ओलीलाई माधव नेपालको जबाफ: 'संविधान र संसद जोगाउन यसो गरिएको हो'

ओलीलाई माधव नेपालको जबाफ: 'संविधान र संसद जोगाउन यसो गरिएको हो'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ७, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको जबाफ दिएका छन् । जबाफमा नेपालले संसद र संविधान जोगाउन गरेका राजनीतिक क्रियाकलापलाई विधानविपरीत भन्न नमिल्ने दाबी गरेका छन् ।

आफ्नो कदम नेपालको संविधान, पार्टीको विधान, सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मान्यताअनुकूल भएको र यसलाई विधानविपरीत भन्न निमल्ने उनको जिकिर छ ।

पार्टी अध्यक्ष ओलीले नै विधानको गम्भीर उल्लंघन गरेको र अध्यक्ष नै गैरसंवैधानिक गतिविधिमा लागेकाले त्यसको विपक्षमा आफू उभिएको नेपालले जबाफमा उल्लेख गरेका छन् ।

अध्यक्षले गरेका गैरसंवैधानिक, विधानविपरीत, सर्वोच्च अदालतको आदेशको बर्खिलाप र अलोकतान्त्रिक कार्यको प्रतिवाद स्वरूप गरिएको एक लोकतान्त्रिक अभ्यास भएकाले आफूहरूका कामलाई वैचारिक र राजनीतिक अन्तरविरोधका रूपमा बुझ्दै सोहीअनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकताबद्ध बनाउन आवश्यक भएको नेता नेपालले बताएका छन् ।