ओली-नेपाल गलफत्तीः ‘छाड्दा पनि छाड्दिनँ, मिल्दा पनि मिल्दिनँ’

ओली-नेपाल गलफत्तीः ‘छाड्दा पनि छाड्दिनँ, मिल्दा पनि मिल्दिनँ’

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  श्रावण ८, २०७८

राजनीति जब सिद्धान्त, निष्ठा र नैतिकताभन्दा बाहिर जान्छ, तब देश र जनताले अकल्पनीय दुःख व्यहोर्नुपर्छ । मुलुकको समग्र प्रणालीलाई राजनीतिले नै निर्दिष्ट गरेको हुन्छ । यसर्थ पनि कुनै पनि मुलुकको राजनीतिक प्रणाली, नेतृत्वका व्यवहार र आचरण । राजनीतिक दलहरूको कर्तव्यपरायणता आदिलाई हेरेर उक्त मुलुकको समग्र अवस्था आँकलन गर्न सकिन्छ ।

नेपाली राजनीतिमा धेरै कुरा छ तर त्यही सिद्धान्त, निष्ठा र नैतिकताको मात्र अभाव छ । राजनीतिमा नैतिकता, निष्ठा र सिद्धान्तको प्रश्न अहं हुन्छ । राजनीतिक नेतृत्वको सोच, व्यवहार र कार्यशैलीलाई निश्चित र निर्दिष्ट गर्ने कुरा पनि यिनै हुन् ।

मूलतः २००७ सालको राजनीतिक परिवर्तनपछि नेपालीमा जागेको राजनीतिक चेतना अनि अधिकार र स्वतन्त्रताका प्रश्नहरूले जन्माएको खुला राजनीतिक वातावरण, जसलाई हामीले प्रजातन्त्र वा लोकतन्त्रको नाम दिएका छौँ, यो अर्थात् लोकतन्त्र बीचमा पटक पटक किन धरापमा पर्‍यो ? यसको एउटै कारण छ र त्यो हो, राजनीतिमा इमान भएन, निष्ठा भएन, राजनीतिक नेतृत्वमा नैतिकता र भरोसा भएन ।

यदि यी तत्त्व नेपाली राजनीति र राजनीतिक नेतृत्वमा रहन्थे भने २०१७, २०३६, २०४६, २०६१ आउने थिएनन् । र, नेपाल र नेपालीले पटक पटक आन्दोलन, सशस्त्र युद्ध अनि हत्या र हिंसाका अत्यन्त पीडादायी दिनहरू भोग्नुपर्ने थिएन ।

हुनत विगत र वर्तमानका कतिपय नेताहरू देश र जनताकै लागि भनेर वर्षौं जेलनेल भोगेर, हत्केलामा जीवन राखेर भूमिगत संघर्ष गरेर आएका छन् । तर, जब उनीहरू जेलबाट बाहिर आए, भूमिगत जीवनबाट बाहिर आए, तब उनीहरूमा रहेको विगतको अडान, आदर्श, सोच र व्यवहार पूरै बदलियो । अझ जब उनीहरू सत्तामा पुगे, विगतका सबै कुराहरू, बाचा र कसमहरू भुले । आलिसान महल, बंगला, सुविधा सम्पन्न जीवनशैली उनीहरूको सोख बन्यो ।

यसका निम्ति भ्रष्टाचार र अनियमितता अनिवार्य थियो । उनीहरू क्रमशः त्यता फस्दै गए र अन्ततः हिजोका ‘हिरो’हरू स्खलित हुँदैहुँदै ‘जिरो’मा पुग्दै छन् ।

यी सन्दर्भ पृष्ठभूमिका लागि मात्र ।

यहाँ चर्चा गर्न खोजिएको चाहिँ लामो इतिहास बोकेको नेपाली कम्युनिस्ट आन्दोलनको एउटा सशक्त हाँगो नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको पछिल्लो रडाकोको हो ।

