रेशमले मानेनन् जेलमा सनाखत गर्न, आयोग लगिँदै

रेशमले मानेनन् जेलमा सनाखत गर्न, आयोग लगिँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ११, २०७८

निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरूपण गर्न जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूलाई आयोगमै बोलाएर सनाखत गराउँदै छ । आयोगको कार्यालयमा उपेन्द्र यादव र महन्थ ठाकुर खेमाका नेताहरू पुगेका छन् ।

डिल्लीबजार कारागारका अनुसार जसपा कार्यकारिणी सदस्य रेशम चौधरीलाई निर्वाचन आयोगबाट जेलमा सनाखत गराउने विषयमा पत्र आएको भए पनि चौधरीले जेलमा सनाखत नगर्ने अडान लिएका छन् ।

२४ असार २०७७मा निर्वाचन आयोगमा दर्ता भएको जसपामा पछिल्लो समय आधिकारिकताको विषयलाई लिएर अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव खेमाबीच विवाद छ ।

जसपाको आधिकारिकता विवाद समाधान गर्न आयोगले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा ५ सदस्यीय इजलास गठन गरेको छ । सो इजलासले केन्द्रीय कार्यकारिणी सदस्य स्वयं उपस्थित भई सनाखत गर्नुपर्ने देखिएको भन्दै आज बिहान ११ बजे आयोगमा उपस्थित हुन गत ७ साउनमा आदेश दिएको थियो ।

त्यसविरुद्ध ठाकुरले निर्वाचन आयोग र अर्का अध्यक्ष यादवलाई विपक्षी बनाएर ८ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ । सर्वोच्चले १५ साउनमा विपक्षीलाई छलफलका लागि बोलाउन आइतबार आदेश दिएको थियो ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रेशम चौधरीले जेलबाट पार्टीको आधिकारिकतामा हस्ताक्षर नगर्ने अडान लिएपछि निर्वाचन आयोगमै उपस्थित गराइने भएको छ ।