपाल आइपुग्ने बताइएको छ ।

इङ्ग्ल्यान्डमा आयोजना हुने टी-२० क्रिकेट लिग ‘द हन्ड्रेड’ खेल्न सन्दीप ९ जुलाईमा त्यहाँ पुगेका थिए । ६० हजार पाउन्डमा ओभल इन्भिन्सिबलमा आबद्ध भएका उनले २२ जुलाईमा पहिलो म्याच खेल्नुपर्ने थियो । इङ्ग्ल्यान्डमा पुगेर नियमानुसार सरकारले व्यवस्थापन गरेको होटमा ९ दिन क्वारेन्टाइन बसिसकेपछि सन्दीपको भिसामा समस्या देखाइएको थियो ।

सन्दीपले फेसबुकमा दिएको जानकारीअनुसार उनीसँग रहेको टायर फाइभ भिसालाई ईसीबीले अवैध बताएको छ । तर, के कारणले अवैध भयो भन्ने नखुलाइएको सन्दीपले बताएका छन् ।