राजनीतिका ‘बा’हरूलाई ‘ठेट्ना’हरूको 'हात-गोडा'ले सम्झाउने धम्की !
श्रावण १०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसद महेश बस्नेतले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई भौतिक आक्रमण गर्ने धम्की दिएछन् । एमाले निकट युवाहरूको समूह युथफोर्स काठमाडौं भ्याली कमाण्ड घोषणा तथा शपथ ग्रहण कार्यक्रममा बस्नेतले पूर्वप्रधानमन्त्री नेपाललाई ‘बातले नमाने’ ‘हात-गोडाले सम्झाउने’ बताएछन् ।

हुनत पार्टीको नवौँ महाधिवेशनबाट विजयी भएर केपी ओली अध्यक्ष भएदेखि नै ओली-नेपाल जुहारी त चलिरहेकै हो । 

ओलीसँग विगतदेखि नै अटुट र अविचलित रहेको ‘शक्ति’ भनेकै ‘डन’हरू अनि ‘खुरे तर्क’ हुन् । तिनै शक्तिको भरपूर उपयोग गर्न सिपालु ओलीले कहिले युथ फोर्सका नाममा त कहिले अखिलका नाममा आफ्ना विरोधीहरूलाई तर्साउने र धम्क्याउने गर्दै आएकै हुन् । अरूबेला विपक्षीहरूको ‘सात्तो खान’ प्रयोग हुने यी तत्त्वहरू अब भने आफ्नै दलका अग्रज र वरिष्ठ नेतामाथि खनिन सुरु गरेका छन् ।

पछिल्लो समय नेपाली राजनीतिमा भइरहेको उथलपुथल, सत्ता गिराउने र चढाउने खेल अनि एमालेलाई ‘विद्रुप’ बनाउने तथा निरंकुशपथमा हिँडिरहेका दम्भी र घमण्डी अध्यक्ष केपी ओलीको शेखी झार्ने काममा अग्रणी भूमिका निभाएका माधवकुमार नेपाल नै हुन्, यसमा दुई मत हुनै सक्दैन । र, पछिल्लो पटक झण्डै दुई तिहाइको आफ्नै दलको सरकार अपदस्त गरेर प्रतिपक्ष नेतालाई सरकार सुम्पिनमा माधव नेपालकै उल्लेख्य भूमिका हो ।

र, माधव नेपालहरूको यो कर्म एउटा इमान्दार, असल र कर्तव्यनिष्ठ लोकतान्त्रिक नेताका लागि सुहाउँदो त होइन नै कम्युनिस्ट नेताका लागि त यो आत्महत्या बराबर नै हो । माधव नेपालहरूले खासमा पछिल्लो कदम जे गरे, त्यो उनीहरूको राजनीतिक आत्महत्या हो । यस्तो कर्म विश्व इतिहासमै विरलै होला ।

रामायणमा कथा छ-रावणसँग सबैथोक थियो । सेना, शस्त्र, सम्पत्ति के थिएन रावणसँग ? तथापि, रामका हातबाट रावण मारियो । रावण मारिनुमा पराईको होइन, आफ्नै भाइको धोका हो, विश्वासघात हो ।

आज नेकपा एमालेको विभाजन, विद्रोह, राइफाँडो, गलफत्ती जे भनौँ, यसो भएर शक्तिशाली एमाले सत्ताको अवसान हुनुमा पनि एमालेभित्रका ‘विभीषण’हरूकै कारण हो ।

माधव नेपालहरू एमालेका विभीषण बनेकै हुन् । केपी ओलीको ‘नाभीमा अमृतको घडा छ, त्यो फुटाइदिएपछि मात्र ओली ढल्छन्’ भनेर विपक्षीलाई सुनाउने मात्र होइन, आफै धनुष समातेर माधव नेपालहरूले ओलीको नाभी, टाउको, शरीर सबैतिर एकसाथ प्रहार गरेका हुन् । उक्त प्रहार ओलीका निम्ति ठूलै रह्यो,जसको सामना गर्ने हैसियत, बल र नैतिक साहस ओलीले गुमाइसकेका थिए ।

तत्कालीन वाईसीएलभन्दा कडा, अराजक र विध्वंशक बन्ने बाटोमा गएको युथ फोर्स कसोकसो स्थिर रहेकै बेला जनप्रतिनिधिका रूपमा अनुमोदित, सांसदसमेत रहेका र पूर्वमन्त्रीसमेत बनिसकेका महेश बस्नेतको यो प्रकारको ‘उद्दण्ड’ सोच र व्यवहारलाई लिएर राजनीतिक वृत्तमा ओलोचना र टीका टिप्पणी हुनु स्वाभाविक नै हो

