नयनराज पाण्डे: पाठकका नयनमा लुकेका आख्यानकार

नयनराज पाण्डे: पाठकका नयनमा लुकेका आख्यानकार

आशिष पौडेल  |  अन्तर्मन्थन  |  श्रावण ९, २०७८

उहाँ लेख्नकै लागि जन्मिनुभएको हो । यसलाई पुष्टि गर्ने आधार भनेको लेख्नेबाहेक उहाँले केही गर्नुभएको छैन । नेपाल जस्तो मुलुकमा लेखकस्वका भरमा जीवन निर्वाह गर्न सक्नु त्यति सजिलो कहाँ छ र ! तर पनि उहाँ निकै समयदेखि लेखेरै गुजारा गरिरहनुभएको छ ।

यो एक्काइसौँ शताब्दीको वैश्य युगमा बजार पनि कहाँ त्यति उदार छ र, जसले जोसुकैलाई ग्वाम्ल्याङ्ग अँगालो हालेर आफूमा समाहित गरोस् । त्यसका लागि बजारले उसलाई पर्गेल्छ, परख गर्छ र आफ्नै कसीमा जाँच पास गरेपछि मात्र प्रमाणपत्र दिन्छ । 

यी सबै परीक्षा उत्तीर्ण गरेर बजारले सफल भनेर छाप लगाएका लेखक हुनुहुन्छ नयनराज पाण्डे । 

विशेषगरी नेपाली आख्यान लेखनका वर्तमान पुस्ताका सफल अनि आफ्नो लेखनकर्मद्वारा बेग्लै उचाइ बनाएका लेखक हो उहाँ । 

नेपाली आख्यानलाई नयाँ उचाइमा पुर्‍याउने श्रेय पनि जान्छ उहाँलाई । नेपाली आख्यानलाई नयाँनयाँ लेखकीय प्रयोगबाट समृद्धिको नयाँ स्तरमा पुर्‍याउने काम गर्नुभएको छ उहाँले । यस अर्थमा वर्तमानका एक सफल आख्यानकर्मीका रूपमा उहाँको विशेष स्थान समेत रहेको छ ।   

पारिवारिक अवस्था

उहाँको पुख्र्यौली थलो सल्यान । पाण्डेहरू भनेको त्यसबेलाका राजगुरु/पुरोहित । एउटा एउटा राजा रजौटाको पछि लागेर उहाँका पुर्खा सल्यान पुगेका रहेछन् । 

सल्यानबाट जागिरको सिलसिलामा बुबा पहिले काठमाडौं आउनुभएको हो । उहाँको बुबा स्नातकोत्तरको पढाइ सकेपछि सूचना विभागमा काम गर्नुहुँदोरहेछ । तर, जागिर खानका लागि काठमाडौं आउनुभएको उहाँलाई त्यही जागिरले नेपालगंज हुत्यायो । 

नेपालगंजको उहाँको जागिर भने हेडमास्टरको थियो । उहाँले नेपालगंजमा हेडमास्टरको जागिर खाएर हेडमास्टरबाटै अवकास हुनुभएको हो । 

आमा पनि बिहेको केही समय शिक्षण गर्नुहुन्थ्यो रे ! तर, पछि घरपरिवार सम्हाल्नुपरेपछि शिक्षण र उहाँको सम्बन्धबिच्छेद भयो । फलस्वरूप उहाँ पूर्ण रूपले गृहिणी हुनुभयो । 

नेपालगंजमा घर त छँदै थियो बुबाको । बर्दियामा खेतीपाती पनि थियो साथै जागिरे पनि । यी सबैको जोडजाड हिसाबकिताब लगाउँदा पनि उहाँको परिवार आर्थिक रूपमा मध्यम स्तरको परिवार भन्न सकिन्छ भन्ने उहाँको निष्कर्ष रह्यो । 

उहाँको बुबा नेपालगंज सर्नुमा अर्को कारण पनि रहेछ । उहाँको परिवार सल्यानमा । त्यसमा पनि २ जना दाजुहरू बितिसकेका । साहिँली आमा बितेका कारण साहिँलो बुबा पनि निराश भएर ‘अब जोगी हुन्छु’ भनिरहने । ‘अब घर हेर्न आइज’ भनेर उहाँको बुबालाई कराइरहने कारणले बुबाले काठमाडौंको जागिर छाडेर सल्यान जानुभएको रहेछ । 

उहाँ सल्यानमा गएर हेडमास्टर हुनुभएछ । त्यसबेला उहाँको सहायक हेडमास्टर भने पूर्वप्रधानमन्त्री मरिचमान सिंह हुनुहुँदोरहेछ । 

आमाको बिहे गरेर सल्यान गएपछि भने आमाको स्वास्थ्य बिग्रियो । सल्यानबाट त्यसबेला उपचारका लागि नेपालगंज आउनुपर्ने । बेलाबेलामा स्वास्थ्य बिग्रिरहने भएपछि सल्यान बसिरहन अप्ठ्यारो भयो । उहाँको एक जना फुपूको बिहे भने नेपालगंजका जमिन्दारसँग भएको रहेछ । 

फुपूको प्रशस्त जमिन । आमा पनि बिरामी । फुपूले जमिन्दारीमा आफूलाई सहयोग पनि पुग्ने ठानेर ‘पैसा भए यतै जग्गा किनेर बसे भैगो’ भन्नुभएको रहेछ उहाँका बुबालाई । 

