एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

एक हजार नेपालीका लागि खुल्यो इजरायलमा रोजगारी

रासस  |  समाचार  |  श्रावण १२, २०७८

लामो समयको तयारीपछि नेपाली श्रमिकले इजरायलमा रोजगारी पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज सूचना जारी गर्दै औपचारिक रूपमा इजरायल रोजगारीका लागि खुला भएको जनाएको हो ।

सरकारी प्रक्रियाबाट कामदार पठाउने सम्झौतानुसार आवेदन खुला गरिएकामा पहिलो चरणमा इजरायलले सुसारे (केयरगिभर) कामका लागि एक हजार नेपाली श्रमिकको आवेदन खुला गरेको छ । सूचनामा ३०० पुरुष र ७०० महिला कामदारले रोजगारीको अवसर पाउने र तिनका लागि मासिक तलब ५ हजार ३०० एनआईएस (एक लाख ९३ हजार रुपैयाँ) तोकिएको छ । तलब सातामा ४२ घण्टाको हिसाबमा प्रदान गरिने जनाइएको छ । सरकारले गत वर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५०० कामदार पठाउने समझदारी गरेको थियो ।

इजरायल जाने कामदारले खानाको प्रबन्ध आफैँले मिलाउनुपर्ने तर बस्ने प्रबन्ध भने रोजगारदाताले नै उपलब्ध गराउने भएको छ । रोजगारीमा जाने करार अवधि एक वर्षको हुने भए पनि करार थपेर ५ वर्षसम्म बस्न पाइने जनाइएको छ ।

आवेदनको मापदण्ड

रोजगारीका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । आवेदकको उचाइ कम्तीमा १.५ मिटर र ४५ किलो तौल भएको भएको हुनुपर्ने, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी तालिम लिएको  हुनुपर्ने वा १० जोड २ सरह उत्तीर्ण गरी मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी ३ महिना तालिम लिएको  हुनुपर्ने जनाइएको छ ।

आवेदन दिनेहरू विगतमा इजरालयलमा गई काम नगरेको र तिनका बुबाआमा, पतिपत्नी वा छोराछोरी त्यहाँ बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्नेछ ।