यात्रा पानीजहाजको ओस्लोदेखि कोपेनहेगनसम्मको
फर्कलान् र ती दिनहरु
श्रावण ९, २०७८

जीवनमा के कुरा कहिले अनुभव गर्नुपर्ने हुन्छ भन्ने थाहा नहुने रहेछ । तर पनि जीवन एउटा आफैँमा निरन्तर यात्रा हो ।  प्रत्येक पल नयाँ हुन्छ, प्रत्येक पल स्मरणीय हुन्छ या विस्मरणीय हुन्छ तर जीवनको स्मृतिमा त अभिलेखीकृत भएकै हुन्छ । तर, हामीलाई उही परिवेश र उही वातावरण भित्र उस्तै लागेको मात्र हो, फरक जस्तो नलागेको मात्र हो ।

दैनिकी लेख्नेहरूका लागि त्यस दिनको सबै घटना अभिलेख गर्ने बानी हुन्छ र प्रत्येक क्षणमा घटेका घटनालाई कसरी विश्लेषण गर्ने अनि व्याख्या गर्ने भन्ने पनि उत्तिकै चुनौतीपूर्ण हुन्छ । अझ ती प्रत्येक पलहरूलाई, घटनाहरूलाई चित्रमा संग्रह गर्न सके सुनमा सुगन्ध हुने रहेछ । आज पनि कतिपय त्यस्ता सम्झनाको चित्रमय अभिलेख राख्न नसकेकामा या त्यस्ता चित्रहरू सञ्चय गरेर राख्न नसकेकामा दिक्क लाग्छ तर अब ती दिनहरू, ती क्षणहरू मात्र मस्तिष्कमा धमिलो रूप लिएर बसेका हुन्छन् ।

कतिपय अनुभवहरू आज आएर व्यक्त गर्दा अरूले होइन पनि भन्न सक्ने अवस्था हुँदो रहेछ । त्यस्तो अनुभव सुनाउने मानिसहरूले आफूलाई अतीतमा बाँच्न चाहेको भनेर आलोचना खप्नुपरेको पनि हुन सक्छ तर ती अनुभवीहरूका लागि ती सम्झनाहरू इतिहासलाई ताजा गराउने आधार बनेका हुन्छन् । पहिलेपहिले राजासँग भेट भएको पहिलो पटक, प्रधानमन्त्रीसँग भेट भएको पहिलो पटक, विदेशी राष्ट्रपति या राजदूतसँग भेट भएको पहिलो पटक, विदेश भ्रमणमा गएका बेलाको भेटघाट यस्तैयस्तै पर्दा रहेछन् ।



आफूले मानेका नेताहरूसँगको कुराकानी पनि अभिलेख गर्ने भनेको तस्बीरका माध्यमबाट नै हो रहेछ तर सबै बेलामा सधैँ तस्बीर खिच्ने अवसर पनि मिल्दैन या हल्का तरिकाले फोटो खिचिरहन पनि अप्ठ्यारो मानिन्छ तर पछि त्यही यादको महत्त्व आफूलाई हुन्छ अनि किन त्यसबेलामा फोटो खिचिएनछ भनेर दिक्क लाग्छ ।

