मन्त्री र सदस्य-सचिवको लहड र सनकका भरमा खेलकुद चलेपछि कहाँ पुग्ने ?: राखेप सदस्य भट्टराई

मन्त्री र सदस्य-सचिवको लहड र सनकका भरमा खेलकुद चलेपछि कहाँ पुग्ने ?: राखेप सदस्य भट्टराई

आशिष पौडेल  |  लोकरञ्जन  |  श्रावण ७, २०७८

विगत एक दशकदेखि साहसिक तथा पर्यटकीय खेलकुदलाई खेल क्षेत्रको मूलधारमा ल्याउन अथक प्रयत्न गरिरहनुभएका गोविन्द भट्टराई राष्ट्रिय खेलकुद परिषद्को सदस्यसमेत हुनुहुन्छ । 

परम्परागत, साहसिक र पर्यटकीय खेल क्षेत्रअन्र्तगतको तर्फबाट राखेपमा प्रतिनिधित्व गरिरहनुभएका तथा माउन्टेन स्पोर्ट्स फेडरेसनको अध्यक्षसमेत रहनुभएका भट्टराईसँग यसै नेपाली खेलकुदको अवस्था, साहसिक र पर्यटकीय खेलका संभावनाका विषयमा केन्द्रित रहेर आशिष पौडेलले गरेको कुराकानीको अंश । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य भए पनि तपाईंको रुचि भने फुटबल, भलिबल जस्ता परम्परागत खेलमा भन्दा भिन्न देखिन्छ किन ? 

सन् २००५ मा एउटा कार्यक्रमका दौरान म इटालीको टुरिन शहरमा गएको थिएँ । टुरिन शहर विश्वप्रसिद्ध फियाट गाडीको कारखाना भएको शहर पनि हो । फियाटका रेसिङ ट्र्याकहरू पनि छन् त्यहाँ । उक्त समयमा युरोपमा बाइक, कार तथा ट्रक रेसिङ लोकप्रिय थिए । 

उक्त रेसिङ हेरेर आएपछि यस्ता साहसिक खेलका बारेमा केही गर्ने रुचि भयो र सन् २००८ देखि यस्ता साहसिक खेलमा मेरो संलग्नता रहेको छ । 

भारतमा केही समय रग्बी खेल प्रशिक्षकका रूपमा तालिम लिएपछि रग्बीको सुरुवात गरियो । एक दशक मोटर स्पोर्ट्समा संलग्न रहेपछि २ वर्ष अगाडि त्यसबाट बिदा लिएको छु । 

हाल भने सस्टेनेबल स्पोर्ट्सअन्र्तगत डेढ दर्जनभन्दा धेरै खेलहरू छन् । प्याराग्लाइडिङ, वाल क्लाइम्बिङ, र्‍याफ्टिङ, साइक्लिङ, स्की, स्केटिङ लगायतका खेलहरू अर्थात परम्परागत, साहसिक तथा पर्यटकीय आकर्षणका खेलमार्फत रोजगारी सिर्जना गर्ने, पर्यटन प्रवद्र्धन गर्ने, विदेशी लगानी भित्र्याउने, वातावरण संरक्षण गर्ने, महिला सशक्तीकरणको अभियान चलाउने कुरामा म लागिरहेको छु । 

३ वर्षदेखि म माउन्टेन स्पोर्ट्स फेडरेसनको अध्यक्षका रूपमा काम गर्दै आएको छु । यसको मुख्य उद्देश्य भनेकै परम्परागतभन्दा भिन्न खेलको प्रवद्र्धन तथा प्रोत्साहन गर्नु हो । 

राखेपमा रहेर तपाईंले नेपाली खेल क्षेत्रका लागि के गरिरहनुभएको छ ? 

