कांग्रेस क्रियाशील छानबिन समितिले १२ साउनमा प्रतिवेदन बुझाउने, अधिवेशन प्रभावित

कांग्रेस क्रियाशील छानबिन समितिले १२ साउनमा प्रतिवेदन बुझाउने, अधिवेशन प्रभावित

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०७८

नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा अन्तिम प्रतिवेदन बुझाउने भएको छ ।

पूर्वनिर्धारित कार्यतालिकाभन्दा ढिलो गरी प्रतिवेदन बुझाउन लागेको लागेको समितिले देशभर करिब १०० वडामा १३औँ महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिन सिफारिस गरेको छ ।

सबैभन्दा बढी विवादित प्रदेश २ का सप्तरी र बारा जिल्लाको क्रियाशील सदस्यतामा समितिले सहमति जुटाउन सकेको छैन । समितिमा सहमति जुट्न नसक्दा बारा र सप्तरीमा नयाँ र समायोजनलाई स्थगन गर्न सिफारिस गरिएको छ । यी जिल्लाका विवाद पनि जटिल खालको भएकाले यस पटक नयाँ र समायोजनलाई स्थगन गर्ने निर्णय गरिएको एक सदस्यले बताए ।

समायोजनको विषयमा सिन्धुपाल्चोक र रसुवामा पनि विवाद देखिएको छ । समितिले यी २ जिल्लाबारे निर्णय गर्न केन्द्रीय पदाधिकारीलाई सिफारिस गरेको हो ।

धनुषा क्षेत्र नं.- ४ मा पनि विवाद देखिएको छ । त्यहाँ १३औँ महाधिवेशनकै क्रियाशील सदस्यतालाई लिएर विवाद कायमै भएकाले नयाँ र समायोजनमा पनि विवाद देखिएको हो ।

सर्लाही क्षेत्र नं.- २ मा समायोजनका विषयमा देखिएको विवाद कायमै रहेपछि १३औँ महाधिवेशनकै क्रियाशील सदस्यतालाई मान्यता दिइएको छ । सर्लाही- २ मा तत्कालीन राजपाका नेता जंगीलाल यादव कांग्रेस प्रवेश गरेका थिए । उनलाई दिइएको क्रियाशील सदस्यताका विषयमा अर्को पक्षले असन्तुष्टि जनाएको छ । बाराका केही नेता, कार्यकर्ताहरू २ सातादेखि पार्टी कार्यालय सानेपामा धर्नामा छन् ।

कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५३ हजार पुगेको छ । त्यसमध्ये करिब १२ हजार नयाँ र समायोजनको सदस्यता स्थगन गरिएको छ भने ३५ देखि ४० हजारले सदस्यता नवीकरण नगरेको समितिले जनाएको छ । विभिन्न देशमा रहेका कांग्रेस निकट जनसम्पर्क समितिको क्रियाशील सदस्यता सूची अझै समितिसँग आएको छैन ।

क्रियाशील सदस्यताको काम समयमै नटुंगिदा कांग्रेस महाधिवशेन कार्यतालिका प्रभावित भइसकेको छ । १२ साउनका लागि तय भएको वडा अधिवेशन पनि स्थगित भइसकेको छ । अन्य स्थानीय अधिवेशनको पनि कार्यतालिका प्रभावित भइसकेको छ । कांग्रेसले नयाँ कार्यतालिका भने सार्वजनिक गरेको छैन । कांग्रेसको १४औं महाधिवेशन भदौ १६-१९ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको थियो ।