मलाई पनि त्यस्तो अहिले भएको छ । बीपीसँग फोटो खिच्न भनेर तत्कालीन अवस्थामा नेपाली कांग्रेस धनुषाका नेता वृषेशचन्द्र लालसँग सहयोग माग्दै फोटो खिच्न भनेर हामी बीपीसँगको भेटघाटपछि फोटो खिच्ने विचारमा गएका थियौँ । सायद वृषेशको त पछि पनि चाँजो परेको होला बीपीसँग फोटो खिच्न तर म र वृषेशले सान्दाजुलाई एउटा फोटोका लागि अनुरोध गरेर सान्दाजुले हुन्छ भनेकै बेलामा सायद कुनै राजनीतिज्ञ बीपीलाई भेट्न आउनुभएको रहेछ । सान्दाजुले 'एकछिन पछि है' भनेर उनको स्वागतमा आँगनको छेउमै गएर ल्याउनुभयो र आफ्नो भेटघाट कक्षतिर लैजानुभयो । हामी त त्यो दिनको बीपीका धारणा सुनेर हिँड्ने तयारीमा थियौँ । धेरैबेर भएपछि हामी पनि अर्को दिन खिचौँला न सान्दाजुसँग भन्दै हिँड्यौ तर मेरालागि त्यो अर्को दिन फेरि आएन किनभने सान्दाजु सायद त्यसको अर्को दिन क्यान्सरको परीक्षण गराउने बाहिर जानुभयो जस्तो लाग्छ ।

त्यसपछि अरू पटक भेट भए पनि फोटो नै खिचाउने गरी अवस्था मिलेन किनभने अहिलेको जस्तो स्मार्ट फोनको उपलब्धता थिएन र खिचिहाल्ने सुविधा पनि थिएन । झन् सान्दाजुको घर भनेको प्रतिबन्धित दलको अग्लो नेताको निवास थियो, जहाँ जाँदा बाटामा धेरै चियो चर्चो गरेर बस्नेहरूको भीड बाहिर देख्न पाइन्थ्यो बाटैभरि । भित्र पनि आउँथे होलान् मानिसहरूको भीडभाडको मौका पारेर । 

त्यस्ता धेरै घटना छन् र पनि अहिले लाग्छ, ती फोटाहरूले अझ पहिलेका यादहरू ताजा गराउँथे होला । अझ उनीहरूसँग कुरा गर्न पाएको अनुभवलाई लेखेर अभिलेखीकरण गरिएको भए पनि त्यसले याद त ताजा गराउँथे नै, तर ती अहिले उपलब्ध नहुन पनि सक्ने अवस्था हुने रहेछ । धेरै पटक हामीले बीपीसँग सम्बन्धित राजनीतिक कागजात, उहाँका भाषणका सामग्रीहरू बाध्यतावश नष्ट गरेका छौँ किनभने बेला मौकामा घर खानतलासी गरिन्थ्यो र माओको रेडबुक र सचित्र चीनका माओका रङ्गीन फोटा, उत्तर कोरियाका राष्ट्रपति किमइलसुङका रङ्गीन फोटा र जुछे विचारका ठेलीका ठेली पुस्तक हाम्रा विद्यालयका पुस्तकालयमा आउँथे हाम्रा सरकारी हुलाकमार्फत् र ती ग्राह्य थिए तर बीपी विचार, तरुण पत्रिका, बीपीका फोटाहरू प्रतिबन्धित सामग्री थिए, जस्तो कि नेपाली कांग्रेस पार्टी प्रतिबन्धित थियो ।

धेरै कुरा देखियो, जसमा मैले अहिले पनि सम्झने भनेको फोहोर प्रशोधन कारखाना रहेछ, जसले दिनमा करिब ५६ टन फोहोर प्रशोधन गर्दोरहेछ र त्यसबाट बिजुली, कृषि मल तयार गर्दो रहेछ ।  पुराना दरबारहरूको नजिकैबाट अवलोकन गरियो । एउटा गोल्डेन चर्च रहेछ, जसको गजुर साँच्चै सुनको रहेछ ।



कतिसम्म भने बीपीको फोटो लिएर आउँदा, तरुण पत्रिका लिएर आएका मानिसहरूलाई बसबाटै पक्राउ गरेर सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाई जेलमा राखिएका मानिसहरू अझै जिउँदै छन् । आजको परिवेश हेर्दा होइन होला जस्तो लाग्छ तर त्यो नेपाली इतिहासमा घटित सत्य अवस्था हो र त्यससम्मको निरंकुशता थियो नेपालका भन्ने सुन्दा आजका युवा, किशोरहरूलाई अचम्म लाग्दो हो । 

