सभापतिदेखि सबै पदाधिकारीमा युवाहरूको मात्र प्यानल नै उम्मेदवारी हुनेछ : कांग्रेस नेता गुरुराज घिमिरे

सभापतिदेखि सबै पदाधिकारीमा युवाहरूको मात्र प्यानल नै उम्मेदवारी हुनेछ : कांग्रेस नेता गुरुराज घिमिरे

आशिष पौडेल  |  लोकसंवाद  |  श्रावण १३, २०७८

झण्डै दुई तिहाइ बहुमतप्राप्त वामपन्थी गठबन्धनको केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमन, नेकपा एमालेभित्रैका अनेकौँ किचला र लफडाका कारण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको काँधमा आइलागेको सरकारको नेतृत्व, कांग्रेस पार्टी स्वयंको आसन्न १४औँ महाधिवेशनका सन्दर्भमा रहेर कांग्रेसका युवा नेता गुरुराज घिमिरेसँग आशिष पौडेलले गर्नुभएको कुराकानी प्रस्तुत छ ।

केपी शर्मा ओलीको बहिर्गमनपछि गठन भएको कांग्रेस सरकारका स्वास्थ्य राज्यमन्त्री नियुक्तिपश्चात नागरिकले आखिर 'जुन जोगी आए पनि कानै चिरेको' भन्न थालेका छन्, किन भयो यस्तो खराब सुरुवात ?

राजनीति भनेको दलका नेताले आफ्नालागि गर्ने होइन, न कि आफ्नो स्वार्थ पूर्तिको माध्यम हो राजनीति । राजनीति भनेको जनअपेक्षा पूरा गर्ने, जनताको आकांक्षालाई सम्बोधन गर्ने एउटा माध्यम हो । राजनीति माध्यम मात्र हो, परिणाम होइन । साधन मात्र हो, साध्य होइन । राजनीतिको बाटो भएर हामीले खोजेको परिणाममा पुग्ने हो । 

जुन तामझामका साथ वाम गठबन्धनले झण्डै दुई तिहाइ मत प्राप्त गरेर सत्ताको नेतृत्वमा पुग्यो, यसरी प्रधानमन्त्री बन्नुभएका केपी ओलीजीले जनअपेक्षा पूरा गर्न सक्नुभएन । उहाँहरूको त नारा नै सुखी नेपाली, समृद्ध नेपाल थियो । तर, त्यसअनुरूपका कुनै गतिविधि अगाडि बढेनन् । 

अर्को कुरा, पोहोरको लकडाउनका बेला जनताले सामान्य राहतको पनि महसुस गर्न पाएनन् सरकारबाट जबकि संसारका  विकसित र धनी भनिएका मात्र होइन, गरिब र विपन्न राष्ट्रले पनि आफ्ना नागरिकलाई राहत दिए । तर, यहाँ भने सरकारले नागरिकलाई हेरेन र यति सामान्य दायित्वबाट समेत राज्य चुक्यो । अरू अनियमितता, भ्रष्टाचार, अराजकता, हिंसाका कुरा त गरिसाध्य छैन । 

सबैभन्दा प्रमुख कुरो भनेको तत्कालीन सरकार र सरकारको नेतृत्वले विधिमाथि प्रहार गर्‍यो, संविधानमाथि प्रहार गर्‍यो । लोकतन्त्र भनेको विधिको शासन हो । ओली सरकारले त्यसको हेक्का राखेन । न आफ्नो पार्टी मिलाएर जान सक्नुभयो ओलीजी, न त सरकारलाई प्रभावकारी बनाएर बढ्न सक्नुभयो । फल स्वरूप झण्डै दुई तिहाइको वामपन्थी सरकार अल्पमतमा परेर प्रतिपक्ष रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको छ । 

तर, कांग्रेस नेतृत्वमा बनेको वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र सरकारले हेक्का राख्नुपर्ने के छ भने हिजो दुई तिहाइको सरकार के कारणले गिर्‍यो ? जनताको अहिलेको आवश्यकता के हो ? जनताले हिजोको सरकारको के कुरा मनपराएनन् ? के गरेमा जनताको विश्वासयोग्य र भरोसायोग्य हुन सकिन्छ ? भन्नेमा विचार पुर्‍याउनुपर्छ । 

