२४ घन्टाभित्र चित्तबुझ्दो जबाफ नदिए एमालेका २२ सांसदलाई कारबाही

२४ घन्टाभित्र चित्तबुझ्दो जबाफ नदिए एमालेका २२ सांसदलाई कारबाही

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ६, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनासांसदलाई स्पष्टीकरण सोधेको छ । 

देउवालाई विश्वासको मत दिएर पार्टी अनुशासन उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता नेपालसहित २२ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।

५ साउनको मिति राखेर पठाइएको पत्रमा पार्टीको निर्णयविरुद्धमा आफू र अरूसमेत संलग्न भई विभिन्न कार्य गर्ने गराउनेजस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? भन्ने प्रश्न गरिएको छ । 

३ साउनमा प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए । तीमध्ये नेता नेपाल खेमाका १४ र ओली खेमाका ८ जनाले पक्षमा मतदान गरेका थिए । उनीहरूलाई कारबाही नगरे एमाले पार्टी नरहने भन्दै अध्यक्ष ओलीले ४ साउनको केन्द्रीय कमिटी बैठकमा भनेका थिए । 

स्पष्टीकरणपत्रमा पार्टी विधानको धारा ४९ (क), १, २, ३, ४, ५, ६, ७ र ४९ (च)  विपरीत अनुशासनहीन गतिविधि गरेको, पार्टीको मर्यादामा आँच पुर्‍याएको र पार्टी निर्णय र निर्देशनविपरीत आफ्ना क्रियाकलाप जारी राखेकाले पार्टीबाट किन नहटाउने ? भन्ने प्रश्न गरिएको छ । 

२४ घण्टाभित्र जबाफ नदिएमा वा जबाफ चित्तबुझ्दो नभएमा पार्टीबाट निश्कासन गरिने चेतावनी एमालेले दिएको छ । स्पष्टीकरण सोधिएका सांसदहरूले पार्टीको चेतावनीका बाबजुद पार्टीको विपक्षमा र पार्टी विधानविपरीतको क्रियाकलापलाई निरन्तरता दिइरहेको आरोप लगाइएको छ । 

प्रधानमन्त्री देउवालाई एमालेका सांसदहरू माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती बिसुंखे, हिराचन्द्र केसी, किसान श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, बिना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जनले पार्टीको निर्देशनविपरीत विश्वासको मत दिएका थिए ।