निरंकुश राजाहरू कतिसम्मको स्वाङ गर्दा रहेछन् रे भने, बीपीलाई जेलमा राखेर बहुदलीय संसदीय व्यवस्था नै खारेज गरेका राजा महेन्द्रले दलहरूको लासमा निर्दलीय पंचायती व्यवस्थाको सूत्रपात गरेका थिए र त्यसैलाई नयाँ दर्शनको लेपन दिएर 'पंचायती प्रजातन्त्र' भन्दै नेपाली माटो सुहाउँदो व्यवस्था अनि सम्पूर्ण अधिकार र कर्तव्य राजाबाट निःसृत हुने संविधानको व्यवस्था गरेका थिए ।


बीपीलाई जेलमा राखेका राजाले रोयल नेपाल एकेडेमीको कुनै साहित्यिक महोत्सवमा कुलपतिको हैसियतले उद्घाटन अनि अवलोकनका लागि कमलादी आएका रहेछन् । प्राय: त्यसबेलामा गणनामा परेका नेपाली साहित्यकारहरूको फोटो पनि प्रदर्शनीमा राखिएको रहेछ । राजाले यसो अवलोकन गर्दै जाँदा त्यहाँ बीपीको फोटो थिएन । त्यसबेलामा बीपीको 'दोषी चस्मा' भन्ने कथासंग्रह प्रकाशित थियो । बीपीका कथाहरू यौन मनोविज्ञानका क्षेत्रमा नेपाली कथाहरूको अग्रणी स्थानमा राखिएको थियो समालोचना गर्नेहरूले ।

भन्नेले त मानवीय चेतनाका ग्रन्थीहरूलाई केस्राकेस्रा गरेर विश्लेषण गर्न सकिने गरी बुझिने भाषामा लेखिएका नेपाली कथा भनेर एकातिर भनिएको पाइन्थ्यो भने अर्कोतिर यौनचेतलाई मानवीय स्वरूप दिएको भनेको पाइन्थ्यो । बीपी सुरुमा थोरै कथाबाट नै नेपाली समाजमा प्रख्यात हुनुभएको थियो र मनपराइएका राजनीतिक निर्भीक तथा प्रजातान्त्रिक रूपान्तरणकारी नेता मात्र नभएर साहित्यको फाँटमा पनि नयाँ चेतनाका लागि नयाँ बाटो बनाएका लेखकका रूपमा समेत परिचित हुनुभएको थियो ।

राजा महेन्द्रले जब सबै अवलोकन गरिसकेपछि आयोजकलाई सोधेछन्, 'खोइ त आजको नेपाली साहित्यका महान् साहित्यकारको फोटो ?'

आयोजकले तत्कालै बुझ्न सकेनन् र मुखामुख गरेर हात जोडेर भनेछन्, 'हामीले त सकेसम्म सबैको फोटो राखेका छौँ सरकार !'

अनि राजाले सोधेछन्, 'कथाकार बीपी कोइरालाको फोटो खोइ, छैन त ?'

त्यसबेलामा एकेडेमीका हर्ताकर्ताहरूका लागि यो प्रश्न अत्यन्त अलमल पर्ने र हिन्दीमा भन्ने हो भने 'चौँकानेवाला' प्रश्न थियो । सबैले हात जोडेर भनेछन्, 'हामीसँग उहाँको फोटो नै थिएन सरकार !'

कसले हिम्मत गर्न सक्थ्यो र राजाले सुन्दरी जेलमा राखेको राजबन्दीलाई प्रख्यात साहित्यकार, कथाकार भनेर फोटो राख्न सक्ने !