कोरोनाविरुद्धको खोप अहिले प्रमुख आवश्यकताको रूपमा देखिएको छ । कोरोनाकै कारण जनताको रोजगारी गुमेको छ, व्यापार, व्यवसाय चौपट छ, चुह्लो नै निभेको छ । 

धन्न, जनता यतिको सहनशील छन्, जसका कारण समाजमा दंगा फसाद फैलिएको छैन, लुटपाट भएको छैन । ढुक्कले खान-बस्न पुग्ने मान्छेलाई पनि यसबेलामा संकट परिसक्यो भनेपछि जनताको आवश्यकता पीर, मर्का यो सरकारले बुझ्नुपर्छ । 

प्राथमिक कुरा भनेको जनता बाँच्नुपर्‍यो । अर्को कुरा, विधिविहीनताबाट राज्य विधिको शासनमा फर्किएको छ । सरकार भर्खर बनेको छ, त्यसैले यसले राम्रो गरोस् भन्ने नै हामी सबैको आग्रह हो । 

केपी ओलीको सरकार कति आफ्नै हठ अनि कति कोर टिमका गतिविधि र पार्टीलाई आन्तरिक व्यवस्थापन गर्न नसकेको कारण ढल्यो भनिन्छ, तपाईं कांग्रेसको एउटा युवा नेता पनि भएका कारण वर्तमान प्रधानमन्त्रीलाई के सुझाव दिनुहुन्छ ? 

प्रधानमन्त्री भनेको मुलुकको नेता मात्र नभएर अभिभावक पनि हो । कार्यकारी नेतृत्वले नेतृत्व कुशलता अनि क्षमता, योग्यता प्रदर्शन गर्न सकेन भने देश र जनताले दुःख पाउँछन् । झण्डै दुई तिहाइ हाराहारीको सरकारले ५ वर्षे कार्यकाल पूरा गर्न नसक्नुमा केपी ओलीको नेतृत्व अक्षमता देखियो साथै म नै पार्टी हुँ, म नै राष्ट्र हुँ भन्ने अहंकार देखियो उहाँमा । 

तर, लोकतन्त्र भनेको अहंकारी शासक जन्माउने प्रणाली होइन । लोकतन्त्र भनेको विनम्रताको अर्को नाम हो । लोकतन्त्रले शिर झुकाउँछ । तर, ओलीजीले बुद्धिजीवीको मानमर्दन गर्दै हरेक दिन २-३ वटा अर्ति दिन थाल्नुभयो । उहाँ सबै कुराको विज्ञ बन्नुभयो ।  

जनताको करले बाँचेको शासकले बिहानदेखि बेलुकीसम्म सबैलाई अर्ती दिँदै हिँडेपछि के होला ? त्यस कारण वर्तमान प्रधानमन्त्रीले गठबन्धन संचालनदेखि पार्टीको आन्तरिक व्यवस्थापनसम्ममा नेतृत्व कुशलता देखाउन सक्नुपर्छ । साथै जनताको तहमा पनि महसुस हुनेगरी सरकार परिवर्तनको झल्को देखाउन सक्नुपर्छ । अन्यथा सरकार परिवर्तनले पनि केही नहुँदो रहेछ भनेर व्यवस्थाप्रति नै जनतामा वितृष्णा जाग्न सक्छ । 

हामीले ल्याएको यो लोकतन्त्र हिजो राजासहितको प्रजातन्त्रभन्दा राम्रो र यसले जनताको दुःख, गुनासो सम्बोधन गर्छ भनेर न ल्याएको हो । जनताको झिना मसिना ठानिएका समस्यादेखि राष्ट्रिय हितका ठूलाठूला मुद्दामा पनि सम्बोधन गर्न सक्छ भन्ने आशाका साथ यो परिवर्तन ल्याइएको हो । 

यो परिवर्तन नेता र प्रधानमन्त्री फेर्ने, सबैले बाँडिचुँडी खाने, अवसर लिने अनि जनताको जवाफदेहिता बिर्सने भनेर ल्याइएको होइन । यस्तो सुविधा अहिलेका शासकलाई छैन, जुन कुरा ओलीजीले हेक्का राख्न सक्नुभएन र उहाँको सरकार पतन भयो । यसकारण वर्तमान प्रधानमन्त्रीले यी सबै कुराको हेक्का राखेर चल्नुपर्छ । 

प्रधानमन्त्री र पार्टी सभापति देउवा नै भएका कारण आसन्न महाधिवेशन अनि गठबन्धनलाई व्यवस्थापन गर्ने चुनौती कतिको हुन सक्छ ?