माउन्टेन स्पोर्ट्स फेडरेसनअन्तर्गत डेढ दर्जन संघ साथै त्यति नै संख्यामा खेल पनि आवद्ध छन् । परम्परागत, साहसिक र पर्यटकीय खेल क्षेत्रअन्र्तगतको महासंघको तर्फबाट मेरो प्रतिनिधित्व राखेपमा भएको हो । विशेषगरी परम्परागत, साहसिक र पर्यटकीय खेलको प्रवद्र्धन र विकासमा टेवा पुर्‍याउनु नै मेरो प्रमुख भूमिका हो । यसका लागि मैले गर्ने प्रयत्न गरिरहेकै छु तर परम्परागत खेलभन्दा पर राखेपकै र सरकारको पनि ध्यान जान सकिरहेको छैन । यो दुखद् पक्ष देखेको छु । 

परम्परागत साहसिक र पर्यटकीय खेल प्रवद्र्धनका लागि हालसम्म केके गर्नुभयो ? 

संसारमा आधारभूत खेलकुदअन्र्तगत राज्यले लगानी गर्ने प्रचलन छ । गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, सुरक्षा भनेजस्तै राज्यले लगानी गर्ने खेलकुदलाई आधारभूत खेलकुद भन्ने गरिन्छ । 

तर, त्यसभन्दा फरक खेलमा भने राज्यको लगानी शून्यप्रायः हुने गर्छ । यसको अर्थ राज्यले लगानी नगरे पनि खेलाडी, विभिन्न संघसंस्था, निजी क्षेत्र तथा राष्ट्रिय संघहरूले गरेर पनि यस्ता खेलहरू रोकिएका त छैनन् । यसमा हामीले विभिन्न संघसंस्था तथा समुदायसँग समन्वय गरेर काम गरिरहेका छौँ । 

राखेप भनेको एउटा छाता संगठन हो, जसले विभिन्न संस्थाको प्रतिनिधिको रूपमा राज्यसँग समन्वयकारी भूमिका खेल्छ । म अहिले १८ वटा संस्थाको प्रतिनिधिको रूपमा राखेपमा प्रतिनिधित्व गर्छु । विशेषगरी यी संस्थाहरूलाई नीति निर्माणको तहमा जोड्ने, निजी क्षेत्रसँग, पर्यटनसँग जोड्ने तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जोड्नका लागि समन्वयकारी भूमिका रहने गर्छ मेरो । अझ भन्नुपर्दा राखेप, अन्तर्राष्ट्रिय संघसंस्था, सञ्चारजगतलगायतसँग जोड्ने नै प्रमुख काम हो मेरो, जुन हाल राम्रोसँग चलिरहेको पनि छ । 

तपाईंले प्रतिनिधित्व गरेको साहसिक तथा पर्यटकीय क्षेत्रका लागि सरकारको लगानी शून्यप्रायः छ तर पनि गतिविधि भइरहेका छन् भने लगानी बढाउनलाई सरकार, राज्य, मन्त्रालय वा भनौँ राखेपलाई केही दबाब पनि दिनुभएको छ कि ?

हामीले बजेट बनाउँदा मागपत्र राख्ने, लबिङ गर्नेजस्ता काम गरिरहेका छौँ । बोर्ड सदस्य भएका नाताले आफ्नो संलग्नता रहेको क्षेत्रमा अलिक बढी अपेक्षा गर्नु स्वाभाविक हो । तर, नीति निर्माणमा मात्र हाम्रो भूमिका रहने र कार्यकारी भूमिका नरहने कारणले पनि हामीले गर्ने भनेको समन्वय र दबाब मात्र हो, प्रत्यक्ष केही गर्न सक्ने अवस्था छैन । 

अर्को भनेको खेलकुद नबुझेको राखेप सदस्य-सचिव अथवा कार्यकारी भूमिकामा रहने जिम्मेवार व्यक्तिले खेलकुद नबुझ्दाको हैरानी हामीले व्यहोर्नुपरिरहेको छ । 

म सदस्य भएको करिब एक वर्षमा चौथो खेलमन्त्री बिदा भएर पाँचौँ खेलमन्त्रीका रूपमा शेरबहादुर देउवा हुनुहुन्छ, अब भन्नुहोस्, यसरी कसरी खेलकुदको विकास हुन्छ ? यसरी कसरी सुदृढ र पारदर्शी बजेट व्यवस्थापन होला ?

