क्रियाशील सदस्यता छानबिन समितिले बुझायो प्रतिवेदन, शत प्रतिशत थिपए क्रियाशील

क्रियाशील सदस्यता छानबिन समितिले बुझायो प्रतिवेदन, शत प्रतिशत थिपए क्रियाशील

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७८

नेपाली कांग्रेसले ४ लाखभन्दा बढी नयाँ क्रियाशील सदस्य बनाएको छ । १४औँ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५२ हजार ७११ जनालाई कांग्रेसको क्रियाशील सदस्यता प्रदान गरिएकामा ४ लाख ९ हजार ३३ जना नयाँ क्रियाशील सदस्य थपिएका क्रियाशील सदस्यता छानबिन समितिका एक सदस्यले जानकारी दिए ।

समितिले आज पार्टी सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा ४ लाख ४३ हजार ६७८ जनाले नवीकरण गरेका छन् । १३औँ महाधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य थिए । समितिले बुझाएको प्रतिवेदनमा ६ लाख ५३ हजार ४३८ पुरुष क्रियाशील सदस्य रहेका छन् भने महिला सदस्यता १ लाख ९९ हजार ९७ जना मात्र छन् । अन्यमा १७६ क्रियाशील सदस्य रहेका छन् ।

कांग्रेसमा ४० वर्षमुनिका क्रियाशील सदस्यको संख्या झण्डै ३ लाख पुगेको छ । १८ देखि २५ वर्षसम्मका क्रियाशील सदस्यको संख्या ४० हजार ४२७ रहेको छ भने २६ देखि ४० वर्षका २ लाख ४९ हजार ७७४ क्रियाशील सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै ४१–६० वर्षका ३ लाख २८ हजार २३४ छन् भने ६१–७५ उमेर समूहका क्रियाशील सदस्यको संख्या ८३ हजार १० रहेको छ । ७६ वर्षमाथिका क्रियाशील सदस्य ११ हजार ७८२ जना रहेका छन् ।

यसरी नै कांग्रेसमा क्रियाशील सदस्यता संख्या सबैभन्दा बढी खस–आर्य समुदायको छ । खस–आर्यतर्फ ३ लाख ६७ हजार ६११ क्रियाशील सदस्य रहेका छन् भने आदिवासी जनजातितर्फ २ लाख ८ हजार १५९ जनाले क्रियाशील सदस्यता पाएका छन् । अल्पसंख्यक ६ हजार ८२९, मधेसी ९५ हजार १४१, मुस्लिम १६ हजार ९७०, थारु २७ हजार ६१५ र पिछडिएको क्षेत्रका १४ हजार ९१४ जनालाई क्रियाशील सदस्यता प्रदान गरिएको छ । अपांगता भएका क्रियाशील सदस्यता जम्मा २०१ जना रहेको प्रतिवेदनमा उल्लेख छ ।

७ वटा प्रदेशमध्ये सबैभन्दा बढी क्रियाशील सदस्यता बाग्मती प्रदेशमा रहेको छ । बाग्मतीमा एक लाख ८६ हजार १४३ क्रियाशील सदस्यता रहेकोमा कर्णालीमा सबैभन्दा कम जम्मा ५४ हजार ५६६ क्रियाशील सदस्य रहेका प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले आगामी १६-१९ भदौका लागि महाधिवेशन तोकेको थियो तर क्रियाशील विवादलगायतका कारण आजदेखि सुरु हुनुपर्ने स्थानीय तहको अधिवेशन गर्न सकेको छैन । यसले महाधिवेशन पनि प्रभावित हुने आँकलन गरिएको छ ।