नेपाल प्रज्ञा–प्रतिष्ठानको आधिकारिक एवम् प्रयोगात्मक शैक्षणिक व्याकरण बजारमा

नेपाल प्रज्ञा–प्रतिष्ठानको आधिकारिक एवम् प्रयोगात्मक शैक्षणिक व्याकरण बजारमा

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७८

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले हालै  कुलपति गङ्गाप्रसाद उप्रेतीको निर्देशन र सम्पादनमा शिक्षा र प्राज्ञिक क्षेत्रका विशिष्ट विद्वान्हरू प्रा. डा.  हेमनाथ पौडेल, प्रा. डा.  रमेशप्रसाद भट्टराई र डा. प्रेमप्रसाद चौलागाईँले लेख्नुभएको ‘प्रज्ञा नेपाली शैक्षणिक व्याकरण’ प्रकाशन गरी बजारमा ल्याएको छ ।

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले हालसम्म बजारमा पुरानै पद्धतिमा लेखिएका व्याकरणहरू रहेको अवस्थामा नेपाली भाषाका सिपहरूको शिक्षण गर्न अति उपयोगी हुने किसिमले लेखिएको यो हालसम्मकै नवीन व्याकरण भएको बताउनुभयो । उहाँले नेपाली शैक्षिक क्षेत्रले लामो समयदेखि प्रयोगात्मक एवम् रचनामुखी आधिकारिक शैक्षणिक व्याकरणको खोजी गरिरहेको बेला आएको यस व्याकरणको आफ्नै महत्त्व रहेको कुरा प्रस्ट्याउनुभयो ।

प्रस्तुत पुस्तकका लेखक प्रा.डा. हेमनाथ पौडेलले विशेष गरी विद्यालय र विश्वविद्यालयका शिक्षक र विद्यार्थीलाई केन्द्रित गर्दै प्रयोगात्मक विधिको प्रयोग गरी लेखिएको यो पाठपरक रचनात्मक व्याकरण भएकाले यस व्याकरणले शिक्षण–प्रशिक्षणका साथै व्याकरणका सबै अध्येतालाई सघाउ पुर्‍याउने बताउनुभयो ।

अर्का लेखक प्रा.डा. रमेशप्रसाद भट्टराईले पुस्तकमा सबैभन्दा पहिला विभिन्न विषयका सान्दर्भिक पाठहरू दिई ती पाठमा प्रयोग भएको व्याकरणलाई पहिचान गरी त्यसबाट व्याकरण सिकाउने विधिको प्रयोग गरिएको बताउनुभयो । उहाँले भाषा र व्याकरण अलग कुरा होइनन् व्याकरण भनेको भाषाभित्रकै नियम हो भन्ने कुरालाई यसले प्रस्ट पारेको र नियम र सिद्धान्तबाट व्याकरण सिकाउने निगमनात्मक पद्धति भन्दा आगमनात्मक पद्धतिको प्रयोग गरी व्याकरण सिकाउँदा शिक्षण प्रभावकारी, रोचक र सरल हुनुका साथै भाषिक सिपको अभिवृद्धिमा पनि सहयोग पुग्ने बताउनुभयो ।

अर्का लेखक डा. प्रेमप्रसाद चौलागाईंका अनुसार पुस्तकमा भाषिक व्यवस्थाका विविध पक्षलाई प्रतिनिधित्व गर्ने खालका विभिन्न पाठहरू दिइएका छन् । विद्यार्थीहरू भाषिक प्रयोगबाट नै नेपाली भाषाको व्याकरण व्यवस्थासित परिचित होऊन् भन्ने उद्देश्यले प्रबन्ध, दैनिकी, कथा आदिबाट प्रत्येक पाठको प्रारम्भ गरिएको छ भने ती प्रत्येक पाठका अन्त्यमा विभिन्न स्रष्टाका रचनाका अंश दिई त्यसबाट अभ्यास गराइएको छ । उहाँले यो हालसम्मकै नवीन, आधिकारिक र पाठपरक प्रयोगात्मक व्याकरण भएको पनि बताउनुभयो ।  

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा तयार पारिएको यो व्याकरण सबै तहका शिक्षक–विद्यार्थीका लागि त अति उपयोगी छ नै साथै मानक नेपाली व्याकरण जान्न, बुझ्न चाहने सबै व्यक्तिहरूका लागि पनि यो उत्तिकै महत्त्वपूर्ण बनेको देखिन्छ । डिमाइ आकारको ३५२ पृष्ठको यो पुस्तकको मूल्य ३१५ रहेको छ ।