राजनीतिक दल ठूलो होस् वा सानो, त्यो जनताको संस्था हो । पटक पटक जनअनुमोदित भएको र धेरै पटक सत्ताको नेतृत्व गरेको राजनीतिक दलको अर्थ र महत्त्व उसै पनि रहन्छ मुलुकका लागि । नेकपा एमाले अर्को ठूलो दल नेपाली कांग्रेसकै उमेरको हो । जहानियाँ राणा शासनको अन्त्यका निमित्त लडेका यी दलहरूले आजसम्म जनविश्वास पाएका छन् । अनेक नामका ‘वैकल्पिक’ शक्ति भनेर आएका धेरै दलहरू एमाले-कांग्रेसको छेउसम्म पनि आउन सकेका छैनन् ।

यसको मतलब हो- आमजनले अझै पनि एमाले-कांग्रेसमा भरोसा राखेका छन्। विश्वास गरेका छन् ।

अन्ततः माधव नेपालले पनि केपी ओलीसँग ‘ज्यान फालेरै’ बदला लिए । छँदाखाँदाको शक्तिशाली बहुमतको आफ्नै पार्टीको सरकार ढालिदिए, त्यो पनि प्रतिपक्ष नेतालाई प्रधानमन्त्री बनाएर । फोहोरी राजनीतिका उदाहरण बने पछिल्ला माधव नेपाल र केपी ओलीका क्रियाकलाप

तर, यिनको विगत र वर्तमान साह्रै टिठलाग्दो छ । यिनका कार्यशैली, व्यवहार, आपसी खिचातानी, तल्लो स्तरका अव्यावहारिक टकराव आदिले गर्दा निकै ठूला र महत्त्वपूर्ण अवसरसमेत यिनले गुमाएका छन् र देशलाई पटक पटक भड्खालोमा जाकेका छन् । यसको उदाहरण २०१५ सालपछिको दुई तिहाइको सरकार राजा महेन्द्रलाई बुझाउने कांग्रेस, २०४८ सालपछिको एकमना प्रस्ट बहुमतको सरकार ३ वर्षमै आफ्नै कारण गिराउने कांग्रेस, २०५९ सालमा किस्तीमा राखेर प्रजातन्त्र दरबारमा बुझाउने कांग्रेस (वर्तमान पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा), २०५६ सालको आमनिर्वाचनमा बहुमत ल्याउने लगभग पक्का भएका बेला पार्टी विभाजन गर्ने एमाले, अहिले दुई तिहाइको कम्युनिस्ट सरकार आपसी खिचातानीकै कारण गुमाउने एमालेलाई लिन सकिन्छ ।

यी सब कुनै सैद्धान्तिक लडाइँका दुष्परिणाम थिएनन्, यी पार्टीका नेतृत्वबीचका दम्भ, अहंकार र जुँगाको लडाइँका परिणाम थिए । र, यो क्रम अझै जारी छ ।

अब जाऔँ एमालेको लफडामा ।

एमालेभित्रको लफडा खासमा २०५० सालमा तत्कालीन महासचिव मदन भण्डारीको निधनसँगै सुरु भएको देखिन्छ । त्यसको झण्डै ३ वर्षअघि मात्र तत्कालीन २ वटा कम्युनिस्ट घटक माक्र्सवादी र माक्र्सवादी-लेनिनवादी मिलेर एमाले बनेको हो । माक्र्सवादी र मालेबाट आएका नेताबीच केही सैद्धान्तिक र कार्यगत भिन्नता हुनु अस्वाभाविक थिएन । तर, एमालेको पाँचौँ महाधिवेशनमा महासचिव मदन भण्डारीले पार्टीको एउटै साझा कार्यदिशाका रूपमा ‘जनताको बहुदलीय जनवाद’को दस्तावेजलाई पारित गराएपछि कम्तीमा ‘पुँजीवादी कम्युनिस्टको गीता’कै रूपमा भए पनि ‘जबज’ करिब ३० वर्ष अर्थात् आजका मितिसम्म एमालेको राम्रै ‘हतियार’ बनेको छ ।

