नेप्सेले राख्यो अर्को रेकर्ड, पुग्यो ३०५८.६३ विन्दुमा

नेप्सेले राख्यो अर्को रेकर्ड, पुग्यो ३०५८.६३ विन्दुमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  श्रावण १२, २०७८

शेयर बजार परिसूचक नेप्सेमा आज नयाँ रेकर्ड बनेको छ । कारोबार हुने तेस्रो दिन मंगलबार २९.२४ अंकले बढेको नेप्से परिसूचक ३०७९.६७ अंकमा पुगेर रोकियो ।

यो अहिलेसम्मकै उच्च विन्दु हो । यसअघि आइतबार नेप्सले उच्च विन्दु छोएको थियो । सो दिन ३०५८.६३ विन्दुमा रहेको बजारमा आज रेकर्ड बनेको हो । मंगलबार बजार सुरु हुनासाथ उच्च अंकले घटेको बजार अपराह्नपछि भने सम्हालिएको थियो ।

अन्तिम एक घण्टा भने बजार बढ्न थालेको थियो । सोमबार ३०५०.४२ अंकमा रोकिएको बजारमा आज सोमबार साँझ राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित विभिन्न निर्देशनले सो क्षेत्रमा भने केही प्रभाव पारेको छ ।

मंगलबार बैंकिङ, व्यापार, होटेल र पर्यटन तथा अन्य समूहको परिसूचक घटेको छ । तर, लगानीकर्ता भने उत्पादन तथा प्रशोधन र जलविद्युतमा झुम्मिएका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.७४ र जलविद्युत समूहको परिसूचक ३.७५ प्रतिशतले बढेको छ ।

मंगलबार कुल २२५ कम्पनीको १ लाख ४१ हजार ६५२ कारोबार भयो । यी कारोबारबाट कुल ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच भएको छ । मंगलबार कुल १५ अर्ब १७ करोड ६ लाख ५१ हजार ६४३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कुल १४ कम्पनीको मूल्य सर्किट लेवलमा बढ्यो । धेरै कमाउनेमा मल्टी प्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्ससहितका कम्पनीको मूल्य १० प्रतिशतभन्दा बढीले बढेको छ । सपोर्ट माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको मूल्य भने बढी घट्नेमा रह्यो ।