नेपालगंजका एक जना बडा हाकिमले उहाँको बुबालाई पहिलेदेखि चिनेका रहेछन् । त्यहाँ बहुउद्देश्यीय स्कूल खुल्ने भएपछि ‘तपाईं जस्तो मान्छे चाहिन्छ’ भनेकाले उहाँको बुबाको नेपालगंजको सहज बसाइँ सराइ भएको रहेछ । जग्गा जमिन सस्तो भएकाले बुबाले घर/घडेरी जोड्दै उहाँहरूको नेपालगंजको स्थायी बसाइ भएको रहेछ । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०२३ सालमा काठमाडौंमा भएको हो । तर, होस नसम्हालिँदै उहाँ नेपालगंज पुगिसक्नुभएको थियो । आधिकारिक दस्तावेजमा भने उहाँको जन्म मिति खुलेको छैन । पहिले पहिले नागरिकता बनाउँदा यसरी पूरै मिति खुलाउने प्रचलन थिएन । 

लामो नेपाली कागजमा वर्ष (उमोर) मात्र खुलेको हुन्थ्यो त्यसबेलाको नागरिकतामा । त्यसैअनुसार उहाँको जन्म मितिमा पनि १७ वर्ष लेखिएको छ । 

कहिलेकाहीँ यसले केही फरक पनि पार्दो रहेछ भन्ने उहाँलाई लाग्छ । तर, नागरिकता जारी भएको मितिलाई नै जन्म मिति मान्ने प्रचलन पनि रहेछ । 

उहाँको बाल्यकाल नेपालगंजको सुर्खेत रोडमा बितेको हो । घरहरू थोरै थिए त्यसबेला । गरिब मुस्लिमको बस्ती थियो त्यो । जुत्ता सिलाउने, टाँगा चलाउने गर्थे धेरै मुस्लिमहरू । 

केटाकेटीमा उहाँको मुस्लिमलगायत अन्य साथीहरू थिए । माछा मार्न जाने, अन्य खेल खेल्ने साथी भनेको तिनै थिए त्यसबेला । 

तीमध्येको सलिमलाई भने उहाँ धेरै नै सम्झने गर्नुहुन्छ । धेरै भयो उहाँको भेट नभएको सलिमसँग । सलिम कहाँ छन् भन्ने पनि उहाँलाई जानकारी छैन । 

सलिमको बुबा जुत्ता सिउने काम गर्नुहुन्थ्यो । सलिम पनि बेलाबेला जुत्ता सिउने काम गर्थे । सलिमलाई उहाँले अहिलेसम्म पनि भुल्न नसक्नुमा भने सँगसँगै गाउँ घुम्ने, गुलेली लिएर चरा मार्न जाने, खाल्डोको पानी फालेर माछा मार्ने आदि बचपनका स्मृतिहरू गाढा भएर बसेका कारण रहेछ । 

गुच्चा खेल्ने, खोपी खेल्ने अनि तासमा पनि किट्टी तथा फलास टोले अनि स्कूले साथीसँग खुबै खेल्नुभयो उहाँले । फुटबल र क्रिकेटको पनि राम्रो प्रभाव थियो नेपालगंजमा त्यतिबेला । 

मधेसी र मुस्लिम समुदायको बाहुल्य रहेका कारण उनीहरूका स्थानीय चाडपर्वले पनि उहाँलाई राम्रै प्रभाव पारेको थियो । 

गाउँमा बेलाबेलामा लाग्ने मेलामा त्यहाँका स्थानीय मिठाइहरू समोसा, कचौडी, पुडी अनि सानासाना पुरीहरूको रैथाने स्वाद अहिले पनि उहाँको जिब्रोमा झुण्डिएको छ ।  

नेपालगंजको स्थानीय सांस्कृतिक चाडपर्व ताजिया अनि इदले पनि उहाँको बाल मस्तिष्कमा राम्रै प्रभाव पारेका रहेछन् । विविध समुदायसँगको त्यो आत्मीयताले उहाँको लेखनमा पनि राम्रै प्रभाव पारेको देख्न पाइन्छ । 

नेपालगंजको त्यो आत्मीयता उहाँले काठमाडौंमा भने अनुभव गर्न सक्नुभएन । 

नेपालगंजमा उहाँको घर बसपार्कबाट करिब एक किलोमिटरको दूरीमा थियो । तर, काठमाडौंबाट नेपालगंज जाँदा भने बसपार्क वरपर आइपुग्दा नै एक किसिमको आफ्नोपन, ‘यो त मेरो ठाउँ हो’ भन्ने महसुस हुन्थ्यो उहाँलाई । 

किशोरावस्था वा बालापन जुन ठाउँमा व्यतीत गर्‍यो, त्यो स्थान र कालखण्डले मानिसलाई जीवनभर प्रभावित गरिरहने उहाँको अनुभव छ । 

लेखकलाई त त्यो संवेदनाले झनै धेरै प्रभावित गरिरहन्छ । ‘उक्त ठाउँमा खाएको, खेलेको अनि कुदेको कुरा सम्झनादेखि सपनासम्म आइरहन्छ’, उहाँ भन्नुहुन्छ । 

त्यस कारण उहाँका प्रायः लेखनमा उहाँ कताकता नेपालगंजसँग जोडिइहाल्नुहुन्छ । ‘त्यहाँको ठाउँ मैले बुझेको छु भन्ने आत्मविश्वासले लेखाउने काम गर्छ’, उहाँ भन्नुहुन्छ । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा नेपालगंजबाट नै प्रारम्भ भएको हो । कक्षा ७ सम्म उहाँ बुबाले पढाउने स्कूल अर्थात् मंगलप्रसाद माविमा पढ्नुभएको हो । नेपालगंजका एक जना शिक्षाविद् मंगलप्रसादको नाममा उक्त विद्यालयको नामकरण भएको हो । 

उक्त विद्यालय सुरुमा निजी थियो र सोही निजी विद्यालयलाई सरकारीकरण गरिएपछि उक्त नाम दिइएको रहेछ । 