यही जबजको हतियार बोकेर जनतामा गएको एमालेलाई मदनपछि माधवकुमार नेपालले हाँके । करिब १५ वर्षसम्म एकछत्र एमाले सत्ताको कमान सम्हालेका माधव नेपालले जनस्तरमा पार्टी संगठन र संसदमा कहिले सत्तापक्ष अनि कहिले प्रतिपक्षको भूमिकालाई साह्रै कमजोर बन्न पनि दिएनन् । यद्यपि, माधव नेपालको ‘जन्मजात’ समस्या रहेछ- रिस उठेकालाई सदैव लखेट्ने । हो, यही ‘गोमन सर्प स्वभाव’का कारण माधव नेपालले आफू पार्टी नेतृत्वमा रहँदा पार्टीभित्रकै अर्को खेमा वर्तमान अध्यक्ष केपी ओलीलगायतलाई ढिम्किन दिएनन् ।

त्यो १५ वर्ष पार्टी सत्ताबाट बहिष्कृत र बञ्चितिमा परेका केपी ओलीहरू माधव नेपाललाई ‘नियति’ देखाइदिने दाउमा पक्कै थिए ।

त्यो अवसर ओलीलाई पार्टीको दशौँ महाधिवेशनपछि पटक पटक प्राप्त भयो- पार्टीमा पनि र सरकारमा पनि ।

तब, ओली, जो ‘हान्ने साँढे’ जस्ता छन् अथवा अगाडिबाटै लखेटीलखेटी विरोधीको ‘हत्या’ गर्न तयार हुन्छन्, उनले माधवले १५ वर्ष दिएको ‘पीडा’को बदला नलिने कुरै भएन ।

हो, त्यही देखिएको हो एमालेको पछिल्लो किचलो, लफडा र राइफाँडोमा ।

अन्ततः माधव नेपालले पनि केपी ओलीसँग ‘ज्यान फालेरै’ बदला लिए । छँदाखाँदाको शक्तिशाली बहुमतको आफ्नै पार्टीको सरकार ढालिदिए, त्यो पनि प्रतिपक्ष नेतालाई प्रधानमन्त्री बनाएर । फोहोरी राजनीतिका उदाहरण बने पछिल्ला माधव नेपाल र केपी ओलीका क्रियाकलाप । एकले अर्कालाई ‘सिध्याउने’ रणनीतिमा अन्ततः दुवै पक्ष सिद्धिने अवस्था आयो । एकले अर्कालाई कारबाही गर्ने, प्रस्टीकरण सोध्ने क्रम जारी रह्यो । ‘तँ वीर कि म वीर’को लडाइँमा दुवै पक्ष ‘वीर’ होइन, ‘विर’ भएर सकिने अवस्था सिर्जना हुन थाल्यो ।

सत्ताबाट झरेपछि ‘अरिङ्गाल’ र ‘छोराछोरी’को तामझामसहितको बालकोट भित्र्याइमा मख्ख परेका ओलीले घरको बार्दलीबाट कड्किँदै भने, ‘माधव नेपाल गद्दार हुन्, उनलाई एमालेमा स्थान छैन ।’

अरिङ्गाल र छोराछोरीले पररर ताली पड्काए । ‘बा’को जयजयकार गरे ।

केही दिनभित्रै पुनः शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन विश्वासको मत हाल्ने एमालेबाट चुनाव जितेर सांसद बनेकाहरूलाई २४ घन्टे स्पष्टीकरण सोधे, ‘आफ्नो पार्टीका अध्यक्षको हुँदाखाँदाको प्रधानमन्त्रीको कुर्सी भाँचेर अर्को पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने तिमीहरू ‘गतिछाडा’लाई कारबाही किन नगर्ने ?’

स्पष्टीकरण सोधेको २४ घन्टा नबित्दै फेरि ओलीले भने, ‘माधव नेपालहरू हो, अब आऊ, सँगै बसेर फेरि केही समयपछि मारमुङ्ग्री गरौँला । अहिलेलाई तिमीहरूलाई सात खत माफी भयो ।’

पछिल्लो ‘माफी’ काण्डले प्रश्न उब्जायो- ‘एमालेमा गल्ती गरेको माधव नेपालहरूले मात्र हो कि ओलीहरूले पनि हो ?’

