देउवाले ‘प्रधानमन्त्रीको कुर्सी छाडेर’ ओलीको 'ह्याङओभर' मेटाउन खोजेका हुन् कि संयोग ?

लोकसंवाद टिप्पणी

देउवाले ‘प्रधानमन्त्रीको कुर्सी छाडेर’ ओलीको 'ह्याङओभर' मेटाउन खोजेका हुन् कि संयोग ?

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०७८

पाँचौँ पटक प्रधानमन्त्री भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरूको बैठक बोलाए । प्रधानमन्त्री देउवाले बालुवाटारमा बोलाएको शनिवारको बैठकसम्म आउँदा दुई वटा परिवर्तन देउवाले गरेका छन् । पहिलो उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराखेर धेरै नेता हुने पदाधिकारी बैठक पनि आफ्नै निजी निवास बुढानीलकण्ठमा राखे ।

दोस्रो शनिवारको बैठकमा देउवा प्रधानमन्त्रीको रुपमा प्रधानमन्त्रीको कुर्सीमा नबसी अन्य नेताहरूसँगै सोफामा बसेर छलफल गरे । यसअघिका प्रधानमन्त्री केपी ओलीकाका समयमा सयौँ उपस्थित हुने पार्टीका बैठकदेखि जन वर्गीय सङ्गठन र एमालेका पत्रकारको भेलासमेत बालुवाटारभित्रै आयोजना हुन्थ्यो । त्यति मात्रै होइन तत्कालीन नेकपा र २३ फागुनपछि केपी ओली पक्षको नेकपा एमालेका जम्बो बैठक/भेलाहरू बालुवाटारमा नै भए ।

एमालेको विवाद मिलाउन भन्दै बनेको कार्यदलको बैठक थलो पनि कहिले बालुवाटार त कहिले अर्थ मन्त्रालय बन्यो । यसरी हुने कार्यक्रमको सम्पूर्ण व्यवस्थापन पार्टीले गरेको भनिएपनि अन्ततः सरकारी ढुकुटीबाट नै खर्च गर्ने र राज्यको सम्पत्तिको दुरुपयोग गर्ने गरेका थिए । त्यसअघिका प्रधानमन्त्रीहरुले पनि आफ्नो कार्यकालमा बालुवाटारलाई पार्टी कार्यालय जसरी नै प्रयोग गर्दै आएका थिए । बहुदलपछिका सबैजसो प्रधानमन्त्रीले बालुटारबाटै देश र पार्टी चलाउने चेष्टा गरे । गणतन्त्रका प्रधानमन्त्रीहरुले पनि राज्य कोष माथिको ब्रम्हलुटलाई रोक्न सकेनन् ।

केपी ओलीको कार्यकालका पछिल्ला करिब एक वर्ष नेपाली राजनीतिमा निकै सकस देखियो । ओलीको ध्याउन्न नसरी पनि कुर्सी जोगाउनेमा मात्रै केन्द्रित भयो । संविधानमा सरकार गठनका सबै विकल्प उनले आफैँमा प्रयोग गर्न खोजे र शक्ति बालुवाटारमा केन्द्रित गरेका थिए । पार्टीभित्रकै आलोचकका समेत कुरा नसुनेर ओलीले सत्तामा एक प्रकारको मनमौजी स्थापित गर्न खोजेका थिए । गत निर्वाचनमा वामपन्थी गठबन्धनका कारण पाएको जनदेशलाई ओलीले आफ्नो सत्ता बचाउने अस्त्रका रुपमा प्रयोग गरे र संसद्, विपक्षीसहित संसद्मा रहेका अन्य दल, नेताहरूमाथि खनिन थाले । सांसदबाट प्रधानमन्त्रीमा ओलीको विकल्प दिन खोज्दा संसद्को गणितलाई आफ्नो पक्षमा पार्ने र नभएमा विघटन गर्नेजस्तो घृणित खेल खेले ।

देउवाले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेका नेताहरूलाई अपमान गर्दा ओलीको सत्ता गर्ल्यामगुर्लुम ढलेको याद गरेका छन् । त्यसैले उनी यो गठबन्धनलाई चिढ्याएर नभई फकाएर अघि बढ्न खोजेको देखिएको छ । उनले यस्तै व्यवहार सरकार सञ्चालनमा पनि देखाउन सके भने यसअघि लाग्दै आएको असक्षम प्रधानमन्त्री भन्ने दाग मेटाएर सर्वमान्य नेता बन्ने अवसर देउवालाई छ । 

जसका कारण एमालेकै माधवकुमार नेपालसहित अन्य सबै दल ओलीको विरुद्धमा उभिए र झन्डै दुई तिहाइ सांसदको समर्थनका प्रधानमन्त्री बनेका केपी शर्मा ओली पदबाट हट्दा सर्वोच्चको आदेशले हट्नुपर्‍यो । २७ वैशाखमा विश्वासको मत लिँदा ९३ सांसदको मात्रै समर्थन पाएर पदमुक्त भएका ओली ३ साउनमा शेरबहादुर देउवाले विश्वासको मत लिँदा देउवाको पक्षमा १६५ सांसद देखिए भने ओलीको पक्ष अर्थात् देउवालाई विश्वासको मत नदिने पक्षमा जम्मा ८३ सांसद मात्रै देखिनुले ओलीप्रतिको असन्तुष्टि देखाउँछ । 

