३२औँ टोकियो ओलम्पिक: पदकमा चीन अगाडि, अरू देशको अवस्था यस्तो छ

३२औँ टोकियो ओलम्पिक: पदकमा चीन अगाडि, अरू देशको अवस्था यस्तो छ

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण १०, २०७८

जापानमा जारी ३२औँ टोकियो ओलम्पिक, २०२० मा अहिलेसम्म चीन ५ वटा पदकसहित शीर्ष स्थानमा छ । चीनले ३ वटा स्वर्ण र २ वटा कास्य पदक आफ्नो नाममा बनाइसकेको छ ।

चीनपछि पदक तालिकाको दोस्रो स्थानमा रहेको जापानले २ वटा स्वर्ण र एउटा रजत पदक हात पारेको छ । अमेरिकाले एउटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक जितेर तेस्रो स्थानमा छ । 

अस्ट्रेलियाले भने एउटा स्वर्ण, एउटा रजत र एउटा कास्य पदक मात्र  हातपारेको छ । रुसी खेलाडीले पनि स्वर्ण, रजत र कास्य गरी ३ वटा पदक जितेका छन् ।  

प्रतियोगितामा इटाली र ट्युनिसियाले एक स्वर्ण तथा २-२ रजत पदक हात पारेका छन् । आठौँ स्थानमा रहेको दक्षिण कोरियाले एउटा स्वर्ण र २ वटा रजत हात पारेको छ । हिजोसम्म दक्षिण कोरिया तेस्रो स्थानमा थियो । 

यसैगरी इक्वेडर, हँगेरी, इरान, कोसोभो र थाइल्यान्डले समान १-१ वटा स्वर्ण पदक जितेका छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट ४ खेलका ५ जना खेलाडी सहभागी छन् । जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियारले प्रतिस्पर्धा गरिसकेका छन् । हिजो सोनियाले रसियाकी डोल्गोभा इरिनासँग हार बेहोरिन् भने राष्ट्रिय कीर्तिमान बनाए पनि कल्पना अर्को चरणमा प्रवेश गर्न सकिनन् ।

२४ साउनसम्म संचालन हुने ओलम्पिकमा नेपालले एथलेटिक्स र पौडी खेलमा सहभागिता जनाउन बाँकी छ । पौडीमा गौरिका सिंह र एलेक्स शाहले नेपालको चुनौती प्रस्तुत गर्दै छन् । एथ्लेटिक्सतर्फ नेपालकी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् । १०० मिटर दौडमा उनी १५ साउनमा मैदान उत्रनेछन् ।

नेपालले ओलम्पिक खेलमा खासै उल्लेखनीय प्रदर्शन गर्न सकेको छैन । नेपालको प्रतिस्पर्धा भनेको सहभागितामा सीमित बन्ने गरेको छ । ओलम्पिकमा नेपालले खेलेका १४  संस्करणसम्मको खेलको इतिहासलाई हेर्दा कुनै उपलब्धि हासिल गर्न सकेको देखिँदैन ।

नेपालले सन् १९६४ मा जापानको टोकियोमै भएको १८औँ संस्करणको खेलबाट ओलम्पिक यात्रा सुरु गरेको थियो । अहिलेसम्म नेपालका ८५ खेलाडीले ओलम्पिकमा सहभागिता जनाइसकेका छन् तर कुनै पनि खेलाडीले आधिकारिक पदक हात पार्न सकेका छैनन् । नेपालका तेक्वान्दो खेलाडी दीपक विष्ट र सङ्गिना वैद्यले चाहिँ ओलम्पिक खेलको छनोट प्रतियोगिता पार गरेका थिए ।