अनि माधवहरूलाई ‘माफी’ दिनुपर्ने गरीको अपराध नै माधवहरूले गरेका थिए त ? अथवा उक्त ‘अपराध’ गर्न प्रेरित गर्नमा ओलीको भूमिका छैन होला ? वा माधवहरूलाई माफी दिने हैसियत ओलीले राख्छन् ? अथवा राजनीतिक संस्थामा राज्यले अपराधीलाई माफी दिए जसरी माफी दिइरहनुपर्ने पनि हुन्छ ?

यी र यस्ता प्रश्नकै बीचमा माधव नेपालहरूको स्पष्टीकरण आयो, ‘केपी ओलीको दम्भ र अहंकारले सबै बिगारेको हो । आफ्नै नेता र सहकर्मी अनि लामो समय पार्टीमा योगदान गरेकाहरूलाई अपमान गरेर पार्टी एक हुन सक्दैन, नेताहरूको मन एक हुन सक्दैन ।’

उसो त, अस्ति भर्खर अध्यक्ष केपी शर्मा ओलीले एउटा कार्यक्रममार्फत रावलाई सम्झाउँदै भनेका थिए, ‘रावलजीले राजीनामा दिनुभन्दा अगाडि मलाई भेटेर सल्लाह गरेका भए हुने नि, म उहाँलाई व्यवस्थापन गरिहाल्थेँ, माधवजीले नगरे पनि ।’

माधवहरूले भने, ‘हामी पार्टीभित्रै अपमानित भएर बसिरहन सक्दैनौँ ।’

बडो मजा लाग्ने दोहोरी निरन्तर छ एमालेमा, विशेषगरी केपी ओली र माधव नेपाल खेमाबीच । अर्का ‘मोहरा’ वामदेव गौतम केही समयदेखि उग्राएर बसेकाले केही खल्लो भए पनि ‘उग्र’ र ‘जण्ड’को परिचय बनाएका भीम रावलले भने आफ्नो उपस्थिति जनाइरहेकै छन्- केही दिनअघि सांसदबाट राजीनामा दिएको नाटक गर्दै आज उक्त राजीनामा फिर्ताको घोषणा गरेर । उनका समकालीनहरू २०३९ सालदेखिका भीम रावललाई सम्झिएर भन्छन्, ‘रावल कामरेडको बच्कना ४० वर्षमा पनि सुधार भएनछ ।’

उसो त, अस्ति भर्खर अध्यक्ष केपी शर्मा ओलीले एउटा कार्यक्रममार्फत रावलाई सम्झाउँदै भनेका थिए, ‘रावलजीले राजीनामा दिनुभन्दा अगाडि मलाई भेटेर सल्लाह गरेका भए हुने नि, म उहाँलाई व्यवस्थापन गरिहाल्थेँ, माधवजीले नगरे पनि ।’

सायद यो पनि एउटा कारण हुन सक्छ रावलले राजीनामा फिर्ता गर्नुको । यता सरकारमा गृहमन्त्रीमा ‘बार्गेनिङ’ गरेर नपाएको झोँक अनि संस्थापन पक्षीय एमालेमा महासचिव नपाउने अवस्था देखेर ‘साखुल्ले’ पल्टिन राजीनामाको नौटङ्की गरेका हुन् रावलले भन्ने पनि कम छैनन् ।

जे होस्, नेकपा एमालेको पछिल्लो अवस्था अत्यन्त गञ्जागोलपूर्ण, भद्रगोल र दयनीय बनेको यथार्थ हो । एमालेका पुराना पुस्ताका नेताहरूबाट अब सुधार र परिवर्तनको अपेक्षा बेकार हो । तर, नयाँ पुस्ता भनिएकाहरूमा पनि ‘गाँड कोराकोर’ कम्ता छैन । यस्तो बेला नेकपा एमालेलाई कसरी जोगाउने भन्नेतिर पुराना र नयाँ दुवै पुस्ताले सोच्ने बेला भइसकेको छ ।

ओलीले माधव खेमालाई ‘निकाल्दा पनि निकाल्दिनँ, राख्दा पनि राख्दिनँ’ भन्ने र माधवले ओली खेमासँग ‘छाड्दा पनि छाड्दिनँ, मिल्दा पनि मिल्दिनँ’ भनेरचाहिँ न पार्टीको, न त नेतृत्वकै भविष्य रहन्छ ।