'गद्दार' घोषणादेखि 'आममाफी'सम्म: एकताको प्रयास कि 'अपराधी' करार ?

लोकसंवाद टिप्पणी

'गद्दार' घोषणादेखि 'आममाफी'सम्म: एकताको प्रयास कि 'अपराधी' करार ?

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ८, २०७८

काठमाडौँ । नेपालका कम्युनिस्ट पार्टीभित्र आफ्नै नेतामाथि प्रयोग हुने ‘बिम्ब’ हरू कहिलेकाहीँ आफ्नै लागि भारी बन्दै आएका अनेकौँ दृष्टान्तहरु छन् । पार्टी विभाजन वा क्षणिक स्वार्थ नमिलेका आधारमा आवेशमा आएर हतारोमा  यस्ता शब्दहरू प्रयोग गर्ने र फुर्सदमा पछुताउने नेपाली कम्युनिस्ट नेताको पुरानै शैली नै हो । मसालका महामन्त्री मोहनविक्रम सिंहले ‘गद्दार पुष्पलाल’ पुस्तक नै लेखे र केही समयपछि त्यसलाई सच्याउन बाध्य भएका थिए । 

२०६४ को संविधानसभामा सबैभन्दा ठुलो दल बनेको तत्कालीन एकीकृत नेकपा (माओवादी) २०६९ सालमा विभाजित भयो । विभाजन लगत्तै वसन्तपुरमा आयोजना गरेको मजदुर दिवसको कार्यक्रममा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा लागेका रामबहादुर थापाले प्रचण्डलाई ‘लाल गद्दार’ भएको आरोप लगाए । तर २०७३ मा प्रचण्डसँगै एकताका लागि बादलले वैद्यको पार्टी विभाजित गरे । २०७१ सालमा मोहन वैद्यको पार्टीबाटै अलग भएका नेत्रविक्रम चन्द विप्लवले माओवादी आन्दोलनका शीर्ष नेताहरूलाई आरोपित गरेर ‘महापतन’ नामको किताब नै लेखे । यी केही उदाहरण मात्रै हुन् । कम्युनिस्ट पार्टीमा सानो विवाद हुने वित्तिकै सिद्धान्तको लेपन लगाएर आफूलाई महान् क्रान्तिकारी, इमानदार अरु सबै बिग्रिएका, गद्दार, बाटो बिराएको लगाउनका आरोप लगाउने र केही समयपछि तिनै व्यक्तिसँग सहकार्य गर्दै नेता र नेतृत्व स्वीकार गर्ने परम्परा बस्दै आएका छ ।

यति बेला यो दोहोरी नेकपा एमालेमा देखिएको छ । केपी शर्मा ओलीले नैतिकतालाई बन्धकीमै राखेर भए पनि प्रधानमन्त्री बन्ने संविधानका सबै विकल्प प्रयोग गरे । तर अन्ततः आफू अप्ठ्यारोमा पर्ने भएपछि प्रतिनिधिसभा नै विघटन गर्दा पनि सर्वोच्चले पुनर्स्थापना गरेर विपक्षी नेतालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दियो । संसद् र सरकारलाई आफ्नो मनोमानी ढङ्गले चलाउन खोज्दा पनि पद नजोगिएपछि केपी शर्मा ओली ३० असारमा बालुवाटारबाट दलबलसहित बालकोट फर्किन बाध्य भए ।

ओलीले माधवकुमार नेपाल र उनको समूह पार्टीबाट बाहिरिए केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएका छन् । माधव नेपालले गरेको 'गद्दारी' गिनिजबुकमै लेखिनेछ भन्ने टिप्पणी गर्दै उनले आफ्नो नेतृत्वको सरकार ढाल्न अगुवाइ गरेर नेता नेपाललाई 'गद्दार'र 'अपराधी'  करार गर्न भरमग्दुर प्रयत्न गरिरहेका छन् । 