राजाले आफ्नो अंगरक्षकतिर पुलुक्क हेरेर भनेछन्, 'मेरो सिरानीमाथि झुन्ड्याएको बीपीको फोटो लिएर आउनू र यहाँ झुन्ड्याउनू ।'



हो कि होइन थाहा छैन, अहिलेसम्म पनि जुन बीपीको पुरानो करिब युवावस्थाको बीपीको फोटो एकेडेमीमा छ, त्यही फोटो हो रे ! बीबीसीका पत्रकारले सोेधेका थिए रे बेलायतको भ्रमणमा जाँदा महेन्द्रलाई, 'बीपीको रिहाइ कहिले हुन्छ ?'

राजाले भनेछन् रे, 'समय आएपछि एक मिनेट पनि राख्नेछैन जेलमा ।'

यी कुरा हामीले सुनेका थियौँ । कतिपय पञ्चायती नेताहरूले नै भनेको सुनेका थियौँ राजा महेन्द्रले भन्ने गर्थे रे, 'मैले देखाउन मिल्ने नेपाली नेता भनेको नै बीपी मात्र हो, उनको मूल्य नै छैन, अमूल्य छन्, अरूको त मसँग दरभाउ छ- को कति मूल्यको भन्ने ।'

प्रसङ्ग दरबारका कुराको आएपछि मैले सुनेको अर्को प्रसङ्ग हो- राजकुमार रवीन्द्र शाहको, जसलाई नेपाली साङ्गीतिक फाँटमा एउटा राम्रो गीतकारका रूपमा चिनिन्छ । राजा महेन्द्रका पहिला छोराको रूपमा पनि चिनिन्छ तर उनी नेपाली परम्पराअनुसार विवाहित क्षेत्रिनीपट्टिका जेठो छोरो नभएकाले गद्दीका हकदार भएका रहेनछन् । तर, राजा महेन्द्रका गुरुङ जातकी श्रीमतीबाट जन्मेका सन्तान हुन् ।

उनलाई वीरेन्द्रका दाजु भनेर सबैले चिन्थे तर नेपाली इतिहासले अझै चिनेको छैन किनभने नेपाली इतिहासका सायदै उनको नाम भेटियोस् । सुनिन्थ्यो, उनलाई राजकुमारको मान्यता दिइएको थियो, सुविधा पनि दिइएको थियो र सार्वजनिक जीवनमा उनलाई राजदरबारको एउटा नातेदारको रूपमा गणना गरिन्थ्यो रे ! एउटा कुनै राजकीय पार्टीमा उनी गएका थिए रे ! त्यहाँ इतिहासकार बालचन्द्र शर्मा पनि थिए रे ! बालचन्द्र शर्मा भनेका राजनीतिज्ञ पनि हुन्, इतिहासविद् पनि हुन् । नेपाली भाषामा लेखिएको पहिलो इतिहास लेखनमा उनको नाम आउने गर्छ ।


त्यसपछि धेरै इतिहासविद्हरूले लेखे र पछि उनको जीवन कूटनीतिक क्षेत्रमा पनि सफल रह्यो भनिन्छ । तर, यहाँ उनको र राजकुमार रवीन्द्रको वार्तालापको प्रसङ्ग सुनेको हुँ । भेलामा बालचन्द्र शर्माले कुमार रवीन्द्रलाई भेटेछन् र झुकेर दर्शन गरेछन् तर रवीन्द्रले वास्ता गरेनछन् । शर्मालाई लाग्यो- सायद कुमारले देखेनन् । अनि फेरि दर्शन गरे रे ! फेरि पनि नदेखेजस्तो गरेर नजिकै गएर भनेछन् शर्माले, 'सरकार, मलाई चिनिबक्सेन कि क्या हो ? म बालचन्द्र शर्मा रोयल नेपाल एकेडेमी' के भन्दै थिए, कुमार रवीन्द्रले सोधेछन्, 'मलाई तिमीले चिनेका छौ र ?'