उक्त स्कूल भने बहुउद्देश्यीय थियो । त्यसमा सिलाइ, कटाइदेखि कृषिसम्मको पढाइ हुने गथ्र्यो । 

उहाँको दिदीको पालामा भने स्कूलमा पढ्दा आफैँले बोरा बोक्नेदेखि सिलोटसम्म बोक्नुपथ्र्यो । तर, उहाँको पालासम्म आइपुग्दा भने त्यो अवस्था रहेन । त्यतिखेरको नेपालगंजका ४-५ वटा स्कूलमा बस्ने डेस्क-बेञ्चलगायतको राम्रो व्यवस्था भइसकेको थियो । 

उहाँ पढेको मंगलप्रसाद स्कूल भने अत्यधिक सुविधा सम्पन्न राम्रो सरकारी स्कूल थियो । सायद कुनै विदेशी परियोजनाको सहयोग थियो कि भन्ने लाग्छ नयनराजलाई, किनकि त्यसबेला सो स्कूलमा राम्रो ‘साइन्स ल्याब’ थियो । ‘८-१० वटा माइक्रोस्कोप अनि बोतलमा जनावरहरू आदि पनि थिए । त्यस किसिमको प्रयोगशाला अहिले पनि स्कूलमा भेटिँदैन’, उहाँ भन्नुहुन्छ । 

नयनराज पढाइमा त्यति अब्बल विद्यार्थी होइन, औसत मात्र हो । उहाँको बसाइ बीचतिरको बेञ्चमा हुन्थ्यो । पढ्न अलिक गाह्रो लाग्ने अनि ढिलोढिलो बुझ्ने किसिमको विद्यार्थी ठान्नुहुन्छ उहाँ आफूलाई । पहिलो बेञ्चमा बस्दा गुरुहरूले देखेर सोध्नुहुन्छ भनेर उहाँ बीचतिर बस्ने गरेको सुनाउनुहुन्छ ।

कक्षामा चालीस/पचासको हाराहारीमा विद्यार्थी हुन्थे विद्यार्थी । छात्राहरूको संख्या पनि कम थिएन । झण्डै १५-२० को हाराहारीमा थियो छात्राको उपस्थिति । 

उक्त संख्या भनेको त्यसबेला राम्रो मानिन्थ्यो । मंगलप्रसाद स्कूल भने सहशिक्षाको शिक्षालय थियो । तर, अर्को एउटा सरस्वती स्कूल भने छात्राहरू मात्र अध्ययन गर्ने महिला विद्यालय थियो ।

७ कक्षा पढ्दाताका खासै पढ्न मन नलाग्ने, स्कूलबाट भागेर सिनेमा हेर्न जाने, पौडी खेल्न जाने गरेको पनि सम्झनुहुन्छ उहाँ । 

७ कक्षासम्म त थेग्यो उक्त स्कूलले उहाँलाई तर त्यसपछि भने थेग्न सकेन । कारण रहेछ- बुबा हेडमास्टर भएको हुनाले नपढे पनि पास भइन्छ भन्ने मानसिकता । गुरुहरूले पनि धेरै नै पिट्ने हुँदा स्कूल जानै मन नलाग्दो रहेछ उहाँलाई । 

अहिले सम्झँदा शिक्षकहरूले बुझाएर पढाउन नसक्दा त्यसो गरिएको हो कि जस्तो लाग्छ उहाँलाई । हुनत त्यसबेलाको प्रचलन नै बुझाएर पढाउने भन्दा पनि कुटेर पढाउने थियो । 

नेपालगंजमा त्यसो हुनुमा भने भाषाको समस्या पनि हो कि भन्ने पनि उहाँलाई लाग्छ । ‘पढाइ नेपाली भाषामा हुने अनि अधिकांश शिक्षक भने मधेसी समुदायका । त्यस कारण पनि समस्या परेको हो कि’, नयनराज भन्नुहुन्छ । 

हेडमास्टरको छोरो तर पढाइमा कमजोर भएपछि बुबाले नै उहाँलाई स्कूल फेरिदिनुभयो । रानी तलाउको महेन्द्र माविमा भर्ना गरिदिनुभयो । घरबाट करिब एक किलोमिटरको दूरीमा थियो उक्त स्कूल । 

यहाँ भने पढाइ केही सुध्रियो उहाँको । पढाइ सँगसँगै बेञ्चमा पनि सुधार आयो । केही अगाडिको बेञ्चमा बस्ने हुनुभयो उहाँ ।

उहाँले माध्यमिक शिक्षा उक्त स्कूलबाट नै पूरा गर्नुभएको हो । १० कक्षामा दुईवटा सेक्सन थिए । एउटामा झण्डै ३५ जना । छात्राहरूको उपस्थिति पनि रामै्र थियो । 

मधेसको ठाउँ भए तापनि मधेसी विद्यार्थी भने कम थिए । कारण थियो भाषाको समस्या । उनीहरू गणित, विज्ञान, अंग्रेजी सबैमा सबल हुन्थे तर नेपालीमा भने अलिक कमजोर । 

नेपाली भाषाको समस्याले अनि एसएलसीमा प्रायः नेपालीमा फेल हुने कारणले मातृभाषामा पढाइ हुने सीमापारिका स्कूलमा पढ्न जान्थे त्यहाँका मधेसी समुदायका विद्यार्थी । 

मधेसी समुदायका केही विद्यार्थी मात्र यता नेपालगंजका स्कूलमा पढ्थे । मधेसी छात्रा त फाट्टफुट्ट मात्र हुन्थे । उनीहरू भने छात्राहरूको मात्र पढाइ हुने सरस्वती माविमा जान्थे पढ्न । 

