ओलम्पिक खेलमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

ओलम्पिक खेलमा सोनियाले रसियाकी इरिनासँग प्रतिस्पर्धा गर्ने

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ७, २०७८

भोलिदेखि जापानको टोकियोमा आयोजना हुने ३२औँ गृष्मकालीन ओलम्पिकअन्तर्गत जुडो खेलमा नेपालकी खेलाडी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ ।

आज सार्वजनिक भएको खेल तालिकाअनुसार जुडो खेलाडी भट्टले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो । उनले ४८ किलो तौल समूहमा इरिनाको सामना गर्नेछन् । भट्ट विश्व वरीयतामा १२७औँ स्थानमा छन् भने इरिना विश्व वरीयतामा नवौँ स्थानमा छन् । उक्त खेल ९ साउनमा हुनेछ । पदकको टुंगो पनि सोही दिन लाग्नेछ । 

भट्ट वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकदमा कास्य पदक जितेकी थिइन् । उनले महिला ४८ किलोमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् । 

डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको रुस ओलम्पिक खेलमा देशका रूपमा सहभागी छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झण्डामुनि रहेर प्रतिस्पर्धा गर्नेछन् ।