२०४६ सालको परिवर्तनयता नेपाली कांग्रेसले घात-प्रतिघात व्यहोरेको इतिहास छ । पार्टीको आन्तरिक झगडाका कारण मध्यावधि व्यहोर्नुपर्‍यो, पार्टी विभाजित पनि भयो अनि प्रजातन्त्र पनि गयो आन्तरिक झगडाका कारण । 

यी विगतका इतिहास पनि नहेर्ने अनि विपक्षी दललाई पनि हेरेर शिक्षा नलिने हो भने परिणाम निराशाजनक नै आउँछ । 

पहिलो कुरा भनेको कांग्रेसको आन्तरिक व्यवस्थापनमा चनाखो हुनुपर्‍यो पार्टी नेतृत्व किनकि आफ्नै पार्टीभित्र द्वन्द्व चर्कियो भने गठबन्धनलाई असर गर्छ । 

सरकारलाई सुझाव दिनका लागि भनेर कार्यदल बनेको छ गठबन्धन दलहरूको । नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा एउटा कार्यदल बनेको भन्ने समाचारमा आएको छ । भर्खरै भएको राज्यमन्त्री नियुक्तिलाई लिएर उहाँको प्रतिक्रिया पनि आइसकेको छ । कार्यदललाई नसोधी मन्त्री बनाएकामा अहिले नै असन्तुष्टि जाहेर भइसकेको छ भने अब यसलाई त प्रधानमन्त्रीले कुन कारणले यस्तो कदम चाल्नुभयो भनेर प्रष्ट पार्नुहोला र गठबन्धनलाई आश्वस्त बनाउनुहोला । हाम्रो भनाइ त यस्तो अवस्था आउन नदिन पहिल्यै सचेत र सजग हुनुपर्छ भन्ने नै हो ।

बाहिर जतिसुकै तर्क र बहस गरे पनि अब यो सरकार ढलेर अर्को सरकार बन्दैन । त्यस कारण सरकार ढल्छ भन्ने चिन्ताबाट मुक्त छ यो सरकार । त्यसैले सरकार के होला भन्ने कुरामा उसले समय खर्चनुपर्दैन । 

हाल यो सरकारले हेर्ने भनेको ३ वटा कुरा मुख्य हो- पहिलो, पार्टीको आन्तरिक व्यवस्थापनलाई चुस्त राख्दै महाधिवेशन सुनिश्चित गर्ने, दोस्रो, गठबन्धनलाई एक ढिक्का राखेर असन्तुष्टि आउन नदिने । यो किन पनि जरुरी छ भने गठबन्धनमा असन्तुष्टि आउनेबित्तिकै त्यसले सरकार संचालन अनि मन्त्रीहरूको काम कारबाहीमा असर पर्छ । त्यसले जनताप्रति गर्ने काम कारबाहीमा असर पर्छ । 

तेस्रो, यो १७ महिना भनेको सरकार धान्ने मात्र नभएर उपलब्धि दिएर त्यही उपलब्धिको भरमा चुनावी एजेण्डासम्म तय गर्ने समय हो । अर्को भनेको केपी ओलीले तहसनहस पारेको विधि, नियुक्तिदेखि अर्थतन्त्रलाई पनि सही बाटोमा ल्याउनुपर्नेछ । 

युवा नेता भएका नाताले हामीले त्यो कुरा बारबार भनिरहेका छौँ । अस्ति प्रधानमन्त्रीलाई बधाई दिने क्रममा पनि भनिएको छ- कांग्रेसको छवि, प्रतिष्ठा उठाउने गरी काम गर्नुपर्छ भनेर । 

अहिले नेपाली राजनीतिको सिंगो शीर्ष पुस्ताले काम गर्न नसकेका कारण असफल भएको देखिएको छ भने अर्कोतिर एमालेका एकथरि युवाले केपी ओलीले गरेका हरेक कदमको अन्ध समर्थन गरेका कारण पनि नेतृत्व असफल भएको देखियो । तपाईंहरू पनि त्यसैगरी प्रस्तुत हुनुभयो भने सरकार र कांग्रेस कहाँ पुग्ला ?