यसैबीच ओली-नेपालबीच वाकयुद्ध त निकै चल्यो, एकले अर्कालाई ‘ठेगान लगाउन’ पार्टीका साधारण सदस्यसमेतबाट कारबाही गर्ने शृंखला पनि चलिरहे । ‘भावनात्मक उत्तेजना’मा बगेर कहिले प्रस्टीकरण सोध्ने, कहिले कारबाही गर्ने अनि फेरि ‘भावनात्मक स्खलन’मा गएर कारबाही फिर्ता लिने, ‘आममाफी दिने’ क्रम पनि निरन्तर जारी छ ।

यसै क्रममा एमाले अध्यक्ष केपी ओलीले ठूलै अपराध गरेझैँ माधव नेपालहरूलाई तानाशाही शासकले क्षमादान गरे जसरी ‘आममाफी दिएँ’ भनेपछि हिजो नेता नेपालले ‘बडा महाराजाधिराजले आममाफी दिनुभयो, अब नाचौँ ?’ भनेर ओलीमाथि व्यंग्य गरेका थिए ।

नेता नेपालको उक्त व्यंग्यले ओलीका केही ‘अरिङ्गाल’ र ‘छोराछोरी’लाई खपिसक्नु भएन । ओलीका अत्यन्त नजिकका ‘पीएसओ’ ठान्ने पूर्वमन्त्रीसमेत रहेका महेश बस्नेतले माधव नेपाललाई नै ‘सबक’ सिकाउन ‘मुखले भनेको नबुझे हात-खुट्टाले बुझाउने’ धम्की दिए ।

बस्नेतले भने, ‘पार्टी नेताले आममाफी दिन्छु, एकताको प्रक्रियामा आउनुभन्दा केपी कमरेडलाई बडामहाराजको संज्ञा दिनुभयो हिजो एउटा ब्याङ्क्वेटमा बसेर । मुखले सम्झाउँछौँ । मलाई लाग्छ, मुखले सम्झाउँदै काफी हुन्छ । यदि मुखले सम्झाउँदा मानेनन् भने कहिलेकाहीँ हात-गोडाले पनि सम्झाउनुपर्ने हुन सक्छ ।’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको परमादेशविरुद्ध आफ्ना अनुयायीहरूलाई बटुलेर अदालत र नेता नेपालविरुद्ध नाराबाजी गरेका बस्नेतले अहिले बुबा समान आफ्नै पार्टीका वरिष्ठ नेतालाई धम्की दिएका छन् ।

गत २८ जेठमा कांग्रेसका बाग्मती प्रदेश सांसद नरोत्तम वैद्यले तत्कालीन प्रधानमन्त्री केपी ओलीमाथि आक्रमणको धम्की दिँदा एमालेले त्यसलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भनेको थियो । स्वयं महेश बस्नेतले नरोत्तममाथि तल्लोस्तरको टिप्पणी गर्दै वैद्यमाथि पनि धम्की दिएका थिए ।

एमालेले तत्कालीन समयमा माओवादीका युवा दस्ता योङ कम्युनिस्ट लिग (वाईसीएल)सँग भिड्नका लागि प्रजातान्त्रिक युवा संघले गठन गरेको युथ फोर्सका संस्थापक अध्यक्ष हुन् बस्नेत । तत्कालीन वाईसीएलभन्दा कडा, अराजक र विध्वंशक बन्ने बाटोमा गएको युथ फोर्स कसोकसो स्थिर रहेकै बेला जनप्रतिनिधिका रूपमा अनुमोदित, सांसदसमेत रहेका र पूर्वमन्त्रीसमेत बनिसकेका महेश बस्नेतको यो प्रकारको ‘उद्दण्ड’ सोच र व्यवहारलाई लिएर राजनीतिक वृत्तमा ओलोचना र टीका टिप्पणी हुनु स्वाभाविक नै हो ।

पानीको मूल सफा भए पो नदी सफा हुन्छ त भनेजस्तो देखिएको छ अहिले एमालेमा । विगतमा उद्दण्डता र अराजकताका अनेक शृंखलाबाट पार्टी नेतृत्वमा पुगेका केपी शर्मा ओलीले आफ्ना समर्थक, सहयोगी र भित्रियाहरू पनि महेश बस्नेतहरूलाई नै बनाएका छन् । यस्तै चरित्र र स्वभावकाहरूलाई काखी च्यापिरहनाले दुई तिहाइको कम्युनिस्ट सरकार त ढल्यो नै, आज आफ्नै नेतृत्वको पार्टीको यस्तो निरीह अवस्था छ तर केपी ओलीलाई यसको परवाह नै देखिँदैन ।

महेश बस्नेतजतिको एउटा जिम्मेवार व्यक्तिले पिता समान र निकै लामो समय पार्टीका लागि संघर्ष गरेका नेताहरूमाथि यस्तो तुच्छ, अमर्यादित र अराजक अभिव्यक्ति दिनुले अझै पनि महेश बस्नेत र केपी ओलीहरूको अधोगतिको यात्रा बाँकी नै छ भन्ने प्रस्ट हुन्छ ।


शर्मा समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।