बसाइँ सराइ गरेर आएका पहाडी समुदायका विद्यार्थी भने बढी हुने गर्थे स्कूलमा । त्यसबेला त्यति हेक्का नरहे पनि मातृभाषको पढाइको महत्त्व के रहेछ भन्ने कुराको अनुभूति हाल गर्दै हुनुहुन्छ उहाँ । यदि उनीहरूले मातृभाषामा पढ्न पाएका भए त्यसबेलाको नेपालगंजको स्कूलको माहोल नै अर्कै हुने रहेछ भन्ने हाल आएर लाग्न थालेको छ नयनलाई ।

नेपालगंज त्यसबेला सुदूरपश्चिमको हब जस्तै थियो । त्यहाँ ४-५ वटा राम्रा विद्यालय थिए भने क्याम्पस पनि थियो । निजी विद्यालयको प्रचलन भने भर्खरभर्खर सुरु भएको थियो । र, व्यापारिक केन्द्र पनि थियो नेपालगंज । 

क्याम्पस पढ्दा त झन् दाङ, सुर्खेत, सल्यान, अछाम अनि कर्णालीका साथीहरूको भेट हुन्थ्यो । संगत अनि साथीहरूको विविधता थियो । 

लेखनप्रतिको रुचि 

उहाँको लेखनप्रतिको रुचि भने ७ कक्षा पार गरेर ८ कक्षा सुरु भएदेखि भएजस्तो लाग्छ उहाँलाई । 

बुबा शिक्षक । शिक्षक भएका कारण एमए गरेर पछि बीएड पनि गर्नुभएको हो बुबाले । बीएड गर्दा भने साहित्यदेखि अन्य विषय पनि पढ्नुपर्ने । २-४ वटा दराजका पुस्तकालय पनि थिए उहाँको घरमा, जहाँ साहित्यदेखि हिन्दीका केही पत्रिका पनि हुन्थे । 

अर्को महत्त्वपूर्ण भनेको काठमाडौंबाट निस्कने साहित्यिक पत्रिका ‘रूपरेखा’ उहाँको घरमा हुलाकमार्फत मासिक रूपमा नियमित आउने गथ्र्याे, जसमा केही नयाँ तथा पुराना लेखकहरूका लेखहरू हुन्थे । 

ती पुराना लेखकमा उहाँको पारिवारिक पृष्ठभूमिका लेखक डा. बालमुकुन्ददेव पाण्डे पनि हुनुहुन्थ्यो । बालमुकुन्ददेव नयनकी आमाको मामा । बालमुकुन्दको नाम देखेर नयनमा पनि लेखक हुने लोभ जाग्यो । ‘लेखक हुनु भनेको त राम्रो रहेछ । ठूला मान्छे हुँदा रहेछन्’ भन्ने लागेपछि उहाँमा लेखनको बीज अंकुराएको सुनाउनुहुन्छ । 

उहाँले त्यसबेला रेडियो नेपालको बाल कार्यक्रममा पनि कविता पठाउनुहुन्थ्यो । करिब १० कविता वटा पठाएपछि एउटा रेडियोमा बज्थ्यो । त्यसबेला बाल कार्यक्रमका संचालक हुनुहुन्थ्यो, वासुदेव मुनाल । 

सधैँ बेलुका साढे ५ बजे कान थापेर सुन्न बसेपछि कहिलेकाहीँ उहाँको आफ्नो कविता प्रसारण हुन्थ्यो । साथीभाइले पनि सुनेका हुन्थे । भोलिपल्ट त्यसको चर्चा चल्थ्यो, जसले साहित्यमा अझ आकर्षण थप्यो भने साथीभाइ माझ चर्चाको पात्र पनि बन्न थाल्नुभयो नयन । 

कक्षा ८ मा गएपछि साथीभाइको एउटा समूह पनि बन्यो, जसले वादविवाद, हाजिरी जबाफ, निबन्ध तथा कविता प्रतियोगितामा भाग लिन थाल्यो । कुनै प्रतियोगिता स्कूलस्तरीय हुन्थे भने कुनै जिल्लास्तरीय । 

पढाइमा भने उहाँ त्यसबेला पनि ठिकै हुनुहुन्थ्यो । उहाँको त्यसबेलाको वरीयता भनेको नवौँ तथा दशौँ हो । तर, साहित्यिक प्रतियोगितामा भने उहाँ कहिले प्रथम त कहिले दोस्रो हुनुहुन्थ्योे । 

उहाँको स्कूल जाने बाटोमा साप्ताहिक पत्रिका ‘किरण’को कार्यालय थियो । त्यसको सम्पादक हुनुहुन्थ्यो, पन्नालाल गुप्ता । उहाँ त्यस भेगको मात्र नभएर नेपालकै ठूलो पत्रकार मानिनुहुन्छ । यो नौ कक्षा पढ्दाताकाको कुरा हो । 

उहाँको प्रेस पनि आफ्नै थियो । समाचार पनि आफैँ बनाउनुहुन्थ्यो । कालो पेटी गन्जी लगाएको टाइप गरिरहेको मान्छेलाई उहाँ यसो स्कूल गए/आएको मौका पारेर आफ्नो कविता दिनुहुन्थ्यो । उहाँलाई लाग्थ्यो ती कारिन्दा हुन् । 

तर, पछि मात्रै थाहा भयो उहाँ त ‘किरण’ पत्रिकाको मालिक, सम्पादक, प्रकाशक, कम्पोजिटर सबै हुनुहुँदो रहेछ अर्थात् ‘अल इन वन ।’ 

उहाँ नै उक्त पत्रिकाको सबै चिज हो भनेर बुझिसकेपछि उहाँप्रति श्रद्धा पनि जागेर आयो नयनमा । 