केपी ओली वरपरका मान्छे र हामीबीच सैद्धान्तिक र चारित्रिक भिन्नताहरू छन् । उहाँहरूको पाठशाला, उहाँहरूले बुझेको राजनीति र हामीले बुझेको राजनीतिमा आकाश-जमिनको अन्तर छ । ठोक्ने, पिट्ने, मार्ने, शत्रु घोषित गर्ने अनि सफाया नगरी उहाँहरूको सोचको राज्य स्थापना हुँदैन भन्ने उहाँहरूको बुझाइ छ । उहाँहरूको माक्र्सवाद, जो भनेको मानवताविरोधी सिद्धान्त हो, त्यसबाट निर्देशित हुनुहुन्छ । माक्र्सवाद किन मानवताविरोधी भनेर यसै विषयमा माक्र्सवादको चिरफार भनेर एउटा किताब पनि लैख्दै छु म । त्यसमा आउला बिस्तृत कुरा । अहिलेलाई नेपालका कम्युनिस्टहरूको ‘स्कुलिङ’ नै गलत छ भन्ने कुरा बुझ्नुपर्छ ।

हाम्रो सिद्धान्त भने सहिष्णुवादी, मानवतावादी, समन्वयवादी अनि मानवीय संवेदनालाई बुझ्ने र सहअस्तित्वलाई स्वीकार गर्ने हो । 

हामीले प्रधानमन्त्रीलाई सरकार राम्रोसँग चलाउनुहोस् भन्ने हो । आवश्यक सुझाव मागेका खण्डमा दिने हो । राम्रो चलाउनका लागि सरकारी सम्पत्तिको दुरूपयोग गर्नुभएन, बालुवाटारमा पार्टीको बैठक गर्नुभएन, उक्त कुरा सुरु पनि भएको छ । किनकि पार्टीको सानो संख्याको पदाधिकारीको बैठकसमेत बालुवाटारमा नगरेर राम्रो कुराको सुरुवात भएको छ । अब बैठक भने बाहिर गर्ने तर खर्च भने सिंहदरबारको गर्ने भए त्यो बैठकको के काम फेरि ? 

खर्चको पारदर्शिता, भ्रष्टाचारमा शून्य सहनशीलता अनि विगतमा जे जस्ता कारणले नेपाली कांग्रेसको प्रतिष्ठामाथि आँच पुगेको छ, त्यसमा सुधार गर्नुपर्‍यो । यसका लागि प्रधानमन्त्रीले मन्त्रीहरूलाई पैसाको चलखेलमा नलाग्न भन्नुपर्‍यो । जनताका काम कतै पनि रोकिनुभएन ।

साथै कोरोनाका लागि आवश्यक खोप किनेर ल्याउनु पर्‍यो । आखिर पैसा त जनताको नै हो नि ! कोरोनाको तेस्रो लहर आउनु अगाडि नै खोप लगाइसक्नुपर्‍यो । यस्ता कुरामा ध्यान दिएका खण्डमा यो सरकार सुधारिएको सरकार हो भन्ने एक किसिमको छवि स्थापित हुन्छ, जसका लागि गर्ने भनेको प्रधानमन्त्रीले नै हो । प्रधानमन्त्री आफू बसेको ठाउँबाट सुधार गर्ने हो भने यो सम्भव छ ।  

पार्टी महाधिवेशनतर्फ मोडिऔँ, पार्टीको १४औँ महाधिवेशन निकट छ तर वडा तहअकै अधिवेशन सुरु गर्न सक्नुभएन, कसरी गर्नुहुन्छ महाधिवेशन ?

