सांसदहरूको माग: 'प्रकोपपीडितलाई राहत देऊ, कुप्रथा अन्त्य गर'

सांसदहरूको माग: 'प्रकोपपीडितलाई राहत देऊ, कुप्रथा अन्त्य गर'

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण ११, २०७८

प्रतिनिधिसभाका सांसदहरूले कोरोना र बाढीपहिरो पीडितहरूका लागि गास र बासको तत्काल व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकका नेपाली कांग्रेसकी सांसद सुवर्ण ज्वारचनले कोरोना र बाढीपहिरो पीडितहरू भोकभोकै मर्ने अवस्था आएको भन्दै उनीहरूका लागि आवश्यक गास र बासको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरिन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सांसद एवं पूर्वमन्त्री थममाया थापाले कोरोनाको तेस्रो लहर आउन नदिन सरकारलाई सचेत गराइन् ।

पूर्व महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याणमन्त्रीसमेत रहकी थापाले बालबालिकाहरू दुर्व्यसनमा फस्ने क्रम कोरोना कालमा झनैं बढदै गएको उल्लेख गर्दै उनले त्यसो हुन नदिन सरकार सजग हुनुपर्ने धारणा राखिन् ।

समितिका सदस्य कांग्रेस सांसद हीरा गुरुङले बालिकाहरूमाथि बलात्कारपछि हत्या गर्ने क्रम बढिरहेकामा आक्रोश व्यक्त गर्दै पीडितलाई न्याय दिने काममा ढिलाइ नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन् ।

उनले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको परिवारले अझै न्याय नपाएको भन्दै पीडितलाई न्याय दिने काममा सरकार गम्भीर नभएको आरोपसमेत लगाइन् । 

बैठकमा सांसदहरूले सामाजिक कलंकको रूपमा रहेको छाउपडी प्रथा, बोक्सी, दाइजो जस्ता प्रथा अन्त्य गर्न सामाजिक अभियान नै चलाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराए ।