३२औँ टोकियो ओलम्पिक आजदेखि सुरु, ४ खेलमा ५ जना नेपाली भिड्दै

३२औँ टोकियो ओलम्पिक आजदेखि सुरु, ४ खेलमा ५ जना नेपाली भिड्दै

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ८, २०७८

३२औँ गृष्मकालीन ओलम्पिक खेलकुद आजदेखि जापानमा सुरु हुँदै छ । केही खेलको प्रतिस्पर्धा गत बुधबारबाटै सुरु भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन आज हुन लागेको हो ।

राजधानी टोकियोको ओलम्पिक स्टेडियममा विशेष समारोहबीच नेपाली समयअनुसार अपराह्न ४:४५ बजे टोकियो ओलम्पिक सुरु हुनेछ ।

विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकमा भाग लिन नेपालसहित विभिन्न देशका खेलाडी, प्रशिक्षक र अधिकारीहरू टोकियो पुगिसकेका छन् । टोकियो ओलम्पिकको उद्घाटन सत्रको मार्च पासमा पौडी खेलाडी गौरिका सिंह र एलेक्स शाहले नेपालको झण्डा बोक्नेछन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ जना खेलाडीले प्रतिस्पर्धा गर्दै छन् । २४ साउनसम्म संचालन हुने ओलम्पिकमा नेपाललले एथ्लेटिक्स, सुटिङ, जुडो र पौडी खेलमा सहभागिता जनाउनेछ । भोलि शनिबार जुडो खेलमा नेपालकी सोनिया भट्टले रसियाकी खेलाडी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्नेछन् । हिजो सार्वजनिक भएको खेल तालिकाअनुसार सोनियाले प्रारम्भिक चरणमा इरिनासँग खेल्ने पक्का भएको हो ।

उनले ४८ किलो तौल समूहमा इरिनाको सामना गर्नेछन् । सोनिया विश्व वरीयतामा १२७औँ स्थानमा छन् भने इरिना विश्व वरीयतामा नवौँ स्थानमा छन् । पदकको टुंगो पनि भोलि नै लाग्नेछ ।

सोनिया वाइल्डकार्डमार्फत ओलम्पिक खेलमा छनोट भएकी हुन् । अन्तर्राष्ट्रिय जुडो महासङ्घले वरीयताका आधारमा सोनियालाई ओलम्पिकमा मौका दिएको हो  । उनले नेपालमा आयोजना भएको तेह्रौँ दक्षिण एसियाली खेलकुदमा कास्य पदक हात पारेकी थिइन् । उनले महिला ४८ किलोमुनि तौल समूहमा नेपाललाई कास्य पदक दिलाइकी थिइन् ।

यसैगरी एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार अनि पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । एथ्लेटिक्सतर्फ नेपालकी सरस्वतीले प्रतिस्पर्धा गर्दै छन् । उनले १०० मिटर दौडमा प्रतिस्पर्धा गर्न लागेकी हुन् । 

छोटो दूरीका धाविका सरस्वती युनिभर्सालिटी कोटामा ओलम्पिक खेल्न पुगेकी छन् । उनी १५ साउनमा मैदानमा उत्रनेछन् । सुटिङमा कल्पना परियार छन् । उनले महिला १० मिटर एयर राइफलमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् । उनी वाइल्डकार्ड प्राप्त गरेर टोकियो ओलम्पिकमा भाग लिन लागेकी हुन् । उनको खेल पनि भोलि हुनेछ । उनले छनोट चरण पार गरे अन्तिम चरणको खेल पनि भोलि साँझ नै हुनेछ ।

पौडीमा नेपालबाट एलेक्स शाहले र गौरिका सिंहले सहभागिता जनाउँदै छन् । दुवै खेलाडी युनिभर्सालिटी कोटा (विश्वव्यापी सहभागिता)बाट ओलम्पिकमा पुगेका हुन् ।

नेपाली पौडी खेलाडी एलेक्सले पुरुष सय मिटर फ्रिस्टाइलमा नेपालको प्रतिनिधित्व गर्नेछन् । उनले १२ साउनमा पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । एलेक्सले हिट चरण पार गर्न सकेमा १३ साउनमा अर्को खेल तथा त्यसमा पनि सफल भएको अवस्थामा फाइनल चरण १४ साउनमा प्रतिस्पर्धा गर्नेछन् ।

त्यस्तै, गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा चुनौती प्रस्तुत गर्नेछन् । उनले अघिल्लो संस्करणको ओलम्पिक खेलमा सबैभन्दा कम उमेरकी खेलाडी बनेर चर्चा कमाएकी थिइन् । गौरीकाले यही १३ साउनमा महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको ओलम्पिक प्रतिस्पर्धा सहभागितामा सीमित बनेको छ । ओलम्पिकमा नेपालले खेलेको १४ संस्करणसम्मको खेलको इतिहासमा कुनै उपलब्धि हासिल गर्न सकेको छैन ।

नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औँ संस्करणको खेलबाट ओलम्पिक यात्रा सुरु गरेको थियो । हालसम्म नेपालका ८५ जना खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् । तर, कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् । यद्यपि, नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गिना वैद्यले भने ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका छन् ।

ओलम्पिकमा नेपालबाट हालसम्म ८ वटा खेलमा प्रतिनिधित्व भएको छ । एथ्लेटिक्स, बक्सिङ, पौडी, तेक्वान्दो, भारोत्तोलन, सुटिङ, जुडो र आर्चरी खेलबाट नेपालले प्रतिनिधित्व गरेको हो । त्यसमध्ये ओलम्पिक यात्रा सुरु गरेयता एथ्लेटिक्स खेलको सहभागिता भने हालसम्म टुटेको छैन ।