नेपाली राजनीतिको सबैभन्दा विद्रुप तथा टिठलाग्दो रूप खेलकुदमा हेर्न पाइन्छ भने खेलकुदको विकास कसरी हुन्छ ? यस्ता कुरामा अलमलिँदा आफ्नो क्षेत्र अथवा संघको काम भने वरको पर पनि सार्न भ्याइएको छैन । त्यसले हामीलाई दुखीसमेत बनाएको छ । 

अर्को कुरा भनेको नेपाली खेलकुदको ‘ट्रेन्ड’ र ‘टेक्सचर’ दुवै परिवर्तनको दिशामा जाँदै छ तर हामीकहाँ आउने हाकिम अथवा मन्त्री भने पुरानै सोच, पुरानै कार्यशैलीका हुने गरेका कारण पनि साहसिक र पर्यटकीय खेल विकास हुन नसक्नुको प्रमुख कारण हो । 

राखेपले प्रभावकारी रूपमा काम गर्न नसक्नुका प्रमुख ३ कारण केके हुन् ?

पहिलो कुरा भनेको हामीसँग नेपाली खेलकुदको तत्कालीन, मध्यकालीन र दीर्घकालीन खेलकुद रणनीति छैन । अहिलेसम्म नीति, कार्यक्रम र सिद्धान्त भनेको ‘चलते चलाते’ र तदर्थवादमा आधारित छ । 

मन्त्री र सदस्य-सचिवको लडह र सनकका भरमा खेलकुद चलेपछि कहाँ पुग्ने भन्ने गन्तव्य नै तय भएको छैन । यसका कारण नेपाली खेलकुदको नेतृत्व गर्ने भनेको जागिर खाने र समय कटाउने मेलो बनेको छ । 

अर्को भनेको खेलकुदको नेतृत्व गर्नेहरू विश्वका साथै नेपाली जनमानसको खेलकुदप्रति फेरिएको चासो, मिडियाको ट्रेन्ड, भौगोलिक अवस्था आदिका बारेमा जानकार छैनन् भने पदाधिकारी र जनशक्ति पनि सोअनुरूपको छैन । त्यो नेतृत्वमा भनेको मन्त्री, सदस्य-सचिव, अन्य पदाधिकारी तथा महासंघका तर्फबाट प्रतिनिधित्व गर्ने हामी स्वयं पनि पर्न सक्छौँ । अर्को भनेको बजेटको अभाव । समग्र राष्ट्रिय खेलकुदको बजेट भनेको एउटा गाउँपालिकाको जति पनि छैन ।

खेलकुदको भाषा भनेको समग्र विश्वको एउटै हुन्छ । तर, हाम्रोमा भने अहिलेसम्म पनि ऐनले प्रदेश, नगर तथा गाउँपालिकालाई समेत समेट्ने काम गरेन । यसले गर्दा खेलकुदलाई लिएर केन्द्रिकृत रूपमा सिंहदरबारदेखि गाउँपालिकासम्मको एउटै आवाज हुनुपर्नेमा त्यसो भएन । 

बजेट पनि सानासाना टुक्राटुक्रामा विभाजन भएको छ । मन्त्रालय पनि बेलाबेलामा फुटाएर कहिले यता त कहिले उता पुर्‍याउने गरिएको छ । यसले गर्दा पनि हाम्रो खेलकुद क्षेत्र पछाडि परेको छ । 

खेलकुदमा संलग्न हाम्रो जनशक्ति पनि अत्यन्तै कमजोर देखिन्छ । शिक्षा सचिवलाई कारबाही गर्नुपर्‍यो भने खेलकुदमा ल्याउने, पर्यटनबाट कारबाही गर्नुपर्‍यो भने खेलकुदमा ल्याउने क्रियाकलापले हाम्रो खेलकुदको विकासमा कहिल्यै पनि सघाउ पुग्दैन । 

भलै, निजी क्षेत्रबाट, संघहरूबाट र सरोकारवाला अन्य निकायबाट नेपाली खेलकुदमा जति लगानी भएको छ, त्यो भने नेपाल सरकारले गर्ने लगानीभन्दा धेरै माथिल्लो तवरमा भएको छ । अहिले हामीले गर्ने प्रतिनिधित्व भनेको पनि त्यस्तै निकायबाट हो र हामीले बोल्ने आवाज पनि यसै क्षेत्रको हो । 

बजेटको कुरा गर्दा खेलकुदमा पहिले ०.१७ प्रतिशत, ०.३० प्रतिशत हुँदै फेरि ०.१७ प्रतिशत र अहिले ०.१३ प्रतिशत बजेट लगानी गरेको छ सरकारले । यसरी लगानीको ट्रेन्ड हेर्दा झनै घट्दो देखिन्छ । बिनालगानी कुनै क्षेत्रको यसै विकास कहाँ सम्भव छ र !

