उपराष्ट्रपतिको उपस्थितिमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

उपराष्ट्रपतिको उपस्थितिमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १०, २०७८

नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले आफैसँग राखेका छन् । श्रेष्ठ निजी विद्यालय संचालक पनि हुन् । 

राज्यमन्त्री श्रेष्ठले आजै सिंहदरबारमा शपथ लिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उपराष्ट्रपति नन्दबहादुर पुन, मन्त्रीहरूसमेतको उपस्थितिमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन् ।

यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो । शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरू सहभागी हुने प्रचलन थियो । शपथ समारोह राष्ट्रपति कार्यालयमै हुँदा पनि राज्यमन्त्रीलाई शपथ भने प्रधानमन्त्रीले नै गराउने प्रचलन थियो ।

तर, कोरोना महामारीको समय भन्दै राष्ट्रपति कार्यालयले राष्ट्रपतिले शपथ गराउनेबाहेक अरू पदाधिकारीको शपथ राष्ट्रपति कार्यालयमा गर्नु नपर्ने भनी उल्लेख गरेको थियो ।

केही दिनअघि महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग शपथ लिएका थिए । खातीको शपथमा राष्ट्रपति उपस्थित हुन नमानेपछि निकै आलोचना भएको थियो ।