आज पनि ३ हजार नाघ्यो नेप्से

आज पनि ३ हजार नाघ्यो नेप्से

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण ७, २०७८

 धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार बजार दोहोरो अंकले उकालो लागेको छ ।

बजार आज १८.७६ अंकले बढेसँगै नेप्से परिसूचक ३००४.३३ को विन्दुमा उक्लिएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ४.०९ अंकले बढेर ५६२.२८ को विन्दुमा पुगेको छ ।

बिहीबार कारोबार रकम पनि सवा ११ अर्ब रुपैयाँको हाराहारीमा भएको छ । नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ५ वटा कम्पनीमा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ । यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ५.२७ प्रतिशतले उकालो लागेको छ । बैंकिङ समूह १.७३ प्रतिशतले बढेको छ ।

यस्तै, वित्त समूहमा १.६५ प्रतिशत, जलविद्युत समूहमा ०.८३ प्रतिशत र निर्जीवन बीमा समूहमा ०.२७ प्रतिशतको वृद्धि भएको छ । आज व्यापार समूह सर्वाधिक २.०२ प्रतिशतले ओरालो लागेको छ । अन्य समूह ०.५३ प्रतिशतले घटेको आज विकास बैंक समूहमा ०.३१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.४२ प्रतिशत, लगानी समूहमा ०.२८ प्रतिशत, जीवन बीमा समूहमा ०.२२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.३४ प्रतिशत र लघुवित्त समूहमा ०.२३ प्रतिशतको गिरावट आएको छ ।

आज नेप्सेमा सूचीकृतमध्ये २२२ वटा कम्पनीका ५ करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१५ रुपैयाँमा किनबेच भएका छन् ।

यो दिन कृषि विकास बैंकको सर्वाधिक ४६ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । नेपाल बैंकको ३६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने आज एनआईसी एसिया बैंकको ३६ करोड ४ लाख रुपैयाँ, ङादी ग्रुप पावरको ३४ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै, सिद्धार्थ बैंकको ३२ करोड ८ लाख रुपैयाँ, मञ्जुश्री फाइनान्सको २८ करोड १६ लाख रुपैयाँ, अरुण काबेली पावरको २२ करोड १० लाख रुपैयाँ, नबिल बैंकको २१ करोड ४१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ३१ लाख रुपैयाँ र सानिमा बैंकको १९ करोड ८२ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

बिहीबार विभिन्न ७ वटा लगानी कोष र कम्पनीको मूल्यमा पोजिटिभ सर्किट लागेको छ । लक्ष्मी उन्नति कोष, सीईडीबी हाइड्रोपावर र ङादी ग्रुप पावरको मूल्यमा १० प्रतिशत तथा पोखरा फाइनान्स, माउन्टेन हाइड्रो, लक्ष्मी इक्विटी फन्ड र ग्लोबल आईएमई समुन्नति फन्ड १ को मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ ।

सिटिजन्स म्युचुअल फन्ड १, सिटिजन्स म्युचुअल फन्ड २, कालिका पावर र ग्रिन लाइफ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढीले उकालो लागेको छ । हिमालयन पावर पाटर्नरको शेयरमूल्यमा सर्वाधिक ४ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।