नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरीयतामा सुधार

नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरीयतामा सुधार

लोकसंवाद संवाददाता  |  खेलकुद  |  श्रावण ११, २०७८

नेपाली राष्ट्रिय क्रिकेट टिमको टी-२० वरीयतामा सुधार भएको छ । नेपालले टेस्ट टोली आयरल्यान्डलाई पछि पार्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टी-२० वरीयतामा सुधार गरेको हो । आईसीसीले गरेको नयाँ वरीयता अपडेटमा नेपाल एक स्थान सुधार गर्दै १२औँ स्थानमा उक्लिएको हो ।

नेपालको १९ खेलबाट ३५५६ प्वाइन्ट र १८७ रेटिङ अंक प्राप्त गरेको छ। दक्षिण अफ्रिकासँग तीन टी-२० सिरिजमा क्लिनस्विपको सिकार भएपछि आयरल्यान्ड १३औँ स्थानमा झरेको हो । १३औँ स्थानमा रहेको आयरल्यान्डको २१ खेलमा १७८ रेटिङ अंक भए पनि नेपालभन्दा पछि छ ।

नेपाल एसोसियटतर्फ सर्वाधिक उच्च स्थानमा छ । नेपालभन्दा अघि ११औँ स्थानमा जिम्बावे र १०औँ स्थानमा बंगलादेश रहेको छ । इंग्ल्यान्ड शीर्ष स्थानमा रहँदा भारत दोस्रो, न्युजिल्यान्ड तेस्रो र पाकिस्तान चौथो स्थानमा रहेका छन् । अष्ट्रेलिया पाँचौँ,  दक्षिण अफ्रिका छैटौँ,  अफगानिस्तान सातौँ,  वेस्टइन्डिज आठौँ र श्रीलंका नवौँ स्थानमा छन् ।

नेपाल एक दिवसीयमा भने १६औँ स्थानमा यथावत छ । नेपालले पछिल्लो पटक गत वैशाखमा घरेलु मैदानमा नेदरल्यान्ड्स र मलेसियासँग त्रिकोणात्मक सिरिज खेल्दै उपाधि जितेको थियो । पछिल्लो ४ महिना कुनै टी-२० खेल नखेले पनि नेपाल आयरल्यान्डको हारको कारण वरीयता सुधार्न सफल भयो ।