तत्कालै शर्माले भनेछन्, 'सरकारलाई किन नचिन्नु र ? रवीन्द्र सरकार होइबक्सन्छ ।'

रवीन्द्रले भनेछन् रे, 'त्यसो भए तिमीले नेपालको इतिहास लेख्दा किन नलेखेको त राजा महेन्द्रका छोराहरूमा मेरो पनि नाम ? सत्य लेखेको भए हुन्थ्यो नि म गुरुङ्सेनीको छोरो हुँ तर वीरेन्द्रको दाजु हो भनेर ।'

राजा महेन्द्रका वीरेन्द्रभन्दा जेठा छोरा पनि छन् भनेर जुन हल्ला चल्थ्यो समाजमा, त्यहाँ यस्ता महत्त्वपूर्ण तर गोप्य कुराहरू पनि चुहिन्थ्यो । होला न होला तर यी हल्ला तर्कपूर्ण थिए र एउटा इतिहास लेखन गर्ने मानिसका लागि सत्यको उद्घाटन कसरी पनि हुँदो रहेनछ भनेर थाहा पाउने एउटा जोडदार तर्क थियो । यसको पछिल्तिरका हल्ला के कारणले पनि चलेको थियो होला भने, वीरेन्द्रको विकल्पमा पनि अर्को व्यक्ति छ जो उनीभन्दा जेठो छ र राजाको हकदार पनि हुन सक्छ ।

तर, रवीन्द्र शाहले त्यस्तो कुनै हक जमाएको जस्तो लाग्दैन किनभने समाजमा उनलाई एउटा भलाद्मी र आफूलाई गुमनाम राख्न चाहने राजकुमारको रूपमा बुझिन्थ्यो । उनका गीतहरूमा ती पीडाहरू छन् भनिन्छ तर उनका अरू कुनै लेखनमा वा बाहिर धारणा व्यक्त भएको चाहिँ मैले पत्रकारिताका यतिका वर्षमा फेला पारेको छैन । पछि अरू कुनै अनुसन्धाताले कुमारका वारेमा नयाँ कुनै सत्य फेला पारेमा थाहा होला । अब त राजा महेन्द्रका सन्तानमा बाँकी भनेको नै पूर्वराजा ज्ञानेन्द्र र पूर्वअधिराजकुमारी शोभा शाही मात्र हुनुपर्छ । सुने जानेका कुराहरू हुन् । अरू पनि त्यस्ता अनुभवहरू छन्, यसबारेमा अरू कुनै प्रसङ्गमा लेखौँला ।



मेरो समुद्रमा जहाजको यात्राको अनुभव धेरै कम छ । यसको कारण हो हामी भूपरिवेष्टित राष्ट्र हौँ र हामीलाई समुद्रको दर्शन नै मुस्किल छ, झन् कसरी हामीले पानी जहाजमा यात्रा गरेको अनुभव पाउनु र ? तर, मुलुकबाहिर गएका बेलामा कुनै त्यस्तो मौका पर्दा भने जहाजको यात्रा गरिँदो रहेछ ।

मैले सबैभन्दा पहिले समुद्रमा सानो जहाज वा फेरीमा बसेर केही मिनेट मात्र समुद्रको यात्रा गरेको भनेको सन् १९९२ मा जाइकाको तालिममा जाँदा तोक्सिमा राज्यको अवलोकनमा समुद्रको यात्रा गर्न पाइयो । रमाइलोका लागि गराइएको थियो तोक्सिमामा । सबैभन्दा पहिले समुद्रसँग साक्षात्कार भएकोचाहिँ सन् १९९० मा एसियाली खेलकुद समाप्त भएपछि केही दिन हङकङमा बस्नुपरेको थियो फर्कने टिकट मिलाउनका लागि । तर, त्यहाँ कुनै फेरी या जहाजमा यात्रा गरिएको थिएन ।