 बालकोटको बार्दलीमा उभिएर ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई ‘गद्दार’ भन्दै पार्टीमा कुनै ठाउँ नरहेको बताए केही हजार कार्यकर्ता माझमा ताली र हाइहाइ बटुले ।  केपी ओलीका एकपछि अर्को गर्दै घृणा फैसलाउने शब्द प्रयोग र ओली पक्षीय कार्यकर्ताको उच्छृङ्खल व्यवहारका कारण एमालेको एकता सङ्कटमा परिरहेको छ । दोस्रो तहका नेताहरू मिलाउन कोसिस गर्ने तर माथिल्लो स्तरका नेता र ओली पक्षका तल्लो तहका कार्यकर्ताको क्रियाकलापले एमालेभित्रको एकता प्रयास नै सकसपूर्ण बनेको छ । ओली त्यतिमा मात्रै रोकिएनन् उनले माधवकुमार नेपाल कुनै 'लाज सरम नभएको व्यक्ति'जस्ता निम्न स्तरका शब्द त दर्जनौँ पटक प्रयोग गरेका छन् ।

यो अभिव्यक्ति माधव नेपाल साँच्चै त्यस्तो भएर होइन । ओलीको सत्ताले कमाएका बदनाम र पार्टीको विवादमा प्रतिनिधिसभा विघटन गर्ने, पार्टी र सरकारमा एकलौटी गर्नेजस्ता कार्यमा साथ नदिएकोमा माधव नेपालमाथि ओली खनिँदै आएका छन्  ।  वास्तवमा ओली करिब दुई तिहाइ बहुमतको प्रधानमन्त्रीदेखि आफ्नै पार्टी र आफ्नै गुटले समेत नपत्याउने अवस्थासम्म पुगेर सत्ताबाट बाहिरिएका छन् । तर उनको बोलीमा अझै पनि फरकपना र पार्टीमा आफ्ना क्रियाकलापले निम्त्याएको सङ्कटबारे जानकार हुँदा हुँदै बुझ पचाइरहेका छन् । 

गत बुधबारको केन्द्रीय कमिटीमा माधवकुमार नेपाललाई माउसुलीको पुच्छरको संज्ञा दिन पुगे । पुच्छर झरेर गए पनि केही फरक नपर्ने र केही समयमा नै पुनः पुच्छर पलाउँछ भन्ने अर्थमा ओलीले माधवकुमार नेपाल र उनको समूह पार्टीबाट बाहिरिए केही फरक पर्दैन भन्ने अभिव्यक्ति दिएका छन् । माधव नेपालले गरेको 'गद्दारी' गिनिजबुकमै लेखिनेछ भन्ने टिप्पणी गर्दै उनले आफ्नो नेतृत्वको सरकार ढाल्न अगुवाइ गरेर नेता नेपाललाई 'गद्दार'र 'अपराधी'  करार गर्न भरमग्दुर प्रयत्न गरिरहेका छन् । 

प्रतिनिधिसभामा २७ वैशाखमा विश्वासको मत नपाएका केपी शर्मा ओलीले राजीनामा नदिएर र संसदीय दलको नेता परिवर्तन समेत नगरेर फेरि संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री नियुक्त भए । तर सो अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भए पनि त्यसो नगरेर ओली संविधानको धारा ७६ (५) तिर लम्किए । पहिलो पटक विश्वासको मत नपाएको र दोस्रो पटक विश्वासको मत नै पाउने सम्भावना नरहेको घोषणा गरेका ओलीले जेठ ७ गते आफूसँग बहुमत रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरे ।

तर त्यस बेला नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए । जसमा माधव नेपालसहित एमालेका २६ सांसदको समर्थन थियो । तर राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री नियुक्त नगरी संसद् विघटन गरेपछि पुनः २८ असारमा सर्वोच्चले दोस्रो पटक संसद् पुनर्स्थापना गरेको छ । त्यसपछि माधव नेपाल सहित एमालेका २२ सांसदले देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि ओली झनै आक्रोशित बनेका हुन् ।

