बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, मन्त्रीको विषयमा छलफल हुँदै

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, मन्त्रीको विषयमा छलफल हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  श्रावण १३, २०७८

मन्त्रिपरिषद् बिस्तारका लागि सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । मन्त्रिपरिषद् बिस्तार तथा सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनका शीर्ष नेताहरू सहभागी भए पनि एमालेको माधव नेपाल खेमाले भने बैठकमा डा. विजय पौडेललाई पठाएको छ । 

पार्टी एकताको पक्षमा क्रियाशील नेताहरूले वातावरण बिग्रने भन्दै नेपाललाई गठबन्धनका बैठकमा सहभागी नहुन आग्रह गरेपछि नेपाल सहभागी नभएका नेपाल निकट एक नेताले बताए ।

नेपालसँग माओवादी अध्यक्ष प्रचण्डले मंगलबार पनि छलफल गरेका थिए । नेपालले एमाले एकताको प्रयास चलिरहने र आफ्नो पक्ष पनि सरकारमा सहभागी हुने बताएका थिए । मन्त्रालय भागबण्डा र मन्त्रिपरिषद् बिस्तारबारे माधव नेपालसहित शीर्ष नेताहरूले पुनः छलफल गरेपछि टुंगो लाग्ने बताइएको छ ।

जनता समाजवादी पार्टीको आधिकारिकता विवाद टुंगो लागेपछि आज बस्ने कार्यकारिणी बैठकबाट मन्त्रीको टुंगो लगाउने जनाएको छ । त्यसका लागि आज कार्यकारिणी समितिको बैठक बस्दै छ ।