प्रदेश प्रमुखमा पुरानैले देखाए रुचि

प्रदेश प्रमुखमा पुरानैले देखाए रुचि

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १२, २०७८

वर्तमान सरकारले प्रदेश प्रमुखहरू परिवर्तन गर्ने तयारी गरेसँगै पुरानै प्रदेश प्रमुखहरूले पुन: रुचि देखाउन थालेका छन् । आज मात्र गण्डकी प्रदेश प्रमुखका लागि नेकपा माओवादी केन्द्रबाट तत्कालीन प्रमुख अमिक शेरचनको नाम सिफारिस भएको छ भने प्रदेश २ का लागि पुरानै तिलक परियारको नाम चर्चामा छ ।

यसरी नै नेपाली कांग्रेसको कोटाबाट प्रदेश प्रमुख हुन खोज्नेहरूमा पनि पुराना प्रदेश प्रमुख नै अगाडि देखिएका छन् । २०७४ सालको प्रदेशसभा निर्वाचनलगत्तै सरकारको नियुक्तिमा परेका प्रदेश प्रमुखले नै कांग्रेसका तर्फबाट रुचि देखाएका एक नेताले बताए । निर्वाचनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ७ वटै प्रदेशमा कांग्रेसको कोटाबाट प्रदेश प्रमुख नियुक्त गरेका थिए । त्यतिबेला नियुक्त भएकामध्ये अनुराधा कोइराला र गोविन्द सुब्बाले दोहोरिने इच्छा देखाएका छन् ।

यसअघि कोइराला बाग्मती प्रदेश र सुब्बा प्रदेश १ मा प्रदेश प्रमुख नियुक्त भएका थिए । अहिले गठबन्धनको सरकार भएकाले कांग्रेसको भागमा २ वटा कोटा परेको छ । त्यसैले कोको दोहोरिने वा नयाँ आउने भन्ने चाहिँ कांग्रेसभित्र टुंगो लागेको छैन । पहिलो चरणमा लुम्बिनी, गण्डकी र प्रदेश २ का प्रदेश प्रमुख मात्र हटाउने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।