उहाँलाई कहिले पुलिसले पक्रेर लैजाने, कहिले पत्रिका बन्द हुने पनि गथ्र्यो । यसले पछि उहाँ प्रजातन्त्रवादी पनि हुनुहुँदो रहेछ भन्ने पनि थाहा भयो । यसले उहाँप्रतिको श्रद्धा र सम्मानमा अझ उचाइ थप्ने काम गर्‍यो । 

काठमाडौं यात्रा

उहाँले २०३८ सालमा एसएलसी दिनुभएको हो । ३५-४० जना थिए होला एसएलसी दिने । पास हुने १२ जना थिए । ती १२ जनामध्येको एक हो उहाँ । श्रेणी भने दोस्रो । 

एसएलसीपछि उहाँ मामाघर काठमाडौं आउनुभयो । तर, काठमाडौंमा जन्मिएर नेपालगंज गएपछिको उहाँको पहिलो काठमाडौं यात्रा भने उहाँ ७ कक्षामा पढ्ने बेलामा हो । 

उहाँको मामाघर चाबहिल । उहाँको मामा पनि पाण्डे । पाण्डेहरूका १९ वटा गोत्र हुने कारणले पाण्डेहरूबीच बिहेवारी चल्ने रहेछ, जसले गर्दा उहाँको मामा पनि पाण्डे अनि आमाको मामा पनि पाण्डे । 

उहाँको मामा सिम्रनराज पाण्डे पनि साहित्यमा रुचि राख्ने र लेख्ने गर्नुहुन्थ्यो । 

उहाँ काठमाडौं आउँदा कवि श्यामलसँग चिनजान भयो । पछि श्यामलमार्फत विमल निभालगायतसँग भेटघाट भयो । विमल निभाको ‘साहित्य घर’ भन्ने पसल थियो । 

लेखनमा आलो काँचो भए पनि उहाँका केही कविता मधुपर्क तथा गोरखापत्रमा छापिइसकेका थिए । पछि लेखनका बारेमा श्यामलले उहाँलाई विचार के हो, कला के हो अनि के  लेख्नुहुन्छ र के लेख्नुहुन्न भन्नेबारेमा प्रशिक्षण दिनुभएको रहेछ । त्यस कारण पनि आजका दिनमा पनि उहाँ श्यामललाई सम्झिरहनुहुन्छ । 

विमल निभाको साहित्य घरमा गएर बस्ने भर्खरको केटोलाई नयाँ भएर होला, उहाँहरूले माया गर्ने । केही छापिएका रचनाको पारिश्रमिकले फेरि किताब किन्ने गर्दै अघि बढिरह्यो उहाँको साहित्य यात्रा । 

उहाँ एसएलसी पास गरेपछि नेपालगंजको महेन्द्र बहुमुखी क्याम्पसमा साइन्स पढ्न थाल्नुभयो । यो २०३८ सालको कुरा हो । तर, पार लागेन । बडो गाह्रो लाग्यो उहाँलाई । 

कमर्स पनि पढ्न सक्छु जस्तो लागेन उहाँलाई अनि घरमा पनि थाहा नदिईकन नै उहाँले आईएल पढ्न थाल्नुभयो । कानुनमा विभिन्न ‘केस’हरू पनि हुने । तर्क र विचारको प्रयोग हुने हुनाले होला, आईएल उहाँलाई रमाइलो लाग्न थाल्यो । सायद रुचि मिलेका कारण हो कि उहाँले आईएल राम्रो पनि गर्नुभयो । 

बीएल पढ्नका लागि २०४४ सालमा उहाँ काठमाडौं आउनुभयो । त्यसबेला बुटवलको तिनाउ खोलामा पुल नभएका कारण नेपालगंजबाट काठमाडौं आउँदा पहिले इण्डियाको गोन्डा जानुपथ्र्यो अनि गोन्डाबाट रेल चढेर सुनौली । सुनौलीबाट बस चढेर भीमफेदी हुँदै बल्ल ३ दिनको कष्टकर यात्रापछि काठमाडौं आइपुगिन्थ्यो त्यसबेला । काठमाडौं आउनु पनि महाभारत नै थियो । 

काठमाडौंमा कहाँ झरियो भन्ने याद छैन उहाँलाई । तर, त्यसबेलाको काठमाडौंको स्मरणमा साझा बस अहिले पनि बसेको छ उहाँको स्मृतिमा । त्यसबेला काठमाडौं ज्यादै ठूलो अनि सफा लाग्ने रहेछ उहाँलाई । मधेस भने सानो, कुचुक्क परेको अनि फोहोर लाग्ने रहेछ । तर, अहिले भने परिस्थिति उल्टिएको अनुभव गर्दै हुनुहुन्छ उहाँ । 

उहाँ सम्झनुहुन्छ- चाबहिल मामाघरबाट बालाजु बाइसधारा घुम्न जाने भनेको सिंगो एक दिनको कार्यक्रम हुन्थ्यो । बूढानीलकण्ठ पनि उस्तै । कति टाढा आएको जस्तो लाग्थ्यो । 

चाउचाउ र इस्कुसको तरकारी खाएको पनि राम्रै स्मरणमा बसेका छन् उहाँमा । झोँछेतिर हिप्पीहरू देख्दा पनि निकै अनौठो लागेको रहेछ उहाँलाई त्यसबखत । 

चक्रपथ बनिसकेको थिएन सायद । चाबहिलतिर भने पक्की सडक । नेपालगंजमा घर अगाडि ग्राभेल सडक थिए । उताका पसल साना लाग्ने, यताका भने ठूला र सफा पसल । नयाँ फेसन । सफा लुगा, कपडा । धरहरा नचढे पनि त्यसको बेग्लै छवि । घण्टाघर र वरपरको वातावरण बहुत रमाइलो लाग्ने । 

