३ वटा प्रदेशका प्रमुख फेर्ने तयारीमा सरकार

३ वटा प्रदेशका प्रमुख फेर्ने तयारीमा सरकार

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७८

शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ३ वटा प्रदेशका प्रदेश प्रमुख फेर्न तयारी गरेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार सरकारले प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी गरेको हो ।

प्रदेश २ मा राजेश झा अहिराज, गण्डकीमा सीता पौडेल र लुम्बिनीमा धर्मनाथ यादव प्रदेश प्रमुख छन् । प्रदेश २ मा तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेर गत ७ फागुनमा अहिराजलाई प्रदेश प्रमुख नियुक्त गरिएको थियो । गण्डकी प्रदेशमा तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनलाई बर्खास्त गरेर गत २० वैशाखमा पौडेल प्रदेश प्रमुख नियुक्त भएकी थिइन् । लुम्बिनी प्रदेशमा भने यादव १८ कात्तिक २०७६ मा प्रदेश प्रमुखमा नियुक्त भएका थिए ।

सरकार परिवर्तनसँगै प्रदेश प्रमुखहरू फेरिँदै आएका छन् । सुरुमा देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरू केपी ओली सरकारले पूरै परिवर्तन गरेको थियो । माओवादी सत्ताबाट बाहिरिएपछि पुन: तत्कालीन प्रधानमन्त्री ओलीले यी प्रदेशका प्रमुखहरू परिवर्तन गरेको थियो ।