जुनू राना | साहित्य | श्रावण ९, २०७८
जीवन एउटा टालो
यताबाट खोज्छु/उताबाट खोज्छु
के भर र भेटिन्छ कि भेटिन्न !
कहिलेकाहीँ त त्यही टालो पनि
यता काट्यो अर्को छेउ छुट्छ
उता काट्यो सन्तुलन बिग्रन्छ
भेउ नै पाउदिनँ
खै ! कताबाट छुट्छ–छुट्छ
टाल्दा–टाल्दै
जिन्दगीको यो टालो !
समग्र समेटूँ भनेर
घरि तल्लो कुना सिलाउँछु
घरि ओल्लो पाटो मिलाउँछु
सिलिन्छ कि भन्ने
एउटा झिनो आसको सियोले !
सिलाउने सियो आफैँ बन्छु
तिखो नबनूँ त
कहाँ सक्थेँ र त्यो !
बन्छु तिखो सियो ।
यो जीवनको
कठिन टालो सिउनु छ
समेट्न सकूँ चारै कुना
सोचेर यही
टाल्ने हरप्रयास गर्छु
यद्यपि,
सक्दिनँ पटक्कै समेट्न
जिन्दगी र जिम्मेवारीका छरपस्ट
जीवन टालोका कुनाहरू !
तथापि,
म थाकेकी छैन
काट्कुट र जोड्जाड गर्दै
सिउँदै/फुकाउँदै/फेरि सिउँदै
जीवन टालो मिलाउन प्रयासरत छु
एउटा कैँची या भनौँ मान्छे
अथवा,
म एक सियो–मान्छे !
हङकङ