पूर्वसभामुख महराले उच्चअदालतबाट पनि सफाई पाए

पूर्वसभामुख महराले उच्चअदालतबाट पनि सफाई पाए

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७८

संसद सचिवालयकी एक महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । 

जबर्जस्ती करणी उद्योग मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनले मंगलबार काठमाडौं जिल्ला अदालतको सुरु फैसला सदर गरेको हो । न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले महरालाई सफाई दिने काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको हो ।

महरा सभामुख रहेका बेला संसद सचिवालयमा काम गर्ने एक महिला कर्मचारीले आफूमाथि जबर्जस्ती करणीको प्रयास गरेको भन्दै मुद्दा दायर गरेकी थिइन् । 

१४ असोज २०७६ मा पदबाट राजीनामा दिएका महरा १९ असोजमा सभामुख निवासबाटै पक्राउ परेका थिए । 

१८ कात्तिकदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका महरालाई ५ फागुन २०७६ मा काठमाडौं जिल्ला अदालतले निर्दोष रहेको फैसला सुनाएको थियो ।