कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न मानेन चीनले

कोरोना उत्पत्तिबारे अनुसन्धान गर्न मानेन चीनले

एजेन्सी  |  स्वास्थ्य  |  श्रावण ८, २०७८

कोरोना भाइरसको उत्पत्तिका विषयमा अनुसन्धान गर्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नयाँ योजना चीनले अस्वीकार गरेको छ ।

डब्ल्यूएचओले चीनको प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको हुन सक्ने सम्भावनालाई खुला राखेर अध्ययनको योजना बनाएको थियो । डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस अदानोम गेब्रियेससले महामारीको सुरुवाती चरणको जाँचलाई लिएर शर्तसहितको थप सहयोगको प्रस्ताव गरेका थिए । 

यसअघि उनले चीनबाट कोरोना भाइरसको सुरुवाती संक्रमण बारे तथ्यांक नपाउँदा अध्ययन प्रभावित भएको बताएका थिए । चीनले गोपनीयतालाई ध्यानमा राखी केही तथ्यांक पूरै साझा गर्न नमिल्ने बताउने गरेको छ । 

चीनका स्वास्थ्य उपमन्त्री जेङ यिक्सिनले डब्ल्यूएचओको प्रस्ताव पूरै राजनीतिक भन्दै थप अनुसन्धान गर्ने योजना अस्वीकार गरेको बताए । गत जनवरीमा डब्लूएचओले पहिलो पटक कोरोना भाइरस पत्ता लागेको वुहानमा विशेषज्ञको एक टोली पठाएको थियो । टोलीले प्रयोगशालाबाट कोरोना भाइरस चुहावट भएको आशंका निकै कम रहेको निष्कर्ष निकालेको थियो ।