नेपालीहरूको अमेरिकामा संस्था स्थापना : आर्थिक उत्थान, धार्मिक सहिष्णुता लक्ष्य

नेपालीहरूको अमेरिकामा संस्था स्थापना : आर्थिक उत्थान, धार्मिक सहिष्णुता लक्ष्य

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७८

अमेरिका । आर्थिक उत्थान, धार्मिक सहिष्णुता र सामाजिक समानताका लागि योगदान पुर्‍याउने उद्देश्यले नेपाली मूलका इसाई प्रोफेसनल र व्यवसायीहरु कन्सेप-इन्टरनेशनल नामक संस्था अमेरिकामा स्थापना गरिएको छ । कन्सेप-इन्टरनेशनलको आधिकारिक रुपमा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा  २४, जुलाई २०२१ (२०७८  साउन ९ शनिवार) उद्घाटन समेत  गरिएको छ ।

अमेरिकाबाट प्राप्त खबर अनुसार कन्सेप- इन्टरनेशनल (Coalition of Nepalese Christian Entrepreneurs & Professionals-CONCEP), अमेरिका लगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई प्रोफेसनल र व्यवसायीहरूको समूहलाई समेटेर गठन गरिएको बत्ताइएको छ ।  कन्सेप- इन्टरनेशनलले नेपाल लगायत अन्तर्राष्ट्रिय समुदायमा धार्मिक सहिष्णुता, सामाजिक समानता र आर्थिक उत्थानको प्रवर्द्धन गर्ने लक्ष्य लिई  अमेरिकाको टेक्सस राज्यमा एउटा गैर- सरकारी संस्थाको रुपमा दर्ता समेत गरिएको  छ । 

प्राप्त खबर अनुसार कन्सेप-इन्टरनेशनलको अध्यक्षमा  क्रिस काफ्ले,महासचिव डा. विष्णु रेग्मी, युएस कार्यकारिणीको अध्यक्ष डा. सजन जोशी लगायत एघार सदस्सीय बोर्ड र पन्ध्र सदस्सीय युएस कार्यकारिणी समिति गठन गरिएको छ । यसैगरी  इन्टरनेशनल ईयु र नेपालको कार्यकारिणी समितिहरू पनि गठन गरिने प्रक्रियामा रहेको जानकारी  दिएको थियो । 

कन्सेप- इन्टरनेशनलका कार्यकारिणी समिति उपाध्यक्ष रमेश मैनालीले दिएको जानकारी अनुसार संस्थाको मिसन भिजनलाई व्यापक रुपमा अघि  बढाउनको निम्ति अमेरिकाको राजधानी वासिङ्टन डिसीमा यही जलाई २३ र २४  दुई दिने उद्घाटन समारोहको आयोजना समेत गरिएको  थियो ।  वासिङ्टन डिसी स्थित ग्रेस नेपाली नेपाली चर्चमा कार्यक्रमको आयोजना गरिएको थियो । 

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले उद्घाटन गर्ने कार्यक्रम रहेकोमा अन्तिम समयमा व्यक्तिगत कारण देखाइ अनुपस्थित हुनुभएपछि उहाँको प्रतिनिधिका रुपमा नेपाली दूतावासका आर्थिक सल्लाहकार होमकान्त भण्डारीको उपस्थितिमा उक्त उद्घाटन समारोह सम्पन्न भएको थियो । राजदूत डा. खतिवडाको अनुपस्थित भए पश्चात् कन्सेप-इन्टरनेशनलको औपचारिक उद्घाटन  एनआरएन एनसीसी अमेरिकाका नवनिर्वाचित अध्यक्ष बुद्धि सागर सुवेदी र कन्सेप-इन्टरनेशनलका अध्यक्ष क्रिस काफ्लेद्वारा संयुक्त रुपमा रिबन काटेर गरिएको थियो ।

उद्घाटन समारोहमा सहभागीहरूलाई महासचिव डा. विष्णु रेग्मीले स्वागत गर्नु भएको तियो । उपाध्यक्ष रमेश मैनालीले अतिथिहरूको परिचय  गराउनुभएको थियो  । उद्घाटन समारोहमा अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक मामिला  तथा स्वतन्त्रता आयोगकी कार्यकारी  निर्देशक श्रीमती एरिन डी. सिगंहिन्सकले पठाउनु भएको शुभकामना सन्देश समेत वाचन गरिएको तियो । 