यही पृष्ठभूमिमा प्रधानमन्त्री बनेका देउवाले आफ्नो कार्यकालको सुरुमा पार्टीको बैठक बालुवाटारमा नराखेर र सत्ता पक्ष दलका नेताहरूको बैठकमा आफू पनि समान हैसियतमा सहभागी भएर एउटा सन्देश दिन खोजेका छन् । 

शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्तारुढ गठबन्धनका शीर्षस्थ नेताहरूको बैठक बस्दा देउवाका लागि छुटाइएको कुर्सी खाली थियो । जुन बैठकमा दुई पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र दुई पूर्वउपप्रधानमन्त्रीहरु चित्रबहादुर केसी र उपेन्द्र यादव सहभागी थिए । दृश्यमा प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा अन्य चार नेता सँगै सोफामा बसेको देखिन्छ । प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष उपेन्द्र यादव दायातिरको सोफामा र प्रचण्ड, माधवकुमार नेपाल र चित्रबहादुर केसी बायाँतिरको सोफामा बसेका देखिन्छन् ।

देउवाको यो कदमले आफू गठबन्धनका शीर्ष नेताहरू समान रहेको सन्देश दिन खोजेको उनको सचिवालयले जनाएको छ । २०७४ को निर्वाचनमा निकै कम सिट जितेर दोस्रो ठुलो पार्टी बने पनि देउवाले केपी शर्मा ओलीको असफलता र पार्टीमा देखिएको विग्रहसँगै रुष्ट बनेका नेताहरूलाई साथ लिएर प्रधानमन्त्री बनेका हुन् । त्यसैले पनि उनले आफूलाई अरु दलका नेता सरह प्रस्तुत गरेको हुनसक्छ ।

अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट हटिसक्दा पनि पार्टीभित्र लामो समय नेतृत्व गरेका र पूर्व प्रधानमन्त्री समेत रहिसकेका नेताहरूलाई निरन्तर अपमानित गरिरहेका छन् र उनीहरूको अस्तित्व स्वीकार गर्न सकिरहेका छैनन् । बरु उनले आफू राजा महाराजा जस्तै भएको सङ्केत दिँदै पार्टीको विवादबिच समानान्तर गतिविधि गरिरहेका माधवकुमार नेपाल र उनी पक्षीय नेताहरूलाई 'आममाफी' दिएको भन्दै पार्टीभित्रको अन्तरसंघर्ष चलाउनेलाई अपराधी करार गर्न खोजिरहेको देखिन्छ ।देउवा कम्तीमा यो घटनाबाट सतर्क भएको यो घटनाले पनि देखाउँछ र उनले गठबन्धनका नेताहरू आफू सरह भएको सङ्केतसहित गठबन्धनको संस्कार देखाउने कोसिस गरेका  छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भएको समयमा पनि ओलीले आफूहरू जेट विमानका दुई पाइलट भएको भन्दै अध्यक्षको कुर्सी एक ठाउँमा राखेर समान हैसियत भएको सङ्केत गरेका थिए । तर पार्टीभित्र विवाद भइरहेका बेला एउटा बैठकका क्रममा तत्कालीन नेकपाका समान हैसियतका अध्यक्ष ओलीले प्रचण्डका कुर्सी आफू बस्ने ठाउँबाट हटाएको कुरा निकै चर्चामा थियो ।

नेकपाको कुर्सी काण्ड नजिकबाट हेरेका देउवाले कुर्सी छाडेर बैठक गरेका छन् । देउवाले सङ्केत गरेको जस्तै संसद्मा देउवा नेतृत्वको काँग्रेस र माओवादी केन्द्रको झन्डै बराबर हैसियत छ भने माधवकुमार नेपाल र उपेन्द्र यादव देउवा नेतृत्वको सरकार बचाउने ‘लाइफलाइन’ जस्तै बनेका छन् । त्यसैले पनि सरकार जोगाउन देउवाले गठबन्धनको संस्कृति फलो गर्नुपर्ने अवस्था छ । 

देउवाले राष्ट्रिय राजनीतिमा महत्त्वपूर्ण भूमिका खेलिरहेका नेताहरूलाई अपमान गर्दा ओलीको सत्ता गर्ल्यामगुर्लुम ढलेको याद गरेका छन् । त्यसैले उनी यो गठबन्धनलाई चिढ्याएर नभई फकाएर अघि बढ्न खोजेको देखिएको छ । उनले यस्तै व्यवहार सरकार सञ्चालनमा पनि देखाउन सके भने यसअघि लाग्दै आएको असक्षम प्रधानमन्त्री भन्ने दाग मेटाएर सर्वमान्य नेता बन्ने अवसर देउवालाई छ ।