१५ वटा बैंकको सिस्टम ह्याक गर्ने धम्की

१५ वटा बैंकको सिस्टम ह्याक गर्ने धम्की

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ७, २०७८

नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोरी गर्ने धम्कीसहित ती संस्थाका उच्चअधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र ईमेल आएको बताइएको छ ।

ह्याकरले  राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको ईमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिष्टम ह्याक गर्ने चेतावनी दिइएको छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहको ईमेलमा पनि आएको उनीहरूले बताएका छन् ।

प्रवक्ता ढकाललाई बिहीबार बिहान अमेरिकाबाट टेलिफोन गरेर राष्ट्र बैंकसहित नेपाल बैंक र नबिल बैंकको सिस्टम ह्याक गर्न लागिएको जानकारी आएको हो।

यसबारे उनीहरू हिजोदेखि नै सचेत भएका र सबै बैंकको सिस्टम चेक गर्न तथा सम्भावित जोखिम न्यूनीकरणका निम्ति उपाय अपनाउन आग्रह गरिसकेको ढकालले जानकारी दिए ।

ईमेलमार्फत पत्र र टेलिफोन कल आएकोबारे जानकारी सरोकारवाला समक्ष पुर्‍याएर सचेत हुन आग्रह गरिएको ढकाल बताए ।