करिब एक/डेढ महिना काठमाडौं बस्दा त्यसबेलाको काठमाडौंको सुकिलो छवि राम्रैसँग कैद भएका छन् उहाँको स्मृतिमा । त्यसले पनि आफू आउनुपर्ने ठाउँ त यही पो रहेछ भनेर काठमाडौंप्रति एउटा मोह पलाएको सुनाउनुहुन्छ नयन । 

उहाँले काठमाडौं आएर बीएल पूरा गर्नुभयो । अधिवक्ताको लाइसेन्स पनि लिनुभएको छ तर आजसम्म एउटा तमसुक पनि लेख्नुभएको छैन । उहाँ भन्नुहुन्छ, ‘पढाइले भन्दा पनि मान्छेलाई उसको रुचिले कताकता लैजानेरहेछ ।’ 

अर्को कुरो, जागिर खान्नँ भन्ने एक प्रकारको विद्रोही चेत थियो रे उहाँमा । कसैको अधीनमा बसेर काम नगर्ने भन्ने । नत्र त उहाँ त्यसबेला साहित्यकारका रूपमा चिनिई पनि सकेको अनि एलएलएम नभएका कारण बीएललाई नै एमए सरहको मान्यता थियो । उहाँलाई कलेजमा पढाउने थुप्रै प्रस्ताव पनि आएका थिए रे ! तर, उहाँले कहिल्यै त्यसरी काम गर्नुभएन । 

पछिल्लो समय फर्केर हेर्दा आफूले गरेको उक्त निर्णय ठीकै थियो भन्ने लाग्छ उहाँलाई । ‘हुनत त्यसले केही धक फुकाएर खर्च गर्न पाइएन होला । तर, श्रीमती अनि छोराहरूले पनि कहिल्यै यो विषयमा राय नबझाएकाले पनि सजिलो भयो’, उहाँ भन्नुहुन्छ । टेलिफिल्मले उहाँलाई सामान्य गुजारा गर्न पुग्ने कमाइ दिएकाले पनि जागिर भनेर उहाँले भौँतारिनुपरेन । 

तर, त्यति हुँदाहुँदै पनि उहाँले दुई पटक भने अरूको अधीनमा बसेर काम गर्नुभएको छ । ‘स्पेसटाइम’ पत्रिका सुरु हुनु ६ महिनाअघिदेखि अरू ६ महिना गरी एक वर्ष उहाँले शनिबारको स्पेस विशेषको संयोजकको रूपमा काम गर्नुभयो । 

त्यसै समयमा उहाँले सिनेमाको पुरस्कार पाउनुभएको थियो । उक्त कुरा स्पेसटाइमका मालिक जमिम साहले थाहा पाएर उहाँकै च्यानल नेपाल टेलिभिजनको मनोरञ्जन विभागको प्रमुखको रूपमा पनि एक वर्ष काम गर्नुभयो । उहाँले जीवनमा जागिर खाएको भनेको यही २ वर्ष मात्र हो । 

तर, त्यतिञ्जेल उहाँको रुचि लेखनमा बसिसकेको थियो । त्यसबेला भर्खरभर्खर टेलिभिजनको सुरुवात पनि भएको थियो । उहाँलाई सिनेमामा पनि रुचि थियो ।  

उहाँको एक जना तँतँ मम गर्ने साथी लोकेन्द्र शाह त्यसबेला नेपाल टेलिभिजनमा काम गर्नुहन्थ्यो । लोकेन्द्रमार्फत उहाँको रमेश बुढाथोकीलगायतका निर्देशकसँग चिनजान भयो र सुरु भयो पटकथा लेखनको काम । पहिले पनि कथाहरू लेखिसकेको र पटकथा लेखनका सम्बन्धमा गुलजारका रचनाहरू पढेको हुनाले उहाँलाई खासै अप्ठ्यारो भएन । 

उहाँले लेखेको पहिलो टेलिफिल्म थियो ‘त्याग ।’ सानो ठाउँ अनि टेलिभिजनको प्रतिक्रिया पनि छिटै पाइने हुनाले त्यसले उहाँलाई उत्साहित बनायो । 

त्यसपछिको उहाँको ‘तृष्णा’ पनि राम्रै चर्चित भयो । त्यस वर्ष भएको टेलिफिल्म प्रतियोगितामा ‘त्याग’ उत्कृष्ट पनि भयो । त्यसबेलाको टेलिफिल्म ९, १० भागको हुन्थ्यो । 

तर, ‘जीवनयात्रा’ भन्ने उहाँको पटकथा रहेको टेलिफिल्म भने ५२ भागको थियो । उक्त टेलिफिल्म प्रयोगमूलक पनि थियो साथै निकै नै चर्चित भयो । 

पछि उहाँले निकै लामालामा सिरियल पनि लेख्नुभयो । ‘कसलाई आफ्नो भनौँ’ भन्ने टेलिफिल्म उहाँले ९८० सिरियलसम्म लेख्नुभएको छ । उहाँले करिबकरिब २५ सय/३ हजार भागसम्म उहाँले लेख्नुभएको छ । 

अर्को कुरा भनेको आफैँ नखेले पनि टेलिभिजनको स्क्रिनमा नाम आउँदा पनि त्यसले राम्रै परिचय दिन्थ्यो । अर्को भनेको त्यसले आर्थिक रूपमा टिक्न पनि राम्रै भरथेग गथ्र्यो । 

उहाँले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका डकुमेन्ट्री बनाउने काम पनि गर्नुभयो । त्यसले राम्रै आर्थिक उपार्जन हुन्थ्यो । यसले गर्दा उहाँलाई साहित्य र सिनेमामा समानान्तर रूपमा अगाडि बढिरहन पनि मद्दत गर्‍यो । 