अनि सन् २०१४ को डिसेम्बरमा भारतको गुजरात गएका थियौँ हामी पति-पत्नी नै । विश्व प्रसिद्ध र हिन्दुहरूका लागि अतिपावन भूमि मानिने द्वारिकाको भ्रमणमा पुग्यौँ । खास कृष्णको दरबार भएको भेटद्वारिका जानका लागि केही मिनेटको फेरीको यात्रा गर्नुपर्ने रहेछ त्यो टापुमा पुग्नका लागि । भन्न त शास्त्रमा भनिएको छ, कृष्णको अवसानसँगै टापु पनि डुब्यो, जहाँ कृष्णले राजधानी बनाउनुभएको थियो । सायद सुरक्षाका दृष्टिले समुद्रले घेरिएको ठाउँ रहेछ र कृष्णले राजधानी बनाउनुभएको हुनुपर्छ ।

यदुवंशीहरूको आफैँ झगडा गर्दै सर्वनाश भएपछि त्यो पनि डुब्यो भनिन्छ तर सानो टापुको रूपमा आज पनि विश्वका हिन्दु र अन्य धर्मका मानिसहरूका लागि धार्मिक पर्यटकीय गन्तव्य भएको छ र वर्षमा करोडौँ यात्रुहरू जाने गर्छन् । त्यस्तै, म पनि साथीहरूसँग गएको थिएँ र केही मिनेटको फेरी यात्रा गरेको थिएँ भेट द्वारिका जान र फर्कने क्रममा ।


कतिपय अनुभव ठाउँको आधारमा र त्यस ठाउँमा  जन्मेको आधारमा पनि तत्काल सम्भव हुने हुन्छ जस्तो कि माल्दिभ्समा पहाडको यात्रा त्यहीँ देशमा सम्भव छैन अनि हिमालयको दर्शन पनि साक्षात्कारका रूपमा हुन सक्दैन । हाम्रो जस्तो देशमा या भूपरिवेष्ठित कुनै पनि देशमा समुद्रसम्बन्धी अनुभव पाउन त्यस्तै देशमा जानुपर्छ । अझ समयको वचतका लागि अहिले पानी जहाजको यात्रा त्यति मानिँदैन ।

तर, सामान ढुवानीका लागि र बिदा मनाउनका लागि लामो यात्रा गर्न, विभिन्न देशहरूको बन्दरगाहमा ओर्लेर केही समय त्यहाँ बसेर घुमघाम गर्दै रमाइलो गर्नका लागि भने पानीजहाजको यात्राको अर्थ रहन्छ होला । २ वर्षअघि एक दिन त नर्वेभित्रैका होबेदाय टापुमा गयौँ किनभने युद्ध रणनीतिका लागि ओस्लोको सुरक्षा कबचको रूपमा इतिहासमा त्यो टापुले काम गरेको रहेछ बाहिरी आक्रमणबाट बचाउन र त्यसको सम्झना स्वरूप अहिले पनि त्यहाँ कुनै बस्ती बसाउन दिइएकै रहेनछ । पुराना तोपहरू संरक्षण गरेर राखिएको रहेछ ।

सामुद्रिक बिचका लागि प्रख्यात टापु भए पनि निश्चित समयमा त्यहाँको टापुसम्म जाने फेरी चलाइनेरहेछ तर निजी मोटर बोट हुनेहरूका बोटहरू किनारामा राखिएका हुनेरहेछन् । भनिन्छ, यसरी बोट राख्दाको भाडा धेरै महङ्गो हुन्छ रे ! तर, जसले मोटर बोट राखेर काम गर्न जान्छन् एउटा टापुबाट अर्को टापुमा, उसले भाडा पनि त तिर्नु पर्‍यो नि !

