ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

ट्युनिसियाका राष्ट्रपतिद्वारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

लोकसंवाद संवाददाता  |  विदेश  |  श्रावण ११, २०७८

ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गर्दै प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेका बताइएको छ । राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेका बताइएको छ ।

आइतबार राती उनले यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका हुन् । राष्ट्रपति काइसले चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर दिइएको छ । त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैँले गरेका छन् । उनले अकस्मात गरेको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैँले सरकारको नेतृत्व गर्ने बताएका छन् ।

यहाँको संसद पनि निलम्बन गरेर सबै सांसदहरूको पद स्वत: खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराइएको छ । आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए । उनीहरूले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनका लागि आह्वान गर्न माग गरेका थिए ।