उद्घाटन समारोहमा कन्सेप-इन्टरनेशनलका अध्यक्ष क्रिस काफलेले  मिसन/भिजन सहित  बोर्ड र पदाधिकारीहरूको परिचय गराउनु भएको थियो । उद्घाटन समारोहलाई  एनआरएन एनसीसी अमेरिकाका नवनिर्वाचित  अध्यक्ष बुद्धि सागर सुवेदी ह्वाईट हाउस प्रेसिडन्टल एड्भाईजरी कमिसन फर एसियाका कमिशनर रेभ. हर्मन मार्टिर, नेपाल राजदूतावास आर्थिक  सल्लाहकार होमकान्त भण्डारी, रेस्टन बाइबल चर्चका कार्यकारी पास्टर ब्रसु क्याम्बेल तथा मेरिल्यान्ड लेजिस्लेटीभ डिस्ट्रिक्टका सांसद ह्यारी भण्डारीले शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसैगरी उक्त अवसरमा कार्यक्रमका विशेष वक्ता डा. मनोज श्रेष्ठले कन्सेप किन ?  न्याय र समानताको विषयमा पैरवी नै  किन ?  भन्ने बारे अबका चुनौती  सहितको  प्रस्तुति दिनु भएको थियो ।

उक्त अवसरमा कन्सेप युएसका कार्यकारिणी अध्यक्ष डा. सुजन जोशीले कन्सेपको भावी कार्य योजना बारे  भिडियो मार्फत जानकारी गराउन भएको तियो । कार्यक्रममा युके, जापान, नर्वे, अस्ट्रेलिया, इजरायल लगायतका विभिन्न देशहरूबाट कन्सेप-इन्टरनेशनलाई भिडियो मार्फत प्राप्त शुभकामना सन्देश प्राप्त भएको जानकारी गराइएको थियो । 

कार्यक्रम हुनु पूर्व नै  जुलाई २३ तारिखका दिन कन्सेप-इन्टरनेसनलका पदाधिकारीहरूको टोलीले अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक मामिला तथा स्वतन्त्रता आयोगकी कार्यकारी निर्देशक श्रीमती एरिन डी. सिगंहिन्सकले सामूहिक रुपमा भेटी कन्सेप-इन्टरनेशनलको मिसन भिजनबारे अवगत गराउँदै धार्मिक सहिष्णुता, सामाजिक समानताका लागि सहकार्यको  निम्ति छलफल गरिएको समेत जानकारी गराइएको थियो । उक्त भेटघाट कार्यक्रम पश्चात् कन्सेप- इन्टरनेसनलका पदाधिकारीहरूको टोलीले नेपाली राजदूतावासमा गई कन्सेप-इन्टरनेशनलको मिसन भिजनबारे अवगत गराइ अमेरिका लगायत विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली मूलका इसाई  प्रोफेसनल र व्यवसायीहरु मिलेर नेपालको आर्थिक उत्थान, धार्मिक सहिष्णुता र सामाजिक समानताका लागि  के कस्तो योगदान र कसरी पुर्‍याउन  सकिन्छ भन्ने विषयमा छलफल गरी सकिएको कन्सेपका उपाध्यक्ष पा.वासु प्रसाईँ जानकारी गराउनु भएको  थियो । 

नेपाल संविधानले प्रत्येक नेपालीलाई वाक् स्वतन्त्रता र धार्मिक स्वतन्त्रता दिइसकेको अवस्थामा पनि इसाईहरूको महान् चाड क्रिसमसमा वर्षौँदेखि दिई आएको सार्वजनिक बिदा सरकारले कटौती गरी इसाईहरू प्रति भेदभाव गरेको प्रस्ट देखिएकोले, कन्सेप-इन्टरनेशनलको प्रतिनिधिहरूको प्रतिनिधि मण्डलले  महामहिम राजदूत मार्फत सो कटौती गरेको सार्वजनिक बिदालाई पुनर्स्थापित  गरी २०२१ डिसेम्बर २५ मा क्रिसमसको दिनलाई सार्वजनिक बिदाको रुपमा घोषणा गर्नको लागि नेपाल सरकार समक्ष अपिल गरेको  जानकारी समेत गराइएको थियो । 

जलाई २३ तारिखका दिन नै कन्सेप- इन्टरनेसनलका पदाधिकारीहरूले अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित क्यापिटल बिल्डिङमा गई अमेरिकाको वर्तमान सरकार, संसद् र काँग्रेस तथा अमेरिका र नेपाल सम्बन्ध र सहकार्यको लागि विशेष प्रार्थना समेत गरिएको थियो । 

कार्यक्रमको मिडिया पार्टनरहरूको सहकार्यमा  उद्घाटनको कार्यक्रमको  विभिन्न सोसल मिडियाहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो र यसलाई तुरही  न्युज तथा  जीवनको यात्राको युट्युब च्यानल तथा  फेसबुकमार्फत प्रत्यक्ष रुपमा प्रसारण समेत गरिएको थियो ।