यही क्रममा हाम्रो पनि एउटा योजना बन्यो, डेनमार्कको राजधानी कोपेनहेगन जाने साइत त्यो पनि पानीजहाजबाट । अगस्टको २० तारिखमा नेपाल फर्कँदै थियौँ म र मेरी पत्नी । त्यसैले डेनमार्क हेर्ने हाम्रो इच्छा पुर्‍याउँदा हामीले यात्रा गर्ने साधनचाहिँ पानीजहाजको व्यवस्थापन गरियो २०१९ को अगस्टको १४ तारिखको साँझमा ओस्लोबाट डेनमार्क जाने, १५ तारिख दिउँसभर कोपेनहेगन घुम्ने अनि साँझमा फेरि त्यही जहाजमा ओस्लो फर्कने ।



थियौँ म, मेरी श्रीमती देवकी, छोरी अर्चना, ज्वाईँसाहेब नवराज सापकोटा र २ वर्षकी नातिनी अदिति सापकोटा । हामी २ जनाका लागि भने यो यात्रा नयाँ थियो रातभरको पानीजहाजको । मलाई लाग्दै थियो, मैले कहाँ पढेको हुँ पानीजहाजको यात्रा भनेर सम्झँदै थिएँ अनि झल्याँस्स भएँ- बीपी कोइरालाको 'हिटलर र यहुदी' भन्ने उपन्यासमा लामो पानीजहाजको यात्राका बारेमा सबिस्तार वर्णन थियो । त्यहाँ रेवा भन्ने एक जना पात्रको वर्णन थियो । त्यस्ता धेरै अविस्मरणीय पात्रहरूले पाठकलाई अब के हुन्छ होला भन्ने जिज्ञासा दिलाइरहन्छन् ।

अनि त्योबेलामा पनि जहाजमा लिफ्टको कुरा थियो, भव्य रेस्टुराँको बयान थियो, जहाजको बार्दलीमा बसेर समुद्रको विभिन्न रूपको अवलोकन गरेको वर्णन थियो र थियो विभिन्न देशका मानिसहरूको रहनसहन जान्ने एउटा प्रयोगशालाको बयान ।

अहिले मात्र के फरक देखियो भने सम्पूर्ण व्यवस्थापन विद्युतीय माध्यमबाट हातको मोबाइलबाट सम्पादन गर्न सकिन्छ, टिकट काट्न सकिन्छ, समय सारिणी परिवर्तन गर्न अनुरोध गर्न सकिन्छ र कस्तो कोठा आवश्यक छ भनेर प्राथमिकता निर्धारण गरेर अनुरोध गर्न सकिन्छ । कुनै जहाजको अफिसमा गएर टिकट व्यवस्थापन गर्नु जरुरी छैन तर त्यो उपन्यासमा भने टिकटको व्यवस्थापन कुनै एजेन्टमार्फत् गर्नुपर्थ्यो जस्तो लाग्छ । 

पूर्णिमाको रात थियो , समुद्रमा प्राकृतिकरूपमा नै ज्वारभाटा स्वतः आउने रात थियो र हाम्रालागि रात नै बिताउने गरी १३ तले डीएनएफ पानीजहाजमा यात्रा गर्ने चाँजो परेको थियो । बन्दरगाहमा गयौँ र प्राप्त कोड नंबरलाई आधार मानेर  प्राप्त भएको कम्प्युटरमा गएर आफ्नो टिकट खोज्यौँ । हाम्रोलागि स्वचालित मेसिनले बोर्डिङ पास दियो- नवौँ तलाको कोठा नं. ९२१० परेको जानकारीसहित । लामो लाइनमा उभिएर प्लेनमा जस्तै  सुरक्षा जाँच गराएर आफ्नो कोठातिर लाग्यौँ । कोठामा पुगेर आफ्ना सामानहरू राखेपछि हामी जहाजको छततिर घुम्न गयौँ ।