पार्टी महाधिवेशनको ५ वर्षको वैधानिक सीमा गत फागुनमा सकिएको हो । संवैधानिक सीमा आगामी २३ भदौमा सकिँंदै छ । तर, कार्यतालिकाअनुसारका निर्धारित कामहरू हामीले बेलैमा गर्न सकेनौँ । 

क्रियाशील सदस्यता छानबिन समितिले १२ साउनमा -हिजो) मात्र प्रतिवेदन बुझाएको छ । अब पदाधिकारीको बैठकले वडा अधिवेशन पुनः तोक्नेछ । 

हाल ८ लाखभन्दा धेरै क्रियाशील सदस्य रहेका छन् कांग्रेसका, जो भनेका मतदाता हुन् । अहिले ६ हजार ७४३ वडाका मतदाताको संख्या छुट्टाछुट्टै प्याक बनाउनुपर्छ । यसका लागि ५३ दिनको समय मागिएको छ । 

यसका लागि समय घटाउन भने पनि एक महिनाको समय लाग्छ । यसरी हेर्दा पनि १२ भदौमा मात्र अधिवेशन प्रक्रिया सुरु हुन्छ । समय सीमा भनेको २३ भदौसम्म छ । यसको विकल्पमा १२ भदौमा वडा, १५ गते क्षेत्र, १८ गते प्रदेश तथा २१ भदौमा केन्द्रीय महाधिवेशन गर्ने भनेर एकदमै चाँडै गर्न पनि सकिन्छ । 

निर्वाचन आयोगले यदि १६ भदौ अगाडि अधिवेशन सुरु गरेको खण्डमा साँढे ५ वर्ष अगाडि सुरु भएको भनेर मानेका खण्डमा कात्तिक या मंसिरसम्म लिएर जान सकिन्छ तर त्योभन्दा पर भने लैजान सकिँदैन ।

नेतृत्व हस्तान्तरणको सवाल जोडदार रूपमा उठिरहेकामा अधिवेशन पनि संघारमै रहेका बेला यहाँहरू जस्ता युवा पुस्ताको योजना के छ ? कसरी हस्तक्षेप गर्न सक्नुहुन्छ नेतृत्वमा ?
 
पहिलो कुरा त हामी पुराना पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणका लागि अनुरोध गर्छौं । भएन भने लोकतान्त्रिक संस्कार, प्रक्रियाअन्तर्गत रहेर निर्वाचनबाट नै अगाडि बढ्छौँ । 

‘पहिलो पुस्ताको बिदाई, दोस्रो पुस्ताको नेतृत्व तथा पदाधिकारीमा युवाहरूको चयन’ भनेर हामीले स्पष्ट भनेका छौँ । अन्य कार्यकारी भूमिकामा दोस्रो पुस्ताको नेतृत्वलाई छाड्ने र उपसभापतिदेखिका अन्य पदहरूमा भने युवाहरू हुनुपर्छ हामीले भनेका छौँ । यदि यसमा सहमति भएन भने सबै पदमा युवाहरूको उम्मेदवारी रहनेछ । 

यसमा विश्वास गर्ने आधार के छ ?

यसका लागि हामीले गृहकार्य गरिरहेका छौँ । यसमा सबै खेमाका युवाहरू भेला भएर छलफल भइराखेको छ । पहिलो भनेको युवा पुस्ताका पदाधिकारी राखेर सभापति दोस्रो पुस्ताको नेतालाई बनाउने । यदि दोस्रो पुस्ताले पनि हाम्रो कुरा नसुनेका खण्डमा सभापतिदेखि अन्य सबै पदमा हाम्रो युवाहरूको मात्र प्यानल नै उम्मेदवारी हुनेछ । 

कुनै गुटको नभईकन कांग्रेसको युवा पुस्ताको नेता भएकाले पार्टी र सरकारलाई के सुझाव दिनुहुन्छ ? 

पहिलो कुरा भनेको अघिल्लो सरकारले गरेको विधिविहीनता तथा बेथितिको हेक्का राख्नुपर्छ वर्तमान सरकारको नेतृत्वले । भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, सरकारी ढुकुटीको दुरूपयोगमा रोक तथा महामारीको रूपमा फैलिएको कोरोना नियन्त्रणका लागि खोपको व्यवस्था अनिवार्य र प्राथमिकतामा राखेर गर्नुपर्ने काम हुन् । 

पार्टीको सन्दर्भमा भने वैधानिकता नगुम्ने गरी यथासक्य चाँडो पार्टीको महाधिवेशन सम्पन्न गर्नु नै अहिलेको आवश्यकता हो । सँगसँगै पार्टीभित्रकै विभिन्न असन्तुष्ट पक्ष र नेताहरूलाई खुसी बनाएर साथ अनि सहयोग लिएर अघि बढ्नुपर्ने अवस्था सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको देखिन्छ ।