उपेन्द्रले महन्थलाई भने, 'आत्मालोचना गरेर पार्टीमा फर्किए स्थान दिन्छौँ'

उपेन्द्रले महन्थलाई भने, 'आत्मालोचना गरेर पार्टीमा फर्किए स्थान दिन्छौँ'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ११, २०७८

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र  यादवले पार्टीको आधिकारिकता आफ्नो खेमाले पाउने निश्चित भएको भन्दै महन्थ ठाकुर पक्षलाई आत्मालोचना गरी फर्किए पार्टीमा स्वागत गर्ने बताएका छन् ।

निर्वाचन आयोगले 'हेड काउन्ट'का लागि कागजातसहित आज आयोगमा बोलाएको छ । कार्यकारिणी सदस्यमध्ये ३३ जनाले यादवको पक्षमा हस्ताक्षर गरेका छन् ।

महन्थ ठाकुर र राजेन्द्र महतोलाई आफूले पार्टीबाट नखेदेको बरु उनीहरू आफैँ बाटो बिराएर गलत नीतिलाई समर्थन गर्न पुगेका यादवको भनाइ छ । उनीहरूले गैरसंवैधानिक र प्रतिगमनकारी गतिविधिलाई समर्थन गरेकाले अब माफी मागेर आउनुपर्ने यादवले बताए ।

पार्टीको आधिकारिकता विवाद टुंगिनेबित्तिकै जसपा सरकारमा सहभागी हुने उनले बताए । ५१ जनाको कार्यकारिणी सभामध्ये जसपाको आधिकारिकताको पक्षमा हस्ताक्षर गर्ने ३४ जना पुग्ने भएका छन् । रेशम चौधरीले जेलबाट हस्ताक्षर गर्न नमानेपछि उनलाई हस्ताक्षरका लागि जेलबाट ल्याउने प्रबन्ध मिलाइएको छ ।