यसै पनि नर्वेमा ढिलो रात पर्ने, रातको मनमोहक सूर्यास्त, समुद्रको पानीमा जहाजले आफ्नो दौडसँग बनाउने डाम, समुद्रको किनारामा देखिने बस्तीहरू र टाढाटाढाबाट आउने छालको स्वरूप पूर्णिमाको रात र कोपेनहेगनको प्रतीक्षासहित सुत्न त खोज्यौँ तर जहाजको पहिलो रात भएकाले होला, हल्लाएको त थियो । तर, घुम्न भनेर मध्यरातमा छतमा गयौँ । हामी जस्तै धेरै मानिसहरू छतमा जम्मा त भएका थिए तर चिसो सिरेटो थियो लगलग काम्ने गरी, साँच्चै नै मानिसलाई नै उडाउने खालको । गति कति किलोमिटर थियो होला, त्यो त थाहा भएन तर प्लेनमा जस्तै हामी कहाँ आइपुग्यौँ भन्ने जानकारी दिएको थियो ।



भोलिपल्ट बिहान कोपेनहेगन पुगियो र त्यहाँको सम्पर्क व्यक्तिका रूपमा मेरा विद्यार्थी बुद्धि सापकोटासँग फोनमा कुरा गरेपछि उनले त्यहाँको सेन्ट्रल चोक नारे स्क्वायरमा भेट्ने बाचासहित हामी पनि त्यहीँ गयौँ बन्दरगाहबाट नजिकैको रेल्वे स्टेसनबाट मात्र २ स्टेसन पर रहेछ । उनीसँग भेट भयो केही समयपछि, जुन समय हामीले नारे स्क्वायरमा रहेको राजदरबारको वरिपरि बितायौँ घुमेर, जहाँ हजारौँ किसिमका फूलहरू फुलेका थिए र सफा बगैँचाको उदाहरण नै थियो ।

उनी कार लिएरै हामीलाई घुमाउन आएका रहेछन् । उनले एउटा सुझाव दिए, 'सर, मैले दिउँसोभरमा कति पो घुमाउन सकुँला र ? तर, यहाँको पर्यटकीय मोटरबोटमा २ घन्टा घुम्दा र देखिने ठाउँहरू धेरै छन्, जसले कोपेनहेगनको झझल्को दिन्छ र धेरै ठाउँको अवलोकन हुन्छ । यदि ती ठाउँहरू मैले मोटरमा घुमाउन थालेँ भने २ या ३ ठाउँमा जाँदै तपाईंहरूको जहाजको समय हुन जान्छ । के गरौँ ? हामीले पनि मोटरबोटमा नै अवलोकन गर्ने सल्लाहलाई मान्यौँ र करिब अढाइ घन्टाको मोटरबोटको यात्राले हामीलाई कोपेनहेगनको सर्सर्ती धारणा बन्यो भने पनि हुन्छ ।

धेरै कुरा देखियो, जसमा मैले अहिले पनि सम्झने भनेको फोहोर प्रशोधन कारखाना रहेछ, जसले दिनमा करिब ५६ टन फोहोर प्रशोधन गर्दोरहेछ र त्यसबाट बिजुली, कृषि मल तयार गर्दो रहेछ ।  पुराना दरबारहरूको नजिकैबाट अवलोकन गरियो । एउटा गोल्डेन चर्च रहेछ, जसको गजुर साँच्चै सुनको रहेछ । एउटा कुरा भने बुद्धिले सुनाए, त्यो गोल्डेन चर्चको वरिपरि कुनै कानुनले काम गर्दैन रे ! ड्रगका व्यसनी, लागुऔषधका व्यापारी, गाँजाका व्यसनीहरू हुन्छन् र तीसँग अवैध हतियार पनि हुन्छन् तर प्रहरीहरूले त्यस्तो कुनै कार्बाही गरेको हुँदैन, जबकि डेनमार्कमा सुरक्षाको प्रवन्ध साह्रै कडा छ र पनि ।

केही तस्बीरहरू राखिएका छन् यहाँ, जसले त्यो यात्रालाई स्मरणीय गराउँछ मलाई अहिले पनि ।
क्रमशः
 


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।