उहाँको पहिलो सिनेमा भने ‘फेरि तिम्रो याद आयो’ हो, जसलाई रमेश बुढाथोकीले निर्देशन गर्नुभएको थियो । सिनेमा भने उहाँले अलिक पछि लेख्न थाल्नुभएको हो । यसको कारण टेलिभिजनको ग्ल्यामर बढी थियो त्यसबेला । सिनेमा लेख्न २-३ महिना लाग्ने साथै आर्थिक रूपले पनि त्यति लाभदायक नभइसकेको हुनाले त्यसो भएको रहेछ । 

तर पनि दोस्रो सिनेमाबाट उहाँले बेस्ट स्क्रिन प्ले मोसन पिक्चर अवार्ड प्राप्त गर्नुभएको थियो । सिनेमा थियो, ‘मलाई माफ गरिदेऊ ।’ 

तर, पछिल्लो समय साहित्यतिर बढी केन्द्रित भएपछि उहाँले लामो समय भयो सिनेमा लेख्नुभएको छैन । उहाँले पछिल्लो समय लेखेको चलचित्र भनेको माओवादी द्वन्द्वमा आधारित ‘मैना’ चलचित्र हो । 

पछिल्लो समय उहाँको पुस्तक ‘जियरा’को एउटा कथामा आधारित भएर चलचित्र बन्ने भएको छ । त्यसको पटकथाका लागि पनि उहाँलाई आग्रह गरिएको थियो । तर, उहाँले अब आफूमा त्यो धैर्य र रुचि दुवै नभएकाले त्यसलाई अस्वीकार गर्नुभएको अवस्था छ । 

विवाह

उहाँको विवाह २०४७ सालमा भएको हो- पारिवारिक मागी विवाह । विवाह भने भैरहवामा भएको हो । उहाँका २ छोरा । हाल दुवै छोरा अस्ट्रेलियामा हुनुहुन्छ । दुवै जना पढाइ सकेर काममा व्यस्त हुनुहुन्छ । 

सम्मान तथा पुरस्कार

नयनराजले हालसम्म विभिन्न विधामा सम्मान र पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँले प्राप्त गर्नुभएका प्रमुख सम्मान र पुरस्कार निम्नानुसार छन् ।

प्रकाशन 

उहाँको पहिलो प्रकाशित कृति २०४४ सालमा आएको हो । दुवै उपन्यास । ‘नांगो मान्छेको डायरी’ र ‘विक्रमादित्य, एउटा कथा सुन ।’ दुवै प्रयोगमूलक लेखन थिए त्यसबखत । 

दुवै कृति उहाँले नेपालगंज बसेर लेख्नुभएको हो । उहाँलाई त्यसबेला के लाग्यो भने नेपालगंज बसेर लेखेर त राष्ट्रिय लेखक हुन सकिँदैन । नेपालगंजमा के छ र, केवल गरिबी, आँसु अनि रोदन । 

त्यसबेलाको उहाँको लेखाइको पात्र रोजाइ तथा कल्पनामा पनि काठमाडौंका शहरीया, धनीमानी र सुकिला हुन्थे । 

तर, जब उहाँ काठमाडौं आएर पढ्न थाल्नुभयो त्यसबेला भने उहाँलाई ‘होमसिक’ जस्तो हुन थाल्यो अनि बल्ल उहाँलाई मान्छे किन जमिनसँग जोडिनुपर्ने रहेछ भन्ने थाहा भयो । उक्त कुरा श्यामलजीहरूले पनि उहाँलाई भन्नु थियो । २०४६ पछिको उहाँको लेखनीमा आकाश-जमिनको अन्तर पाइन्छ ।

२०५० सालमा साझा प्रकाशनले उहाँको ‘अतिरिक्त’ उपन्यास प्रकाशन गरेको थियो, जुन भिन्न यौनिकता भएका पात्रका विषयमा थियो । त्यस कारण पनि यसलाई भिन्न विषयवस्तुको मानिएको थियो त्यसबेला । 

त्यसपछि उहाँको अर्को चर्चित कृति ‘उलार’ २०५३ सालमा प्रकाशन भयो, जसको २५ वर्षे संस्करण अब बजारमा आउँदै छ । 

‘उलार’ उहाँले केवल ४ दिनमा लेखेको उपन्यास हो भने यसका कुनै पुनर्लेखन पनि गरिएको थिएन । तर, अहिले भने लेखनमा भन्दा पनि पुनर्लेखनमा धेरै समय खर्चिने प्रचलन छ । यसलाई उहाँ राम्रो सुरुवात भन्नुहुन्छ, जसका कारण पाठकले राम्रा र स्तरीय कृति पढ्न पाउँछन् । 

‘उलार’को सम्पूर्ण अंश पहिलो पटक ‘तन्नेरी’ साहित्यिक पत्रिकामा छापिएको थियो । पुस्तकका रूपमा प्रकाशन गर्न लाग्दा त्यसको प्लेट पनि हरायो भने श्यामलले लेखिदिनुभएको भूमिका पनि हरायो । त्यसपछि त्यो त्यसै थन्किराखेको थियो । 

२०५५ सालमा मात्र ‘उलार’ पुस्तकाकार रूपमा आएको हो । केवल ५०/५२ पेजको उक्त किताब केही मोटो बनाउन पनि त्यसबेला लेटर प्रेसमा छापियो । 

उक्त उपन्यास जोजसले पढे उनीहरूले राम्रो प्रतिक्रिया दिए । आमपाठकसम्म त्यसको खासै पहुँच भएन तर उहाँलाई पनि ठीकै छ भन्ने लाग्यो । 