तर, त्यसो भन्दैमा नेपाली खेलकुदको विकास त रोकिएको पनि छैन फेरि । त्यो सबैको श्रेय भने निजी क्षेत्र, राष्ट्रिय संघ, त्यसमा लागेका पदाधिकारी तथा खेलकुदमा लागेका खेलाडीको आफ्नो व्यक्तिगत प्रयास तथा प्रयत्नलाई जान्छ, जसका कारण आजको खेल क्षेत्र टिकेको छ । 

तपाईं माउन्टेन स्पोर्ट्स फेडरेसनको अध्यक्ष पनि हुनुहुन्छ, यसको अवधारणा के हो साथै कस्तो काम तथा चुनौतीको सामना गरिरहेको छ ?

हामीले समग्र खेलकुदको परिभाषालाई नै परिवर्तन गर्नुपर्छ । अब हामीले खेल भनेर बुझ्दा आधारभूत खेल, प्रतिस्पर्धात्मक खेल र दिगो खेल भनेर बुझ्नुपर्ने हुन्छ । 

माउन्टेन स्पोर्ट्स फेडरेसनले भने दिगो खेलको वकालत गर्छ । यस अर्थमा हामीले ‘बजेटरी सिस्टम’मा पनि परिवर्तन गर्नुपर्ने हुन्छ भनेका छौँ । यी भनेका खेल क्षेत्रका चुनौती भए । 

अर्को भनेको साहसिक खेलकुद भनेको पर्यटनको मूल उत्पादन हो । तर पनि हालसम्म नेपाली पर्यटन उद्योगले यसलाई मूल उत्पादन मानिसकेको अवस्था छैन । त्यसलाई मनाउनु जरुरी छ । 

त्यस्तै, संघीय, प्रदेश र स्थानीय सरकार पनि कता जाने, केलाई आधार मान्ने भन्ने सन्दर्भमा भौँतारिइरहेको अवस्था छ । यस्तोमा कुन खेललाई आधार मान्ने अनि कहाँ लगानी गर्ने भन्ने कुरामा नीतिगत तहदेखि ज्ञान, सीपका बारेमा बुझाउनु जरुरी देखिएको छ । 

उदाहरणका लागिः मूलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने अनि भारत-पाकिस्तान म्याच गर्ने कुरामा मन्त्री चम्केर भाषण गर्छन्, मिडियाले लेख्छ तर नेपालको प्याराग्लाइडिङलाई विश्वव्यापी स्कूल बनाउने कुराले हामीलाई छुँदैन । त्यस कारण यस्ता कुरा अब सिंहदरबारदेखि वडा कार्यालयसम्मलाई बुझाउनु जरुरी रह्यो । 

अब हामी जाने भनेको समूहगत खेलकुदभन्दा व्यक्तिगत प्रतिस्पर्धामा हो । साथै अबको भविष्य भनेको अल्पाइन रिलेटेड गेम, वाटर रिलेटेड गेम, एडभेन्चर रिलेटेड गेम तथा नेचर रिलेटेड गेमको हो । अब हामीले यसका बारेमा बुझाउनु जरुरी छ । 

यो एक दशकको मिहिनेतमा आधाआधीले बुझी पनि सक्नुभएको छ भने अबको एक दशकको मिहिनेतमा बाँकीले पनि बुझ्नुहुनेछ भन्नेमा हामी आशावादी छौँ पनि । 

एडभेन्चर रिलेटेड तथा नेचर रिलेटेड स्पोर्ट्समा राज्यले लगानी गर्न हिच्किचाइरहेको अवस्थामा सम्बन्धित अभियानकर्ता अनि खेलाडीहरूले लगानी गरेर यस्ता खेलकुदहरू कति समय जान सक्छन् ? यसका दीर्घकालीन योजनाहरू के छन् ? 

