एनआरएनए जर्मनी : अध्यक्षमा जननायक रामप्रसादकी नातिनी निनाम्मा राईको उम्मेदवारी !

एनआरएनए जर्मनी : अध्यक्षमा जननायक रामप्रसादकी नातिनी निनाम्मा राईको उम्मेदवारी !

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ७, २०७८

काठमाडौँ । एनआरएनए जर्मनीको अध्यक्ष पदमा निनाम्मा राईको उम्मेदवारी दिनु भएको छ ।  गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय समिति जर्मनीकी उपाध्यक्ष राईले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेसँगै ऐतिहासिक रूपमा महिला नेतृत्व पाउने उत्साह र  माहौल बन्दै गएको बताइएको छ  । 

जर्मनीमा बस्दै आउनु भएकी राई लामो समयदेखि त्यहाँ रहेका नेपालीको सुख दुःखको नजिकको साथी बन्न सफल हुँदै आउनु भएको छ ।  बहु आयामिक व्यक्तित्व राई बलियो दाबेदार रहनु भएको छ ।  जर्मनीमा उनले कुनै पनि दल, गुट, उपगुट तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर समाजलाई रचनात्मक ढङ्गबाट एकजुट गराउँदै आउनु भएको छ । उहाँले नेपालको कला, संस्कृति र प्राकृतिक अनुपमतालाई जर्मनीमाझ प्रचार प्रसार गर्दै नेपाली भाषा, संस्कृति र मौलिक परम्परालाई पुस्ता हस्तान्तरण गर्ने कार्यको महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहनु भएको छ । 

उहाँ नेपाली समुदायका अग्रज अभिभावकहरूका विज्ञता तथा अनुभवहरूलाई अहिलेका ऊर्जावान् तथा सृजनशील युवाहरूको बौद्धिक र व्यावसायिक सफलताका लागि उत्प्रेरकको रूपमा जर्मनीको नेपाली समाजमा परिचित हुनुहुन्छ ।   राणा शासन हटाऊ अभियानका सक्रिय अभियन्ता राजनीतिज्ञ जननायक रामप्रसाद राईकी नातिनी निनाम्मा राईको पारिवारिक पृष्ठभूमि नै सुशासन, लोकतन्त्र तथा गणतन्त्र प्राप्तिका साथै मुलुकको परिवर्तनका लागि निरन्तर सङ्घर्ष र निस्स्वार्थ सेवा गर्नु रहँदै आएको छ । आमा शिवकुमारी राईको कोखबाट सन् १९७१ मा भोजपुरको बासिखोरा, सान्दिलुङ हालको रामप्रसाद राई गाउँपालिका–७ मा जन्मिएकी निनाम्मा राईका बुवा स्वर्गीय नेत्रप्रसाद राई हुनुहुन्छ ।

काठमाडौँको पिपुल्स क्याम्पसबाट स्नातक तह उत्तीर्ण राई सन् १९९२ देखि जर्मनमा बसोबास गर्न थाल्नु भएको हो ।  सन् २००९ बाट एलसीसी सदस्य बनेर विधिवत् एनआरएनए अभियानमा जोडिनु भएको हो ।  राई एनसीसी महिला संयोजक, कोषाध्यक्ष हुँदै हाल उपाध्यक्षको जिम्मेवारी हुनुहुन्छ । त्यसो त उहाँ, नेपाल तथा जर्मनीका विभिन्न सङ्घसंस्थामा आबद्ध रही समाजसेवा कार्यमा पनि सरिक हुँदै आउनु भएको छ  । 


करिब तीन दशकदेखि जर्मन बसिरहनु भएकी  राईले एनआरएनए अभियानमा उल्लेखनीय भूमिका खेल्ने व्यक्तिमा पर्नु हुन्छ। सक्रियता, नेपाली समाजप्रतिको उहाँको लगाव अनि भावी पुस्ताप्रतिको उत्तरदायित्व बोधका कारण सुसंस्कृत र एकीकृत समाज अनि मातृभूमिको सेवाका लागि रचनात्मक कार्य योजनाका साथ आगामी कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवारी दिएको बताउनु भएको छ । 

हालसम्मका जर्मन बसाइका क्रममा एउटा नेपालीको नाताले भोगेका अनुभवहरू र देखेका समस्या अनि समाधानका सम्भावनाहरूलाई संस्थागत रुपमा सम्बोधन गर्दै, जर्मनभरि रहेका हरेक नेपालीहरूमा एनआरएनए संस्थाप्रति अपनत्वको भावना जगाउँदै यो संस्थामा सक्रिय सहभागिता जनाउन उत्प्रेरित गर्ने किसिमका अल्पकालीन मध्यकालीन र दीर्घकालीन कार्यक्रमहरू उहाँले  अगाडि सार्नु भएको छ । 

चाहे त्यो आकस्मिक घटनाहरूलाई तुरुन्तै सम्बोधन गर्ने आकस्मिक सेवा कोष होस् या अनलाइनको माध्यमबाट नेपाली भाषा पढाउन, जर्मनीमा नेपाली कला, संस्कृति तथा प्राकृतिक अनुपमताको प्रवर्द्धन गर्न उहाँ लागि परिरहनु भएको छ ।  जर्मनीमा पढ्दा, काम गर्दा, व्यवसाय सञ्चालन गर्दा वा हिँड्दा अपनाउनुपर्ने सावधानीहरू, कानुनी व्यवस्थाहरू, नेपाल दूतावासले उपलब्ध गराउने सेवाहरूसहित, कसैलाई तुरुन्तै कुनै कुराको जानकारी गराउन डिजिटल एनआरएनको अवधारणा होस्, उहाँका हरेक कार्य योजनाहरू पृथक् र जनमुखी रहँदै आएका छन् । 

नेपाल सेन्टरको स्थापनाको पहल, मातृभूमि परोपकार अभियान, जर्मन सरकार तथा संस्थाहरूसँग सम्बन्ध विस्तार, जर्मनीमा रहेका नेपाली विज्ञहरूको समूह बनाई नेपालको राष्ट्रिय नीति तथा कार्यक्रमका लागि सुझाव प्रतिवेदन तयार गरी नेपाल सरकारलाई हस्तान्तरण, वार्षिक रुपमा बालबालिका तथा अग्रज भेला, एक संस्था एक चाड–पर्व लगायतका कार्यक्रमहरूका पनि उहाँको सक्रियता रहँदै आएको छ ।

त्यसो त, जर्मनीको यो पटकको एनआरएन–एनसीसीको चुनावमा अध्यक्षका आकाङ्क्षीहरू अरु पनि नदेखिएका होइनन् । तर, एनआरएन अभियानमा सक्रियता, अनुभव नेपाल र जर्मनीवासी नेपाली समाजप्रति इमानदारितापूर्वक समर्पित भएकी उहाँ जनमुखी कार्य योजनाहरूका कारण अध्यक्ष पदका दाबेदारहरूमध्ये प्रभावशाली उम्मेदवार रहेको बताइएको छ ।