जसपाको आधिकारिकता विवाद आजै टुंगिने

जसपाको आधिकारिकता विवाद आजै टुंगिने

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ११, २०७८

जनता समाजवादी पार्टीको वैधानिकता परीक्षणका लागि निर्वाचन आयोगले आज जसपाका दुवै पक्षलाई बोलाएर केन्द्रीय कार्यकारिणी सदस्यको सनाखत गराउँदै छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि पार्टी विभाजनको चरणमा छ । विभाजनपछि आधिकारिक दल कसको हुने भन्ने लडाइँ निर्वाचन आयोगसम्म पुगेको थियो ।

आयोग पटक पटक छलफल र बहसपछि अन्तिम निर्णय लिने तयारीका क्रममा दुवै पक्षमा खुलेका कार्यकारिणी सदस्यलाई हस्ताक्षरका लागि आयोगमा बोलाएको हो । आयोगमा भेला भएर जसको पक्षमा बहुमत सदस्य देखिन्छ, त्यही पक्षले पार्टीका आधिकारिता पाउनेछ ।

पार्टीको नाम, झण्डा र निर्वाचन चिह्न पाउने पक्ष आधिकारिक हुन्छ । अर्को पक्षलाई आयोगले नयाँ पार्टी दर्ता गर्न आह्वान गर्नेछ ।

निर्वाचन आयोगबाट आधिकारिकताका लागि उपेन्द्र यादव पक्ष अहिलेसम्म बलियो देखिएको छ । ५१ सदस्यीय कार्यकारिणी समितिमा ३२  जना यादवको पक्षमा खुलेका छन् ।

सोमबार बिहान हस्ताक्षरका लागि उनीहरू रिसोर्टबाट सिधै आयोग पुगेका छन् । कार्यकारिणी समिति र सांसदको संख्या ४० प्रतिशत पुग्ने अवस्थामा महन्थ ठाकुर पक्षमा देखिएको छैन ।