मुख्यतः यसमा राज्यको संलग्नता गराउनेमा नै प्रमुख प्रयत्न रहन्छ । एक दशक अगाडि यस्ता खेललाई खेल नै नमानिएको अवस्थामा सुधार भएर यहाँसम्म आइपुगेको छ । अबको एक दशकमा भने नीतिगत तथा बजेटरी व्यवस्थाका कारण यो मूलधारको खेल बन्नेछ र बनाइनुपर्छ ।

यसका लागि वडा कार्यालयदेखि बजेट छुट्टयाउने, निजी क्षेत्रमार्फत लगानी बढाउने, पर्यटन उद्योगको रूपमा मान्यता दिलाउने र निरन्तर रूपमा यसका प्रतियोगिता गर्ने काम गर्नुपर्छ ।  

राजनीतिमा समावेसिताका कुरा कति लागू भएका छन् ? त्यो सबैलाई थाहा भएकै छ तर समावेसिताका केही काम त अघि बढेका छन् नि ! त्यसैगरी नेपाली खेलकुद तथा पर्यटन व्यवसायमा लागेका मान्छेले एड्भेन्चर तथा नेचर रिलेटेड स्पोर्ट्सका बारेमा भाषण गर्न गर्न सुरु गरेका छन् । यो नै अहिले हाम्रा लागि केही थप योगदान हो । 

हामीले  हाम्रोतर्फबाट यसमा काम गर्ने प्रयत्न त छँदै छ भने प्रदेश सरकारले पनि यसमा केही बजेट छुट्टयाउन थालेका छन्, जुन सकारात्मक पाटो हो । 

बैंकले अहिले फुटबल नगरेर साइक्लिङ गर्दै छ यसको अर्थ निजी क्षेत्रको पनि यसमा संलग्नता बढेको छ । बाह्रखरी गल्फ, नयाँ पत्रिका गल्फदेखि हुण्डाई गल्फका कुरा सुनिँदै छ । यसको अर्थ मिडियादेखि बैंकिङ क्षेत्र अनि निजी क्षेत्रको पनि यसमा संलग्नता देखिएको छ । 

यसको मूल कारण भनेकै परम्परागत खेलभन्दा यसमा आकर्षण देखिनु हो भने अब भविष्यमा मूलधारको खेलका रूपमा यस्ता खेल रहने कारणले गर्दा मिडियादेखि बैंकिङ अनि निजी क्षेत्रले पनि आफ्नो ब्रान्डिङ गर्ने अवसरको रूपमा यसलाई लिएका छन् । 

नीति निर्माता तथा खेल क्षेत्रमा संलग्नता जनाउनेहरूलाई तपाईं के भन्नुहुन्छ ? 

मिडियाको सन्र्दभमा भन्नुपर्दा खेलकुद हिजो अतिरिक्त क्रियाकलापको रूपमा थियो भने आज मुख्य भूमिकामा आइसकेको अवस्था छ । खेल समाचार मुख्य समाचारका रूपमा आउने गरेको छ मिडियामा समेत । 

खेलकुदको अर्थतन्त्र पनि मूलधारको अर्थतन्त्रको रूपमा विकसित हुँदै छ । खेलमा रोजगारी पनि मुख्य रोजगारीको रूपमा अगाडि आइरहेको छ । खेलकुदमा हुने लगानी पनि अब मुख्य लगानीको रूपमा आउँदै गरेको छ । 

अझ देखिनेगरीको कुरो भनेको खेलकुदले थुप्रै ‘स्टार’हरू उत्पादन गर्ने गरेको छ । मनोरञ्जन क्षेत्रपछि ‘स्टार’ उत्पादन गर्ने भनेकै खेलकुद क्षेत्र हो । 

त्यसैले खेलकुद क्षेत्रबाट गर्न सकिने यो व्यापक उपयोगिता र संभावनाका बारेमा सबैले जानकार रहेर यसबाट लाभ प्राप्त गर्ने अवसरको उपयोग जरुरी देखिएको छ । साथै यो नै आजको हाम्रो आवश्यकता पनि हो भन्ने लाग्छ । यसका लागि हामीले हाम्रोतर्फबाट अथक प्रयत्न जारी राखेका छौँ । अब बाँकी भनेको राज्य तथा सरोकारवाला अन्य निकायको हो ।