सिरियामा इजरायली मिसाइल आक्रमण

सिरियामा इजरायली मिसाइल आक्रमण

रासस  |  विदेश  |  श्रावण ७, २०७८

बुधबारको मध्यरातीदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको सिरियाबाट प्राप्त भएको समाचारमा जनाइएको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको बताइएको छ । बुधबार मध्यरातीदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको हो ।

सिरियाको समाचार समिति सानाका अनुसार गत मध्यरातीदेखि सिरियामा सो हमला भएको हो । उक्त साना समाचार समितिले सो हमला इजरायली सेनाले गरेको पुष्टि भएको पनि बताएको छ । मध्य सिरियाली शहर होम्सको क्वासेर क्षेत्रमा सो हमला केन्द्रित रहेको पाइएको छ । उक्त क्षेत्रमा सिरियाली सेनाले पनि प्रतिरक्षा गरेर मिसाइल प्रहार गरेको छ ।

त्यसबाट भएको हताहतको समाचार भने आएको छैन । ती आक्रमणबाट के कति मानिस हताहत भएका छन् भन्नेबारेमा खोजी भएको बताइएको छ । केही दिनयतादेखि इजरायलले सिरियामाथि हमला गरिरहेको छ । गत सोमबार मात्र पनि इजरायलले उत्तरी सिरियाली सहर अलेपोमा आक्रमण गरेको थियो ।

यस विषयमा सिरियाले भने कुनै प्रतिक्रिया दिएको छैन । सिरियामा अहिले पनि हिंसा जारी रहेको छ र विभिन्न हिंसात्मक समूहहरूका कारण नागरिकको ज्यान जाने क्रम जारी छ ।