त्यसबेलासम्म किताब छापिने भनेकै पाँचसय, हजार प्रति थियो । त्यो पनि कहिले त बेच्न पनि आफैँ हिँड्नुपथ्र्यो । बिक्री नभएर किताब पसलबाट पत्रिका अरू पुस्तक ल्याएर किताबको पैसा असुल्नुपर्ने अनौठो र बाध्यात्मक परिस्थिति थियो । 

तर, २०६३/०६४ सालपछि भने परिस्थिति केही बदलियो । फाइन प्रिन्ट जस्तो संस्थाले राम्रो गुणस्तरको किताब निकाल्ने, विज्ञापन गर्ने गर्न थाल्यो, जसले गर्दा एउटा बेग्लै माहोल तयार भयो । 

उक्त किताब पहिले साहित्यकार बुद्धिसागर तथा पत्रकार, लेखक यज्ञशहरूले पढ्नुभएको रहेछ । पछि फाइन प्रिन्टका अजित बराल अनि निरज भारीलाई उहाँहरूले ‘उलार’को रि-प्रिन्ट गर्ने कुरा गर्नुभएछ । 

विमोचन नै नभए पनि गगन थापा अनि मञ्जुश्री थापाले पछिल्लो संस्करणका बेला गुरुकुलमा भएको एउटा कार्यक्रममा उक्त किताबका बारेमा बोल्नुभएको थियो । ‘त्यसपछि मात्र ‘उलार’ले पुनर्जीवन प्राप्त गरेजस्तो भयो’, उहाँ भन्नुहुन्छ । 

उहाँका कृतिमा धेरै आञ्चलिक भाषा तथा पात्रको प्रयोग हुने गरेको छ । त्यसमा पनि विशेष गरेर मधेसको । मधेस उहाँको ‘कम्फर्ट जोन’ हो भन्ने ठप्पा पनि नलागेको होइन, यही कारण त्यसलाई चिर्नका लागि उहाँले हिमाली क्षेत्रको कथा बोकेको ‘सल्लीपिर’ प्रकाशनमा ल्याउनुभयो । 

‘सल्लीपिर’ अन्य उपन्यासभन्दा नचलेको भन्ने सन्दर्भमा पहिलो पटक १० हजार प्रति प्रकाशन भएको पुस्तकको एक महिनामा नै दोस्रो संस्करण निकाल्नुपरेको कारण उक्त आरोपमाथि सत्य नभएको उहाँ बताउनुहुन्छ साथै जसले पहिले ‘उलार’ र ‘लू’ पढेका थिए, त्यस्तै स्वाद खोजेका कारण त्यस्तो भएको हुन सक्ने उहाँ बताउनुहुन्छ । 

जसले ‘सल्लीपिर’बाट उहाँलाई पढ्न सुरु गरेका छन्, ती भने सल्लीपिरका ‘डाइहार्ट फ्यान’ भएका पनि उहाँ बताउनुहुन्छ । यसको बिक्री पनि अहिले ‘उलार’ तथा ‘लू’कै हाराहारीमा रहेको उहाँको भनाइ छ । 

नयनको पछिल्लो कृति ‘जियरा’ भने लामा कथाहरूको नयाँ प्रयोग हो । छोटा कथाहरूको प्रचलन रहेकामा लामा उपन्यासको स्वादसमेत रहेको लामा कथाहरूको प्रयोग भएको छ, ‘जियरा’मा । 

साथै आञ्चलिक लेखनमा मौलिकता मात्र सम्भव छ र प्रयोग सम्भव छैन भन्ने एउटा मतका प्रतिकूल गएर लेखौँ भन्ने सोचले काम गरेको छ, जियरामा । प्रारम्भको डेढ, दुई महिनामा यसको पनि राम्रो प्रतिक्रिया प्राप्त भएको उहाँले बताउनुभयो । 
नयनराजका हालसम्म प्रकाशित कृतिहरू निम्नानुसार छन् ः

उपन्यासहरू

कथासङ्ग्रहहरू

संस्मरण कृति

बालसाहित्य

 

अहिले बजारमा देखिएको बढ्दो उपन्यास लेख्ने प्रवृत्तिमा पैसाबाहेक अरू पनि केही जोडिएको छ कि ? भन्ने प्रश्नमा त्यसमा आंशिक सत्य रहेको उहाँ बताउनुहुन्छ । 

कुनै चलेका कविका चर्चित कविताहरू भनेको २ दर्जन हाराहारीमा हुन्छन् । ती कविता कुनै पत्रिका वा सामाजिक सञ्जालमा खोज्दा भेटिन सक्छ भने सभा, समारोहमा वाचन गरेका बेला पनि ती सुनिसकिएका हुन्छन् । पाठकले उसलाई चिनिसकेको हुन्छ ।

तर, कविता जस्तो सशक्त र छरितो माध्यमको प्रयोग उपन्यास लेखकले गर्न सक्दैन किनकि उसले कुनै सभा, समारोहमा उपन्यास वाचन गरेर सुनाउन सक्दैन । त्यसो हुनाले आमपाठकलाई उपन्यास किनेरै पढ्नुपर्ने बाध्यता रहेको र त्यसमा कतै न कतै पैसा जोडिएका कारण त्यसो भनिएको हुन सक्छ । 

जे होस्, नेपाली साहित्यमा लेखेर पनि राम्रै बाँच्न सकिन्छ भन्ने कुराको राम्रो उदाहरण बन्नुभएको छ नयनराज, जसले आगामी दिनमा ‘म साहित्यमा लागेरै जीवन बिताउँछु’ भन्ने नयाँ पुस्ताका लागि एउटा मार्ग प्रशस्त गरेको छ ।