पुष्पलाल स्मृति दिवस सन्दर्भमा सहयोद्धा स्याङ्बोलाई जेसुमको सम्मान

पुष्पलाल स्मृति दिवस सन्दर्भमा सहयोद्धा स्याङ्बोलाई जेसुमको सम्मान

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ९, २०७८

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक तथा महासचिव कमरेड पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा प्रगतिशील स्रष्टाहरूले उहाँका सहयोद्धा ९५ वर्षीय कवि हर्ष स्याङ्बोलाई सम्मान गरी कमरेड पुष्पलालको स्मरण गरेका छन् । साउन ७ गतेका दिन मनोहरा खोला किनारमा अवस्थित स्याङ्बोको निवासमा गई जेसुम अभियानका तर्फबाट स्रष्टाहरूले खादा ओढाएर स्याङ्बोप्रति सम्मान प्रकट गरेका हुन् । स्याङ्बो पुष्पलालका एक मात्र जीवित सहयोद्धा हुन् । पुष्पलालका प्रिय सहयोद्धा कवि स्याङ्बोका दुई कवितासङ्ग्रह प्रकाशित छन् ।

जेसुम अभियानका अभियन्ता अनिता लामा, स्नेह साय्मि, सुरेश हाचेकाली, दीपेन्द्र वनेपाली लगायतले कवि स्याङ्बोका एक एकओटा कविता पाठ गरेका थिए । कवि स्याङ्बोले चाहिँ कमरेड पुष्पलालका सम्बन्धमा प्रकाश पारेका थिए । जेसुम अभियानकी अभियन्ता कवि अनिता लामाले नेपाल कम्युस्टि पार्टीका संस्थापक तथा महासचिव  पुष्पलालको स्मृति दिवस मनाइरहँदा लामो समय कमरेड पुष्पलालसँगै आन्दोलनमा होमिएका तर गुमनाम जिन्दगी बिताइरहेका कमरेड पुष्पलालका सहयोद्धा तथा वयोबृद्ध कवि हर्ष स्याङ्बोलाई सम्मान गरी ४३ औँ पुष्पलाल स्मृति दिवस मनाएको बताइन् ।