ओली प्रतिनिधिसभाबाट सरकार बन्नै नसक्ने अवस्था रहेको प्रमाणित गर्न चाहन्थे । तर माधवकुमार नेपालसहित एमालेका २२ सांसद र जसपाको महन्थ ठाकुर पक्ष पनि देउवाको पक्षमा उभिएपछि ओलीको दाबी गलत सावित भएको छ। राष्ट्रपतिले ७ जेठमा देउवाले विश्वासको मत प्राप्त गर्ने आधार देखेकी थिइनन् । तर ३ साउनमा विश्वासको मत लिँदा दाबी गरेको भन्दा बढी १६५ सांसदको समर्थन पाए । यसबाट राष्ट्रपतिको निर्णय पनि गलत थियो भन्ने पुष्टि भइसकेको छ । त्यसबाट विक्षिप्त बनेका केपी ओली घरी 'गद्दार' घोषणा गर्छन् त घरी 'दोस्रो अध्यक्ष' दिन तयार रहेको र 'आम माफी' दिएर एक भएर जान चाहेको बताइरहेका छन् । यसले ओलीका अभिव्यक्तिको विशृङ्खलतालाई प्रस्ट्याउँछ ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसमा बोल्दै ओलीले भने, ‘आज पुष्पलाललाई सम्झिएर म भन्न चाहन्छु यस पार्टीको, यस आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्र्यान्टेड (आममाफी दिइयो) ।’

अर्को कुरा पार्टीभित्र समानान्तर गतिविधि चलिरहेका बेला 'आममाफी' दिने जस्तो कुरा गरेर पार्टी एकताको सम्भावना बन्न सक्दैन । किनकि पार्टी भनेको विचार, सिद्धान्त र कार्यक्रममा एकरूपता ल्याउँदै अघि बढ्ने ठाउँ हो । 'आममाफी' भनेको त अपराध करार गर्नु हो । अपराधीलाई आम माफी दिएको जस्तो अभिव्यक्तिले माधव नेपाल एकताका लागि तयार हुने अवस्था नहुन सक्छ। 

त्यसो त नेता नेपालले बिहीबार नै पुष्पलाल स्मृति दिवसको कार्यक्रममा कोही पनि पार्टीमा अपमान सहेर नबस्ने भन्दै ओली र उनको समूहका अभिव्यक्ति नसच्चिए पार्टी विभाजनमै जाने सङ्केत गरेका छन् । उनले भने, ‘अपमान सहेर कोही पनि बस्दैन। गलत, सबै खालका कुकर्महरू हुँदाहुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन ।’

बिहीबार प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि अनुशासन उल्लङ्घन गरेको भन्दै ओलीले सोधेको स्पष्टीकरणको जवाफमा नेपालले विश्वासको मत नपाएपछि राजीनामा नदिई, पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधान अन्तर्गत आफै प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकता विपरीत भएको उल्लेख गरेका छन् ।

२३ फागुनको सर्वोच्चको फैसलापछि पार्टीभित्र एकता कायम गर्नुको साटो माधव नेपाल पक्षलाई पेलेरै ठिक पारिन्छ भन्ने ओलीको सोचाइका कारण एमाले दुर्घटना नजिक पुगेको छ। वरिष्ठ नेताहरूलाई पटक पटक स्पष्टीकरण सोध्ने र अपमानित गर्ने कामले एमालेभित्र झनै तिक्तता जन्माइरहेको छ । ओलीले पटक पटक नेपालसहितका नेतालाई ‘बाटो बिराएका’ हरू भन्ने शब्द प्रयोग गरिरहेका छन् । नेपाल पक्षको बुझाइ भने ओलीले बाटो बिराउँदा समस्या सिर्जना भएकोतिर केन्द्रित छ । त्यसैले एमालेभित्र खास बाटो बिराएको कसले हो र समाधान के हुनसक्छ भन्ने विषयमा भने अझै पनि टुङ्गोमा पुगेको देखिँदैन ।